जलजला पहाड लुम्बिनी प्रदेश, रोल्पा जिल्लाको थबाङमा अवस्थित, प्रकृतिको अनुपम उपहार हो । एउटा रमणीय र सुन्दर पहाड हो । हो, यसै पहाडको नामबाट शोषित, उत्पीडित र अन्यायमा परेको नागरिकको न्यायको लागि र राज्यव्यवस्था परिवर्तन गर्नका लागि आफ्नो जीवन दाउमा राखी वामपन्थी आन्दोलनमा समर्पित काठमाडौँपछि चितवन निवासी विद्या ढकालको पार्टीमा रहँदाको उपनाम “कामरेड जलजला” रहन गएको रहेछ । मोहनविक्रम सिंह (अजित) ले आफ्नो साथी वा सहकर्मी जलजलाप्रति समपर्ण गर्दै करिब २३ वर्षको समयावधि लगाई यो उपन्यास (ग्रन्थ) तयार गरी प्रकाशित गर्नु भएको रहेछ, जसको बजार मूल्य रु. ३,०००।– पर्दछ ।
यो उपन्यास कभर पेजबाहेक १,३२० पन्नाको छ । २४ सेन्टीमिटर लामो, १६.५ सेन्टीमिटर चौडाइ र ९.५ सेन्टीमिटर मोटाइ रहेको छ । यस उपन्यासमा दुई खण्ड, आठ भाग, सत्तरी परिच्छेद, दुई सय एकहत्तर अध्याय, प्राक्थन क र ख र उपसंहार क देखि घ सम्म छ ।
मार्क्सवादी सिद्धान्त र दृष्टिकोणमा रही प्रेममा आधारित उपन्यास पाठकका लागि, शोध र खोजकर्ताका लागि निकै उपयोगी रहेको पाएँ । गहन राजनितीक विश्लेषणका साथ पृथ्वीको उत्पत्ति, आदिमकाल, मानव सभ्यता, मानव जीवनचक्र, विश्व इतिहास, राज्य संरचना, मानव द्वन्द्व, अध्यात्मिक र भौतिकवाद, समाजवाद, गान्धीवाद र मार्क्सवाद, महान् दार्शनिक, वैज्ञानिक, आविष्कारकको र जलजलाको काल्पनिक विश्वदर्शन, ब्रहमाण्ड र अन्तरिक्ष यात्रासमेतको जानकारी दिई तयार गरिएको यो उपन्यास निरपेक्ष रूपमा बुझ्दै जाँदा निकै महŒवपूर्ण ग्रन्थ रहेछ । उपन्यास बहुआयामिक विधाको सङ्गालोजस्तै अनुभुति हुनेछ ।
मूलतः राजनीतिसँग जोडिई जलजला र अजित साथै कुमाउँकी सुनन्दा र दिल्लीका डा. जगदीशसँगको प्रेमकहानी नै हो यो उपन्यास, कल्पना र वास्तविकमा आधारित उपन्यास । अन्त्यमा जलजलाको दुःखान्त निधन, सुनन्दा र डा. जगदीशको आपसी प्रेममा असफल । जलजलाको राजनीतिक पाइला पछ्याई उनको इच्छा पूरा गर्न अजितलाई खोज्न सुनन्दा दिल्लीदेखि प्युठानसम्म आइन् र खगुलालको सहयोग लिई थबाङको जलजला पहाड पुगेर अजितसँग भेट भई वाराणसीमा गई विवाहसूत्रमा बाधिन पुगेको कुरा पाइन्छ ।
यो उपन्यासमा ब्रहमाण्ड, पृथ्वी, प्रागैतिहासिक, ऐतिहासिक, शास्त्र, सङ्ग्रह, नियात्रा, मिलन, बिछोड, प्रेमकहानी, र नेपालको वामपन्थी आन्दोलनको ऐतिहासकि दस्तावेजसमेत समेटिएको एउटा महŒवपूर्ण ग्रन्थ रहेछ । लेखकले आफ्नो जीवनको उत्तरार्धमा प्रकाशित गर्नुभएको उपन्यासमा केही कल्पना तर बढी यथार्थमा आधारित तथ्यसहितको खोजमूलक विवरण राखी यति ठुलो उपन्यास लेख्नुभएको रहेछ । आफैमा यो महान् कार्य हो । ध्यर्य, गहिरो अध्ययन, सिर्जनशील, दह्रो आत्मबल, प्रबल इच्छाशक्ति भएको व्यक्तिमा मात्र यस्ता किसिमका क्षमता रहेको पाइन्छ ।
भारतको कुमाउ–गढवालमा रहेको नन्दादेवी हिमालको काखमा अवस्थित कौसानीअन्तर्गत शौका परिवारमा जन्मेकी नन्दादेवीको नाम ठुली भएपछि सुनन्दा रहन गएछ । यस उपन्यासमा सुनन्दा नै सम्बोधन गरिएको देखिन्छ । सुनन्दाको बाबुले सानै उमेरमा छिमकीको छोरासँग विवाहको लागि मगनी गरेका तर सुनन्दा ठुली भएपछि यो मगनीलाई इन्कार गरिन् र अध्ययनमा चासो राख्दै आफ्ना ठुलाबाको साथमा दार्जलिङतर्फ लागिन । ठुलाबा पर्वतारोही रहेकाले अध्ययन गर्दै पर्वतारोही कार्य पनि सिक्दै गइन् तर गान्धीवादमा चासो राख्ने सुनन्दा अगाडिको पढाइ पूरा गर्न लखनउ आई पढ्न थालिन् ।
सोही क्रममा मार्क्सवादी विचार राख्ने नेपालको थबाङ निवासी विद्या र दिल्लीमा रहने मार्क्सवादी विचारधाराका डा. जगदीशसँग भेट भई विस्तारै मार्क्सवादमा चासो राख्न थालेक थिइन् । सुनन्दाले डा. जगदीशलाई मन पराउँदै गएकाले पनि गान्धीवादप्रति चासो कम राख्न थालिन् भने विद्याजस्तो साथीको सङ्गतले जलजलाको सङ्घर्ष, साहसबारे धेरै कुरा बुझ्न, पढ्न र सुन्न पाउँदा पनि उनको मार्क्सवादप्रति आकर्षण बढेको रहेछ । विद्याले जलजलाको विषमा धेरै कुराको जानकारी गराएकाले जलजलालाई भेट गर्न भनी विद्यालाई साथमा लिई आफ्नो शोधपत्र पनि तयार गर्न सकिने र जलजलासँग पनि भेट हुने हेतुले नेपालको भैरहवातर्फ लागिन् । अचानक भैरहवा जेलमा परिन् । जेलमै रहेका मार्क्सवादी नेतासँग विस्तारै सम्बन्ध बढ्दै गयो । नेताहरूको सम्बन्धले पुस्तक अध्ययन गर्न पाइन् ।
जेलबाट छुटेपछि धेरै हन्डर खाँदै जलजलालाई खोज्न काठ्माडौँ गइन् । खोज्ने क्रममा रश्मिराज नेपाली, चित्रबहादुर केसी, बद्रे आलम आदि नेतासँग भेट गरिन् । काठ्माडौँ, चितवन र लुम्बिनीका धेरै ठाउँ घुमिन् तर जलजलालाई भेट गर्ने मौका मिलेन किनकि त्यस समयमा अधिकांश वामपन्थी नेतालाई तत्कालको सरकारले पक्राउ पुर्जी काटेकाले भूमिगत रहनुभएकाले पनि भेट गर्न कठिन भएको थियो ।
सुनन्दालाई नेपालको विषयमा धेरै जानकारी मिल्दै रह्यो । जलजला भारतको वाराणसीमा रहेको खबरले सुनन्दा र विद्या त्यहीँ गई जलजलालाई भेट गरे । सुनन्दाले सामीप्य बढाइन, मित्रता बढ्यो, नजिक भइन् र पछि दिल्लीमा गई दुवै जना एउटै घरमा बसी जलजलाले पार्टीले खटाएको जिम्मेवारी पूरा गर्ने र अङ्ग्रेजी विषय पढ्ने भन्ने कुरा उपन्यासमा भेटिन्छ । सुनन्दाले आफ्नो थेसिस पूरा गर्ने भन्ने मनसायले केही दिन सँगै बसे ।
सुनन्दा बाहिर गएको समयमा जलजला बसको यात्रामा दुर्घटनामा परी २८ वर्षको उमेरमा अकल्पनीय र अप्रत्यासित रूपमा देहान्त भयो । अजितले थाहा पाई दिल्ली पुगे । जलजलाको दाहसंस्कार गरे । अत्यन्तै दुःखी भए, मुटुको टुक्रा चुँडिएजस्तै गरी भावविह्वल भए । जलजला र अजितको प्रेमसम्बन्ध, मिलन र विछोड विषयमा अवेलार्ड र हिलोसीको सम्बन्धमा दाजिए ।
सुनन्दा पनि धेरै दुःखित भइन् । जलजलासँगको बिछोडले धैरै दिनसम्म बिरामीजस्तै भइन् । आफ्ना सपना पूरै बोझेलमा परेको महसुस गरिन् । अजितलाई परेको चोट पनि नजिकबाट नियालिन् तर अजित नाम सुने पनि अजित को हो भन्ने कुरा उनलाई थाहा थिएन । अजित र जलजलाको प्रेमसम्वन्धी विषय सुनन्दालाई पूरै जानकारी भएको थियो । जलजला र अजितका प्रेम र राजनीतिसम्बन्धी चिठीपत्र पढ्ने मौका पाएकी थिइन् । अर्को कुरा जलजला र सुनन्दाबिचको मित्रताले अजितबारे कुनै कुरा लुकेको थिएन सायद ।
जलजलाको देहान्तबाट विक्षिप्त भएकी सुनन्दा आफ्नो दुःख भुलाउन रसियामा कार्यरत आफ्ना प्रेमी डा. अजितसँग विवाह प्रस्ताव राखी अजितसँगै फ्रान्स र रसियातर्फ लाग्दछिन । फ्रान्सको पेरिस सहर, राजतन्त्रका विरुद्ध भएको पेरिस क्रान्ति, फ्रान्सको लुभ्र सङ्ग्रहालय आदिको बारेमा बुझ्ने, अवलोकन गर्ने गरिन् र त्यसपछि रुसको गोर्कीपार्क, लेनिनग्राद, स्टालिनग्राद, लेनिन म्युजियम आदि घुमिन् ।
यसबिचमा सुनन्दाले डा. जगदीश मार्क्सवादबाट पलायन भएको बुझी विवाह प्रस्ताव इन्कार गरी लखनऊ फर्किइन् र जलजलाको र अजितका पत्रको गहिरो अध्ययन गरिन् । अध्ययन गर्ने सिलसिलामा क्रमशः अजितप्रति सहानुभूति बढ्दै गयो । जीवन र जगत्को विषयमा बुझ्न, अध्ययन गर्न र अजितलाई साथ दिन र साथै जलजलाको आकाङ्क्षा पूरा गर्न अजितलाई खोज्न थालिन् ।
यसै क्रममा नेपालआई खगुलाल गुरुङसँग भेट गरी प्युठान हुँदै थबाङसँगै जलजला धुरीमा पुगी अजितसँग भेट गरिन् । पार्टीसदस्यता पाउनका लागि जलजलालाई दिएको निवेदनको आधारमा अजितको हातबाट भामा उपनाम रहेको पार्टी सदस्यता प्राप्त गरिन् । जलजला पहाडको काखमा रहेको भामा गुफाको नामबाट सुनन्दाको उपनाम राखिएको रहेछ । दुबै जना एकआपसमा नजिकिँदै गए । अत्यमा भामा र अजितको सिद्धान्त र विचार मिल्ने भएकाले भारतको वाराणसीमा गई क्रुजमा बसी दुबै जना विवाह बन्धनमा बांधिएको प्रसङ्ग यस उपन्यासमा अध्ययन गर्न पाइन्छ ।
महिला मुक्ति आन्दोलनमा सरिक भएकी जलजलाले राणाकालका जुद्ध शम्सेरको पाला १९९८ साउन २२ गतेका दिन र भोलिपल्ट गरी राणा सरकारको विरोधमा नारी योद्धा योगमायासहित ६८ जनाले जलसमाधि बसी देहत्याग गरेको कुरा र १९९४ कात्तिक २४ गतेका दिन राणाको अन्याय विरुद्ध २४ बुँदे माग राखी अग्निसमाधि गर्न खोजेकी योगमायालाई रोकेपछि आफ्नो आन्दोलन जारी रहेकाले अन्य विकल्प नभई जलसमाधिमा गएको कुरासमेत जलजलाले पढेकी थिइन् । यसैको प्रेरणास्वरूप जलजला आफ्नो घर छोडी महिला मुक्तिका लागि मार्क्सवादी आन्दोलनमा लागेकी रहिछन् ।
राणाशासनको त्यो कठिन अवस्थामा पनि महिला सशक्तीकरणका लागि त्यो आन्दोलनको नेतृत्व गरेकी सन्यासिनी योगमायाप्रति उपन्यासका लेखकले योगमायाको भूमिकाको उच्च सम्मान गर्नुभएको छ साथै वास्तविक पात्र जलजलालाई (बिद्या ढकाल) लिएर विश्व ब्रहमाण्डको विषयमा उजागर गर्नुभएको यो ग्रन्थ पठनीय र सङ्ग्रहणीय छ ।
एउटा कौतूहल यो उपन्यासले के देखाएको छ भने आपसमा राजनीति नमिल्नुको कारणले सुनन्दा र डा. जगदीशको प्रेमसम्बन्ध छुटेको देखिएको छ । यता राजनीति मिलेकै कारणले सुनन्दाले जगदीशलाई छोडी अजितलाई अँगालेको देखिन्छ । उपन्यास उपन्यास नै हो कति जीवनसँग सम्बन्धित छ, कति काल्पनिक छ ?
(बुटवल–४ लक्ष्मीनगर, रुपन्देही)