काठमाडौँ । सन्तानब्बेऔँ गोकुल जयन्तीको अवसरमा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंह सम्मानित हुनुभएको छ ।
गण्डकी साहित्य सङ्गमको आयोजनामा २०८३ जेठ ९ गते शनिबार पोखरामा आयोजित कार्यक्रममाझ सिंहलाई ‘गोकुल बाङ्मय पुरस्कार–२०८२” द्वारा पुरष्कृत गरिएको हो ।
सम्मान ग्रहणपछि बोल्दै सिंहले आफूलाई सम्मान गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै गोकुल जोशी नेपालको प्रगतिशील साहित्यका महान् विभूति भएको बताउनुभयो । उहाँले जोशीका साहित्यिक कृतिहरूमा जीवनदर्शन र क्रान्तिको उद्घोष पाइने उल्लेख गर्दै साहित्य सिर्जनामार्फत समाज र जीवन परिवर्तनका लागि जोशीले महत्वपूर्ण योगदान दिएको धारणा राख्नुभयो। साथै, आफ्नो पनि केही पटक गोकुल जोशीसँग भेट भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व मोहनविक्रम सिंहको साहित्यिक योगदानबारे प्रतिभा छनोट समितिका सदस्य प्रा.डा. यदुनन्दन उपाध्यायले प्रकाश पार्नुभएको थियो। त्यसैगरी साहित्यकार तथा बुद्धिजीवीहरू डा. कृष्णराज अधिकारी, रामराज रेग्मी, रघुनाथ अधिकारी, चन्द्रप्रकाश बानियाँ, शङ्कर बराल, झलकपाणि तिवारी, डा. बुद्धिबहादुर थापा, नुमराज बराल लगायतले गोकुल जोशीको जीवनी, व्यक्तित्व तथा कृतित्वबारे चर्चा गर्नुभएको थियो।
सोही अवसरमा गण्डकी साहित्य सङ्गमको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’ पूर्णाङ्क–२२ को लोकार्पण समेत गरिएको थियो। प्रकाशित पत्रिकामाथि समीक्षक राजेन्द्र पौडेलले टिप्पणी गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, साहित्यकार तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थाका उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अध्यक्षता भीम रानाभाटले गर्नुभएको थियो भने सञ्चालन सचिव नारायण मरासिनीले गर्नुभएको थियो।
