वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाले सुर्खेतमा ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८३ जेठ १७ गते आइतबार सदरमुकाम वीरेन्द्रनगरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीको अवधारणा प्रस्तुतिसँगै सुरु भएको सो कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता गम्भीर बनेको दाबी गर्नुभयो ।
वर्तमान सरकारले संविधान संशोधनको नाममा गणतन्त्रमाथि हमला गरेको, त्यसैगरी सरकारको नीतिले राष्ट्रियतामाथि पनि आँच पुगेको उहाँको भनाइ थियो ।
देशभक्त तथा लोकतन्त्रप्रेमी जनताको सचेतना र खबरदारीले मात्रै देश र लोकतन्त्र बच्ने स्पष्ट पार्दै उहाँले त्यसको पक्षमा आफ्नो पार्टीले निरन्तर खबरदारी गरिरहने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुर्खेतका उपाध्यक्ष मोहन बडुवाल, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्याय, नेकपा सुर्खेतका संयोजक जितबहादुर राना, नेकपा (बहुमत) का मायाराम न्यौपाने, नेपाली कङ्ग्रेस सुर्खेतका सचिव बालदेव कँडेल, बुद्धिजीवी तथा मानवअधिकारकर्मी पिताम्बर ढकाल र बुद्धिजीवी तथा साहित्यकार डा दीपक गौतमले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला समितिका सचिव विष्णुप्रसाद शर्माले, स्वागत राजमो कर्णालीका अध्यक्ष पूर्ण शाहीले र अध्यक्षता राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले गर्नुभएको थियो ।






