यसपटकको प्रतिनिधिसभा निर्वाचनमा धेरैजसो राजनीतिक दल एकल चुनावी प्रतिष्पर्धा गर्दैछन् । दलदर्ता र मनोनयन दर्ताअगाडि उनीहरूमाझ एकता वा धु्रवीकरण भइसकेका थिए । उम्मेदवारको मनोनयन दर्तासँगै केही अयोग्यको उम्मेदवारी फिर्ता वा रद्द भए, बाँकी सबै उम्मेदवार चुनावी मैदानमा छन् । फागुन ४ गतेदेखि १८ गतेसम्म खुल्ला चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ । अहिले अनौपचारिक प्रकारले घरदैलो, भेटघाट चलिरहेको छ यद्यपि कैयौँ राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत खुल्ला कार्यक्रम पनि गरिरहेका छन् । त्यसबापत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले कारबाही गरिरहेको छ । जे होस्, राजनीतिक दलका उम्मेदवारहरू यतिखेर जनतामाझ छन्, बाहिर रहेका उम्मेदवार पनि आफ्नो निर्वाचन क्षेत्र पुग्दैछन् ।
हाम्रो देशमा चुनावी सहकार्यलाई विकृत रूपमा प्रस्तुत गरिएको पाइन्छ । पक्कै पनि त्यसका लागि कुनै खास राजनीतिक दल नै जिम्मेवार छन् । प्रथमत: उनीहरूले सिद्धान्तहीन गठबन्धन गर्दा र द्वितीय गठबन्धनको क्रममा इमानदारिता देखाउन नसक्दा यसको आलोचना हुने गरेको छ । २०७७ सालमा असंवैधानिक प्रकारले प्रतिनिधिसभा विघटन गरिँदा बनेको संयुक्त मोर्चाको सन्दर्भमा पनि इमानदारिताको सवालमा कमजोरी भएको थियो । २०७९ सालको निर्वाचनको दौरानमा नेपाली कङ्ग्रेस र तत्कालीन माओवादी केन्द्रले कैयौँ स्थानमा यस्ता कमजोरी गरेका थिए । निर्वाचनपछि माओवादी केन्द्रका प्रमुखले त सत्तालोलुपताको ताण्डवनृत्य नै गरेका थिए । यी कमजोरीले गर्दा स्वयम् राजनीतिक दलका कार्यकर्तामाझ नै चुनावी सहकार्यप्रति वितृष्णा उत्पन्न भएको थियो । अहिले ती कमजोरीको समीक्षा गर्दै धेरै राजनीतिक दलले एकल चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो समयमा प्रतिगमन विरोधी गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले पनि एकल चुनावी प्रतिष्पर्धा गरिरहेको छ ।
एकल चुनावी प्रतिष्पर्धाका कैयौँ सबल पक्ष छन् । खासगरी आफ्नो नीति तथा विचार स्वतन्त्र प्रकारले जनतामाझ लैजान पाउनु यसको आधारभूत सबल पक्ष हो । यस दौरानमा आलोचनाको पनि स्वतन्त्रता रहन्छ । त्यसले गर्दा राजनीतिक भण्डाफोर पनि योजनाअनुसार नै सम्पन्न हुन सक्दछ । हुन त कतिपय बेलामा यस्ता आलोचना केवल ‘चुनावी’ प्रकृतिका हुन सक्दछन् । उदाहरणका लागि नेपाली कङ्ग्रेस, नेकपा (एमाले), भर्खरै गठन भएको नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेसवादी पार्टीले एकार्काको आलोचना पक्कै गर्दछन् तर उनीहरू सबै सँगै सत्तासमीकरण चलाउँदै आएका छन् । सरकारमा बसेर उनीहरूले साझा तर गलत निर्णय गर्ने गरेका छन् । वास्तवमा अहिले देशको जुन अवस्था छ, त्यसका लागि सत्तासञ्चालन गरेका यी सबै राजनीतिक दल जिम्मेवार छन् । देशमा जुन प्रकारको विकृति, विसङ्गति, कुशासन, राष्ट्रघात र परनिर्भरताको अवस्था छ, त्यसका लागि आजसम्म सत्ता सञ्चालन गरिरहेका राजनीतिक दल नै जिम्मेवार छन् । त्यस अर्थमा राजमोजस्ता पार्टीले मात्रै यी विकृति, विसङ्गतिको भण्डाफोर गर्ने अधिकार राख्दछन् तर चुनाव यस्तो फोहोरी खेल बनिरहेको हुन्छ, जहाँ गलत पक्षले सही पक्षको आलोचना गरिरहेको हुन्छ । परिणाम यो हुन्छ, सही राजनीतिक विचार अपनाउने र त्यस प्रकारको भूमिका खेल्ने पक्ष नै कमजोर अवस्थामा हुन्छ ।
राजमोले बागलुङमा बाहेक अन्त कतै पनि सहकार्य नगरीकन एकल चुनावी प्रतिष्पर्धा गरिरहेको छ । यो पार्टी कुनै खास परिस्थितिमा बाहेक सत्तामा जाने गरेको छैन बरु संसद्बाट देश र जनताको पक्षमा लगातार आवाज उठाउने गरेको छ । यस्तो पार्टीलाई नै राजनीतिक भण्डाफोर अभियान चलाउने वास्तविक अधिकार रहन्छ । त्यसैले यतिखेर राजमोको देशव्यापी चुनावी अभियानको क्रममा राजनीतिक भण्डाफोरलाई त्यत्तिकै तीव्रता दिइएको छ । यस्तो राजनीतिक भण्डाफोरबाट नेपाली जनताले वास्तविकता बुझ्ने मौका पाउनेछन् किनकि जनतालाई सचेत बनाउने सही राजनीतिक दलले हो र सचेत जनताले नै समृद्ध देश बनाउन सक्नेछन् ।