गुल्मी । राष्ट्रिय जनमोर्चाद्वारा दरबार गाउँपालिका वडा नं. १ बलिथुममा २०८२ माघ १७ गते स्थानीय पार्टी कार्यकर्ताहरूको बीचमा निर्वाचनसम्बन्धी भेला सम्पन्न भएको छ ।
आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजित भेलामा पार्टी संगठन सुदृढीकरण, प्रचारप्रसारलाई प्रभावकारी बनाउने तथा जनसम्पर्क विस्तार गर्ने विषयमा छलफल गरिएको थियो । सहभागी कार्यकर्ताहरूले पार्टीको नीति, सिद्धान्त र चुनावी एजेन्डा घरघरमा पुर्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेलामार्फत राष्ट्रिय जनमोर्चाले सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा परिवर्तन चाहने नागरिकहरूलाई निर्वाचनमा राष्ट्रवादी पार्टी राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन आह्वान गरेको छ । पार्टीले निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार रामकुमार क्षेत्री र निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार लालबहादुर थापाजीलाई विजयी गराउन सबैलाई अनुरोध गरेको छ ।
राष्ट्रिय जनमोर्चाले संविधान, राष्ट्रियता, जनजीविका र जनपक्षीय राजनीतिलाई मूल मुद्दा बनाएर निर्वाचनमा जाने स्पष्ट पारेको छ ।