काठमाडौं । लेबननको राजधानी बेइरुतमा मंगलबार भएको विस्फोटनमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा १३५ पुगेको छ भने ४ हजार भन्दा बढी घाइते भएका छन् । विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो ।
राष्ट्रपति मीसेल आउनले असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।
अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो ।
विस्फोटनका बेला बेलायतको लण्डनस्थित बीबीसीका कार्यालयमा एउटा अन्तर्वार्ता भइरहेको भिडियो बीबीसीले सार्वजनिक गरेको छ । जसमा बीबीसी अरबिककी संवाददाता मार्यम टाउमी अनलाइन अन्तर्वार्ता लिइरहेकी थिइन् ।
मोरक्कन एजेन्सी फर सस्टेनेबल एनर्जीका फैसल अल–असीलको अन्तर्वार्ताको क्रममा भएको विस्फोटमा उनीहरूले जनाएको प्रतिक्रिया जनाए र टाउमीको अनुभव भिडियोमा देख्न सकिन्छ ।
सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो ।
बेइरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए ।
बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ ।