काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट इरानमा दुई सय भन्दा बढीको मृत्यु भएको छ भने एउटै विद्यालयमा मिसाइल आक्रमणबाट कम्तिमा एक सय आठ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा एक सय आठ जनाको इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा दुई सय एक जनाको मृत्यु तथा सात सय ४७ जना घाइते भएका छन् ।
इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन । उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आइआरजिसी) को क्याम्पबाट करिब छ सय मिटर नजिकै पर्दछ । आइआरजिसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो । होर्मोजगान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमाथि तीनओटा मिसाइल खसेका थिए ।
जेनेभामा रहेका रेडक्रस र रेड क्रिसेन्टका अधिकारीले घटनापछि विद्यालयतर्फ उद्धार टोली परिचालन गरिएको बताएका छन् ।
बीबीसीले विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिप प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसको भिड लागेको र चिच्याइरहेको सुनिन्छ तर मृतकको सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकेको बिबिसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्राय: इरानमा भिसा नदिइने भएकाले त्यहाँ तथ्य सङ्कलन गर्न कठिन हुने गर्दछ ।