दीप गोले तामाङ ##
आज नेपालको राजनीति एउटा यस्तो गम्भीर मोडमा उभिएको छ, जुन भदौ २३–२४ गतेको विध्वंसकारी जेनजी आन्दोलनको उपज हो ।
नेपालका ठुला पार्टीको भ्रष्टाचार, बेरोजगार, कुशासन र बेथितीले जनतामा निराशा पैदा गराइदिने काम गरेको थियो । नेपालको राजनीति अहिले आन्तरिक शक्तिसङ्घर्षको मैदान मात्र बनेको छैन, अन्तर्राष्ट्रिय शक्तिको चासो र प्रतिस्पर्धाको केन्द्र बनाई रवि लामिछाने र बालेन शाहको ब्रान्ड बनाएर रास्वपा एक नम्बर शक्तिको रूपमा उदाएको छ । फागुन २१ गतेको निर्वाचनले रास्वपालाई बहुमत दिएको छ । यो निर्वाचनले नेपालको राजनीतिक दिशालाई मात्र होइन, अन्तर्राष्ट्रिय शक्तिको प्रभाव र स्वार्थलाई पनि उजागर गर्ने काम गरेको छ । त्यसैले यो चुनाव सामान्य लोकतान्त्रिक प्रक्रिया अपनाए पनि ठुला राजनीतिक र कूटनीतिक भिडन्तको सङ्केत देखा परेको छ । अमेरिकाको बधाई तथा शुभकामना नेपालको समृद्धि र शैन्य सुरक्षाको विषय र चीनको वक्तव्यबाट यी सङ्केत देखिएिको छ ।
भूराजनीतिक दृष्टिकोणले नेपाल एउटा सार्वभौमसत्तासम्पन्न देश भए पनि दुई महाशक्ति देश भारत र चीनको बिचमा अवस्थित भूपरिवेष्ठित देश हो । यही कारणले नेपाल सधैँ अन्तर्राष्ट्रिय शक्तिसन्तुलनको संवेदनशील स्थानमा रहदै आएको छ । पछिल्लो समयमा नेपालमा विश्व महाशक्ति अमेरिकाले खुलेआम प्रभुत्व जमाउन बार्बरा फाउन्डेसनको सरकारबाट देश कब्जा गर्न सुरु गरिसकेको अवस्था छ । यही त्रिकोणीय शक्तिकेन्द्रको चासोमा नेपालको आन्तरिक राजनीति कमजोर बन्दै अन्तर्राष्ट्रिय रणनीतिक खेलसँग जोडिएको छ ।
नेपाल कङ्ग्रेस, एमाले तत्कालीन माओवादी र मधेसवादी पार्टीलाई प्रयोग गरेर आफ्नो केही स्वार्थ पूरा गरिसकेको छ । आज नेपालमा आइएनजिओ र एनजिओले विभिन्न परियोजना र कार्यक्रम लिएर काम गर्दै आएका छन्, जसले यो प्रतिस्पर्धालाई अझ स्पष्ट पारेको छ । उदाहरणका लागि अमेरिकाले सरकारमा बस्ने पार्टीबाट संसदबाट एमसिसी पास गरिसकेको छ । अब बाँकी रहेको एसपिपी र चीनको बिआरआईजस्ता योजनालाई लिएर देशभित्र तीव्र बहस भएको थियो । यी परियोजना केवल आर्थिक वा विकासका कार्यक्रम मात्र हुन् कि ठुलो रणनीतिक प्रतिस्पर्धाको हिस्सा हुन भन्ने प्रश्न चर्को रूपमा उठिरहेको छ ।
फागुन २१ गतेको चुनावले नेपालमा कुन राजनीतिक शक्ति सुदृढ हुन्छ भन्ने मात्र तय गर्दैन, यो चुनाव विदेशी शक्तिले आफ्नो स्वार्थलाई लिएर २०८४ को चुनाव २०८२ मा सम्पन्न गरेको छ । त्यसले नेपालको विदेशनीतिको दिशा पनि निर्धारण गर्न सक्छ । यदि कुनै दल वा शक्ति विशेष रूपले अन्तर्राष्ट्रिय शक्तिसँग नजिक बनाउँछ, यसले नेपालभित्र ठुलो बहस र विवाद सिर्जना गरिसकेको छ ।
नेपालको इतिहासमा बाह्य शक्तिको प्रभाव नयाँ कुरा भने होइन । सुगौली सन्धिपछि नेपालले आफ्नो सार्वभौमिकता जोगाउन शक्तिसन्तुलनको नीति अपनाए पनि यो सफल हुन सकिरहेको छैन । आज कूटनीतिक खेल झन् जटिल भइसकेको छ ।
आज नेपाल केवल भौगोलिक रूपमा मात्र होइन, रणनीतिक रूपमा पनि महत्त्वपूर्ण बनेको छ । दक्षिण एसिया, तिब्बत क्षेत्र र हिन्दप्रसान्त रणनीतिक क्षेत्रमा यसको स्थान निकै संवेदनशील बन्दै गएको छ । नेपालीले खाडी मुलुकमा भइरहेको अमेरिका– इजरायल र इरान युद्धले विश्वभरिका मानव समुदायमा आउने जोखिमबाट हामीले शिक्षा लिनुपर्नेछ । साउदी अरब, कतार, युएई, ओमन, बहराइन आदि देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमा जसरी इरानले आफ्नो प्रतिकार गरेर विदेशी सैनिक आफ्नो देशमा राख्नु हुँदैन भन्ने सन्देश दिएको छ ।
नेपालका राजनीतिक दलहरू पनि प्राय: अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा मूल्याङ्कन गरिन्छन् । कोही भारतनिकट मानिन्छन् भने कोही चीननिकट, कोही पश्चिमी शक्तिनिकट त कोही युरोपेली युनियननिकट राजनीतिक बहस चलिरहेको हुन्छ । यसले कहिलेकाहीँ वास्तविक जनताका मुद्दा बेरोजगारी, शिक्षा, स्वास्थ्य, आर्थिक विकासलाई पछाडि धकेलिदिएको छ । चुनावको बहस विकासभन्दा पनि भूराजनीति र विदेशी प्रभावतर्फ मोडिएर खतरा उत्पन्न भएको छ ।
रास्वपाका नेताकार्यकर्ता सबै “बार्बरा फाउन्डेसन”, “समता फाउन्डेसन”, “हामी नेपाल” आदि सदस्य रहेको छ । नेपालमा जेनजी आन्दोलनपछि एक प्रकारले घण्टीको लहरले आँधी सिर्जना गरिदिएको छ । संसद् विघटनपछि देशमा गणतन्त्र, धर्मनिरपेक्ष, राष्ट्रियतामाथि गम्भीर प्रश्न खडा भएको थियो ।
लोकतन्त्रको आधार जनता नै हुन । चुनावको वास्तविक अर्थ भनेको जनताको अधिकार र भविष्य निर्धारण गर्नु हो । यदि चुनाव विदेशी शक्तिको प्रतिस्पर्धाको छायामा पर्यो भने त्यो लोकतन्त्र कमजोर बन्न सक्छ । त्यो स्थिति बनेको छ । त्यसैले प्रश्न उठेको छ, फागुन २१ गतेको चुनावबाट वास्तवमै जनताका भविष्यसम्बन्धी ठोस निर्णय भएको छ कि अन्तर्राष्ट्रिय महाशक्तिबिचको मुठभेडको खेल सुरु भएको छ ? भोलिका दिन यसका उत्तर दिनेछन् ।
सत्तारूढ राजनीतिक शक्तिले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति बनाउँलान कि भन्ने झिनो आशा छ । अन्तर्राष्ट्रिय सहकार्य देशको विकासका लागि अवसर बन्न सक्छ तर यदि विदेशी शक्तिको प्रभावमा परी राजनीति चल्यो भने देश आन्तरिक रूपमा विभाजन र अस्थिरतामा फस्ने निश्चित छ । अब बन्ने सरकारले सन्तुलित विदेश नीति अपनाउनुपर्ने आवश्यकता छ । यही नै हाम्रो नेपाल र नेपालीको बुद्धिमता हुन्छ ।
फागुन २१ गतेको चुनाव एउटा यस्तो राजनीतिक सङ्कटमा भएको छ । यसलाई चुनावी प्रक्रिया पूरा गराउनेभन्दा पनि अब यसले जनतामा निराशा, कुण्ठा, वितृष्णा हटाउन देशलाई सही बाटोमा निकास दिन सक्षम हुनुपर्दछ । नेपालको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय सम्बन्धको सुधार गर्ने एउटा परीक्षा हो । चुनावपछिको सरकारले देखाउनुपर्छ, नेपाल आफ्नो राजनीतिक निर्णय लिएर देश र जनताको हितमा सतिसाल बनेर उभिन्छ कि बाह्य शक्तिको प्रतिस्पर्धा रणमैदान बनाउँछ ? यो विषयमा राष्ट्रिय जनमोर्चाले प्रष्ट रूपमा भनिसकेको छ, देश युक्रेन नबनोस् । भूराजनीतिक खेलमैदान बन्दै गएको बेलामा नेपालबाट पन्ध्रौँ दलाई लामाको घोषणा गरियो भने नेपाल सिधै चीनको निसाना पर्नेछ ।
अन्तत: यो सरकारले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गर्दै सङ्घीयता खारेज गरी देशलाई सही दिशा तय गर्नेछ । जनताले जुन तरिकाले आँखा चिम्लेर विश्वासमत रास्वपालाई दिएका छन्, यो परीक्षाको घडी हो । जनता सचेत र सजग बन्न सके भने कुनै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले नेपालको स्वाधीनतामाथि कहिल्यै खेल खेल्ने छैन ।