युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क २४, २०८२ फागुन १३ गते बुधबारको सम्पादकीय
निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्मका लागि खुल्ला चुनाव प्रचारप्रसारको अवधि तोकेको छ । सामान्यत: चुनाव प्रचारप्रसारका लागि यो समय कम हो तर अहिले विशेष परिस्थितिमा चुनाव हुन थालेकाले यसलाई यही रूपमा बुझिनुपर्दछ । चुनाव प्रचारप्रचार भन्नाले राजनीतिक दल वा उम्मेदवारले आफ्ना एजेन्डा आमजनतासमक्ष पुर्याउनु भन्ने बुझिन्छ । जनतामाझ एजेन्डा पुग्न सकेन भने जनताले इच्छाएका दल वा उम्मेदवारलाई भोट हाल्ने निर्णय गर्न सक्ने छैनन् । त्यसैले लोकतन्त्रमा चुनाव प्रचारप्रसारलाई महङ्खव दिइएको हुन्छ । हाम्रोजस्तो पहाडी भूगोल भएको देशमा गाउँगाउँका जनतामाझ प्रचार पुर्याउनु चुनौतीको काम हो । सहरमा पनि घनाबस्तीका जनतासम्म पुग्नु कम चुनौतीपूर्ण छैन । त्यसैले चुनाव प्रचारका लागि सामान्यत: महिनादिन समय आवश्यक ठानिन्छ । जे होस्, अहिलेको राजनीतिक दल र उम्मेदवारसामु तोकिएकै समयमा प्रचार सम्पन्न गर्नुपर्ने बाध्यता छ ।
अहिलेको निर्वाचनमा पनि निर्वाचन आयोगले डिजिटल प्रचारमा जोड दिनू भनेको छ । त्यससँगै आयोगले पर्यावरणमैत्री प्रचारप्रचारमा ध्यान दिन भनेको छ । डिजिटल प्रचार अहिलेको महत्त्वपूर्ण माध्यम हो । त्यसका बाबजुद यो मात्रै निर्णायक प्रचार होइन । आफ्ना सन्देश छिटोछरितो जनतामाझ पुर्याउन डिजिटल प्रचारले महङ्खवपूर्ण भूमिका खेल्छ । त्यसका साथै डिजिटल प्रचार आमजनतासम्म पुग्न उनीहरू नै डिजिटलाइज्ड भएको हुनुपर्छ तर देशको अवस्था अझै त्यो अवस्थामा पुगिसकेको छैन । इन्टरनेटको पहुँच जताततै छैन । विद्युत्मा अवरोध यथावत् छ । आमजनतासित या त मोबाइल छैन; मोबाइल नै भए पनि इन्टरनेट चल्ने खालको मोबाइल छैन, न त उनीहरूले राम्रोसँग मोबाइल चलाउन जानेका छन् । यस्तो अवस्थामा डिजिटल प्रचारमाथि मात्रै भर पर्ने हो भने चुनाव प्रचार सहर वा युवा तप्कामा मात्रै पुग्नेछ । त्यसैले डिजिटल प्रचारसँगै आमजनताको घरदैलोमा पुगेर चुनाव प्रचार गर्नुको विशिष्ट महङ्खव रहेको देखिन्छ ।
चुनाव प्रचारप्रसार सभ्य, शिष्ट र मर्यादित प्रकारले हुनु आवश्यक छ । लोकतन्त्रमा सबैलाई आफ्ना विचार राख्ने अधिकार हुन्छ । यसको अर्थ पनि दोहोरो हुन्छ । चुनाव प्रचारमा राजनीतिक दल र उम्मेदवारले आफ्ना कुरा राख्ने मात्रै होइन, जनताको कुरा पनि सुन्ने हो । उनीहरूबाट सुझाव सङ्कलन गर्ने पनि हो । त्यसैले चुनाव प्रचार आफैमा दोहोरो सञ्चार पनि हो । चुनाव प्रचारमा संलग्न हुने दल वा उम्मेदवार यस सन्दर्भमा सभ्य, शिष्ट र मर्यादित हुनुपर्दछ । राजनीतिक दल वा उम्मेदवारले आपसमै अस्वस्थ व्यवहार गर्नुहुँदैन । अर्कोतिर, चुनाव प्रचारको दौरानमा आमजनतालाई कष्ट नहोस् भन्नेतर्फ पनि उनीहरूको त्यत्तिकै ध्यान जानुपर्दछ । पछिल्लो समयमा देशका केही स्थानमा चुनाव प्रचारको दौरानमा अस्वस्थता देखा परेका छन् । राजनीतिक दलको झन्डा नै जलाउने, अर्को पार्टी वा उम्मेदवारलाई अशिष्ट लाञ्जना लगाउने, गालीगलौज गर्ने वा अभद्र व्यवहार गर्नेजस्ता घटना पनि देखिएका छन् । यस खालका घटना आफूले नघटाउन र अरूबाट नघटोस् भन्नेतर्फ सबै पक्ष सचेत हुनुपर्दछ ।
जनतालाई सचेत गराउने अभिभारा राजनीतिक दलमाथि हुन्छ । यदि राजनीतिक दल नहुँदा हुन् त मानव समाज अझै पनि दास वा सामन्ती युगमै हुन्थ्यो । खालि राजनीतिक दलले जनतामाझ सही विचार सम्प्रेषण गरेकाले नै जनताको भूमिका अग्रगामी हुन सकेको हो । जनता नै इतिहासका निर्माता हुन् भन्ने भाष्य राजनीतिक दलको भूमिकाका कारण नै स्थापित हुन पुगेको हो । राजनीतिक दलले आफ्नो त्यस्तो चरित्र र भूमिका मनन् गर्नुपर्दछ । अहिले चुनाव प्रचारप्रसारको दलमा सर्वप्रथम दलहरू नै संयमित हुनुपर्दछ । उनीहरूले शिष्ट, सभ्य र मर्यादित प्रकारले आफ्ना एजेन्डा जनतासमक्ष राख्नुपर्दछ र त्यसै आधारमा जनमत आउने विश्वास लिनुपर्दछ ।