छोडेर जातीका कुरा, विभिन्न पार्टीका कुरा
मिलेर आऊ उठाउन हाम्रो लिम्पियाधुरा
के को पहाडीका कुरा अनि मधेशीका कुरा
बनेर एक नेपाली उठाऊँ लिम्पियाधुरा
हो चन्द्र सूर्य अंकित यो झण्डा विश्व टाकुरा
बनेर प्रेम बाँसुरी उठाऊँ लिम्पियाधुरा
नगर्नु धर्मका कुरा अनि अधर्मका कुरा
उठाउन आऊ न सबै हाम्रो लिम्पियाधुरा
बनेर रास्ट्र सेवक गरेर माझीका कुरा
बुझेर जनभावना उठाऊँ लिम्पियाधुरा
लिएर त्यागी भावना गरौं सहिदका कुरा
बनेर स्वाधीन अब उठाऊँ लिम्पियाधुरा
जपेर नाम देशको गरौं प्रदेशका कुरा
राखेर पूर्खा माथमा उठाऊँ लिम्पियाधुरा
छोडेर दम्भका कुरा गरौं बिलम्बका कुरा
जोडेर काँध काँधमा उठऊँ लिम्पियाधुरा
फुलाई छाती गर्वले गरौं न हर्षका कुरा
जलाई स्वार्थ भित्रको उठाऊँ लिम्पियाधुरा
छोडुँ घमण्डका कुरा अनि उदन्डका कुरा
कुदेर आऊ मित्र लौ उठाऊँ लिम्पियाधुरा
गरेर वृद्धका कुरा कुटिल छिद्रका कुरा
गरौं विचारका कुरा उठाऊँ लिम्पियाधुरा
पढेर प्रेम भावना गरेर प्रेमिल कुरा
पिएर प्रेम औषधि उठाऊँँ लिम्पियाधुरा
बुझेर स्वर्गका कुरा भु–स्वर्ग देशका कुरा
उठेर देशभक्त हो उठाऊँ लिम्पियाधुरा
राखेर पाउ शिरमा गरौं यो माटोको कुरा
बोकेर शुद्ध भावना उठाऊँ लिम्पियाधुरा
लगाई टिका माटोको उच्च निधारका कुरा
लेखाऊँ भाग्य देशको उठाऊँ लिम्पियाधुरा
गरौं सिमान्तका कुरा अनि सम्भ्रान्तका कुरा
समाई हात हातमा उठाऊँ लिम्पियाधुरा
गरेर हितका कुरा यो रास्ट्र जितका कुरा
बनाई सन्त भवना उठाऊँ लिम्पियाधुरा
उठेर सुन्दरी सुरा गरौं हिमालका ककुरा
जपेर मन्त्र देशको उठाऊँ लिम्पियाधुरा
(तिला लेकाली, बेलबारी, मोरङ)
(प्रगतिशील लेखक संघले शनिबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रियता र वर्तमान समकालीनता’ बारे आयोजित कवितागोष्ठीमा वाचन गरिएको कबिता)

