काभ्रेपलाञ्चोक । अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।
रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो ।
‘निर्माणको काम भइरहेकोले बिपी राजमार्गको धेरै खण्ड रोशी खोलाको किनारमा अवस्थित छ । रोशी खोलाको बहाव बढेर राजमार्गमा छिरेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ’, एसपी शाहले भने ।
उनका अनुसार सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने कार्य भइरहेकोले यात्रुहरुलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।
काभ्रेखण्डको सवारीसाधनहरुलाई भकुण्डे र कटुन्जेमा होल्ड गरिएको छ । त्यस्तै राजमार्ग अवरुद्ध भएपछि राजमार्गको सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा सवारी साधन होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।