काठमाडौँ । सरकारले फागुन २१ गतेको निर्वाचन बिथोल्ने १२ समूह किटान गरेको छ । अहिले विभिन्न १२ ओटा समूहबाट निर्वाचनमा सुरक्षा थ्रेट हुन सक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन् ।
कम्युनिस्ट पार्टी भनिएकादेखि राजावादीसम्मबाट सुरक्षा चुनौती हुन सक्ने प्रहरीको विश्लेषण छ । त्यसमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहदेखि अन्य राजावादी समूह र विभिन्न पार्टीबाट चुनावी सुरक्षामा चुनौती हुन सक्ने बताइएको छ ।
अहिले प्रसाईं भने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । प्रसाईंकै समूहको पी.डी.एफ. (पब्लिक डिफेन्स फोर्स) र ए.टी.एफ. (एनिटाइम फोर्स) लाई पनि चुनाव बिथोल्न सक्ने समूहमा राखिएको छ ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले चुनाव बिथोल्ने प्रकृतिको अभिव्यक्ति दिएपछि उनीनिकट समूहलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्रले राष्ट्रिय सहमति र समझदारीमा जोड दिएका थिए । शाहले अहिलेको निर्वाचनले निकास नभई द्वन्द्व, अशान्ति र खिचातानी ल्याउन सक्नेसमेत दाबी गरेका थिए ।
त्यसपछि शाहनिकट समूह शाही युवा शक्ति नेपाललाई निर्वाचन बिथोल्न सक्ने समूहमा राखिएको छ । यो समूहका पशुपति खड्कादेखि सन्तोष राजावादीसम्म सुरक्षा संयन्त्रको निगरानीमा छन् ।
त्यसैगरी, सी.पी. गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पनि चुनाव बिथोल्न सक्ने समूहमा छन् ।
गजुरेलले विनाकारण चुनाव गर्न लागिएकाले यसको औचित्य नभएको बताएका छन् । ‘चुनाव हुन नियमित रूपमा समय पुगेको हुनुपर्यो । दुई वर्ष बाँकी नै थियो । किन अघि नै चुनाव गर्ने निर्णय भयो ? चुनावको माग कसले गरेको छ ? साम्राज्यवादीलाई अहिले चुनाव चाहिएको छ ।
वैधानिकता हासिल गर्न एउटा कठपुतलीलाई ल्याएर चुनाव गर्न लागेका छन् । त्यसैले हामीले त्यसको बहिष्कार गर्नुपर्छ’ गजुरेलको तर्क छ ।
यता, फागुन ५ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चुनाव बहिष्कारमा लागेका नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको थियो । उनीसहित यो समूहका चार जना अहिले पनि हिरासतमा छन् ।
त्यसैगरी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपालको एउटा समूह, पहिचानवादी समूह, मङ्गोल नेसनल अर्गनाइजेसन र रोहिङ्ग्या अर्थात् शरणार्थीलाई पनि निर्वाचनमा चुनौती हुन सक्ने समूहमा राखिएको छ ।
रोहिङ्ग्यालाई भने कसैले निर्वाचन बिथोल्न प्रयोग गर्न सक्ने भएकाले निगरानीमा राखिएको सुरक्षा अधिकारी बताउँछन् । ‘उनीहरूको पहिचान शरणार्थीबाहेक केही छैन । कसैले सहजै प्रयोग गर्न सक्ने उच्च जोखिम भएकाले रोहिङ्ग्यामाथि पनि निगरानी आवश्यक छ’ ती सुरक्षा अधिकारी भन्छन् ।
पछिल्लो चार महिनादेखि प्रहरीले निर्वाचन बिथोल्न सक्ने समूह, तिनले पार्न सक्ने प्रभाव, उनीहरूको शक्ति, साङ्गठनिक हैसियत र सम्भावित सुरक्षा चुनौतीको मसिनो रूपमा विश्लेषण गरेको दाबी गर्दै आएको छ ।
अहिले नेपाल प्रहरीले कार्यविभागका एसएसपी दयानिधि ज्ञवालीको कमान्डमा निर्वाचन सुरक्षा विश्लेषण महाशाखा गठन गरेर काम गरिरहेको छ । यो महाशाखाले देशभरका प्रहरी चौकीदेखि इलाका, जिल्ला प्रहरी कार्यालयदेखि प्रदेश प्रहरी कार्यालयसम्मबाट रिपोर्टिङ लिएर सुरक्षा विश्लेषण गर्दै सोहीअनुसार रणनीति बनाएको छ ।
सुरक्षा चुनौतीको विश्लेषण गरेपछि देखिने सम्भावित सुरक्षा चुनौतीका बारेमा सम्बन्धित क्षेत्रका प्रहरी युनिटलाई जानकारी गराएर सोहीअनुसार सुरक्षा रणनीति बनाएर काम गर्न भनिएको छ ।
निर्वाचन बिथोल्ने समूहका सदस्यलाई पक्राउ गरेर कानुनी दायरामा समेत ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डी.आई.जी. अबिनारायण काफ्ले बताउँछन् ।
प्रवक्ता काफ्लेका अनुसार निर्वाचन बिथोल्न खोजेको आरोपमा अहिले १६ जना हिरासतमा छन् । नियन्त्रणमा लिइएका २६ जनालाई भने छाडिएको छ ।