दुर्गानाथ खरेल ##
देशमा गणतन्त्र स्थापना भएको छ । प्रचलित व्यवस्थाका र वर्तमान संविधानको मातहतमा रहेर पार्टी खोल्न छेकबार छैन । पार्टी खोल्न मात्र होइन, दुई फरक फरक पार्टीको एकता गर्न पनि पाइन्छ ।
पहिला पार्टी खोल्ने अनि पार्टी सञ्चालन गर्न अप्ठेरो भएको अवस्थामा अरू एक वा धेरै पार्टीसँग मिलेर नयाँ पार्टी बनाउने चलनले नेपालमा व्यापकता पाएको छ । समाजवादी र प्रजातन्त्रवादी नाम राखेका अलग अलग पार्टीहरूले आपसमा मिलेर अर्काे तेस्रो पार्टी बनाउने मात्र होइन, हामी कुनै पनि वादलाई मान्दैनौँ भन्दै स्वतन्त्र नाम राखेर पार्टी खोल्ने कुरासमेत नेपालमा सामान्य भएको छ । त्यति मात्र होइन, कुरा राजनीतिका गर्ने तर काम भने व्यक्तिगत स्वार्थ पुग्ने गरी गर्ने कुरा पनि फेसनजस्तै भएको छ ।
लेनिनले दोस्रो इन्टरनेसनलका नेताहरूलाई इङ्गित गर्दै भनेका थिए, यिनीहरूका कुरामा विश्वास गर्न हुने छैन । काम गरेको आधारमा मूल्याङ्कन गरेर मात्र विश्वास तथा अविश्वास गर्नुपर्नेछ । अहिले नेपाली जनताको राजनैतिक चेतनास्तर निम्न भएको अवस्थालाई आफ्नो स्वार्थको पक्षमा उपयोग गर्ने होडदङ्गा नै चलेको छ । जति जति नेपाली जनताको राजनैतिक चेतनास्तर उच्च हुँदै जानेछ, त्यति त्ति सही राजनीतिको पक्षपोषण गर्दै जाने राजनीतिको पक्षपोषण गर्दै जानेछन् । राजनैतिक पार्टीहरूको विधान घोषणापत्र र तिनीहरूको व्यावहारिक प्रयोगको आधारमा मूल्याङ्कन गर्दै जाने अवस्था आउने छ । धेरै मत पाउने अथवा थोरै पाउने कुराको आधार तिनीहरूको विधान घोषणापत्र र त्यसको व्यावहारिक प्रयोग हुनेछ ।
राजनैतिक पार्टी खोल्ने भनेको राजनैतिक उद्देश्य पूरा गर्नका लागि हो । वर्तमान व्यवस्था पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाका पक्षधरले नाफा कमाउने उद्देश्यलाई प्रमुख केन्द्रमा राखेर काम गर्दछन् । नाफा कमाउने भनेको शोषण गर्ने हो । कि त काम गर्ने मजदुरलाई शोषण गर्नुपर्छ ।
मजदुर भनेका श्रम बेचेर खर्च चलाउने व्यक्ति हो । श्रम बेचेर खर्च चलाउने अर्काे व्यक्ति किसान पनि हो । उसले आफ्नो श्रम जमिनमा खर्च गर्छ र त्यसबाट आएको उत्पादन नियमकानुनअनुसारको मात्र बुझेर खर्च चलाउँछ ।
समाजका उत्पादक वर्ग ज्याला बुझेर खर्च चलाउने मजदुर र जमिनमा श्रम खर्च गरेर उत्पादन लिई खर्च चलाउने किसान हुन् । उत्पादन गर्दा शोषण गर्ने तेस्रो पक्ष जमिन हो । जमिनलाई शोषण गरेर उत्पादन बढाउने पनि एउटा तरिका हो । यिनै उत्पादक शक्तिलाई शोषण गरेर वर्तमान पुँजीवादी व्यवस्था सञ्चालन भएको छ ।
शोषण गर्नका लागि सबैभन्दा पहिले उत्पादनका अरू साधन जमिन र उद्योग आफ्नो व्यक्तिगत नाममा दर्ता गराउने गरिन्छ । त्यसपछि मजदुर र किसानलाई बेरोजगार बनाएर घटीभन्दा घटी ज्यालामा श्रम किनेर श्रमशोषण गरिन्छ । त्यसरी एउटाको श्रमबाट अर्काेले सुविधासम्पन्न भई जीवन बिताउने परम्पराकै चलन हो । यो शोषकवर्गीय चरित्रको व्यवस्था हो । त्यसको सञ्चालक राज्यसत्ता हो ।
कुनै पनि व्यक्ति अथवा सङ्घसंस्थाको अधिकार तात्कालीन व्यवस्था र सांस्कृतिक स्तरभन्दा माथि हुन सक्दैन । प्रचलित राज्यसत्ता प्रचालित समयको बौद्धिक शक्ति पनि हो । त्यसका आफ्नै संस्कृति हुन्छन् । धर्म र परम्पराको आधारमा समाज सञ्चालन हुन्छ । राज्यसत्ता जनताबाट कर उठाउने र सशस्त्र शक्ति राखेर जनतालाई नियमन गर्ने अधिकारसहित सङ्गठित हुन्छ । दश हजार वर्ष पहिलेदेखिको व्यक्तिगत स्वामित्वमा रहेका उत्पादनका साधनलाई सुरक्षा दिने काम राज्यसत्ताले गर्दछ । उत्पादक शक्तिलाई मालिकको मातहतमा राखेर शोषण गर्ने कामलाई राज्यसत्ताले अझै सशक्त र बलियो बनाउँदै लगिएको छ ।
राज्यसत्तामा सङ्गठित शक्ति सेना, प्रहरी, कर्मचारी र नेतागण गरी चारओटा हुन्छन् । तिनीहरूले दमन र उदारताको तरिकाबाट समाजलाई नियमन गरेका हुन्छन् । सत्तासिन वर्गले धर्म र परम्परालाई आफ्नो फाइदामा उपयोग गर्छ । दैनिक समस्याका सबै क्षेत्रमा शोषणको जालो फैलाइएको हुन्छ । सिद्धान्तसहित गठन गरिएका र सिद्धान्तरहित किसिमले गठन गरिएको घेरै पार्टीहरू भ्रमको सशक्त हतियार प्रयोग गरिरहने काम गर्दछन् । राजनैतिक चेतनास्तर उच्च बनाउने पार्टी दुर्लभ हुन्छन् ।
खानु, लाउनु, बस्नु, शिक्षा, स्वास्थ्य र रोजगार हुनु सबै मान्छेका आधारभूत समस्या हुन् । ती छओटै आधारभूत समस्यामा शोषणको पहुँच बलियो हुँदै अगाडि बढिरहेको हुन्छ । ती आधारभूत समस्याको समाधान नगरेसम्म कोही पनि मान्छे समस्याबाट अलग हुन सक्दैन । तिनै समस्या समाधान गर्ने क्रममा सर्वसाधारण जनतामा दिनदिनै उत्पादन गर्ने क्रममा घुम्ने कुर्सीको खेलसरह व्यक्तिगत स्वमित्व घट्दै ऋणमा परिरहँदा सर्वहारा वर्गको नजिक पुगिरहेका हुन्छन् । त्यो भनेको उनीहरू एकातिर निम्नस्तरको जीवन बिताउन बाध्य हुन्छन्, अर्काेतिर सम्पन्नशाली जीवनको नक्कल गरेर दैनिक जीवन बिताउने कृत्रिम नक्कल गरेर ऋणमा डुबिरहेका हुन्छन् । यस्तो दोहोरो समस्याले गर्दा समाजको बहुमत जनसङ्ख्या गरिबीको अवस्थातिर बढिरहेको हुन्छ । सीमित व्यक्तिको स्वामित्वमा उत्पादनका साधन केन्द्रित भइरहेका हुन्छन् । समाजमा धनी र गरिबबिचको खाडल गहिरो बन्दै गइरहेको हुन्छ । राजनीतिक ध्रुवीकरण झन्पछि झन् बढाएर सशक्त सङ्गठन बनाउने मात्र समाधानको उपाय हुन आउँछ ।
जहाँसम्म मुक्तिको कुरा हो, त्यो अरूले ल्याइदिने होइन । धनीको मुक्ति शोषणमा आधारित छ । धेरैभन्दा धेरै मजदुर–किसान र जमिनलाई शोषण गरेर आफ्नो कुनै जिम्मेवारी नभएको अवस्थामा पुगेर उच्च सुविधासम्पन्न बिलासी जीवन बिताउन पाएको अवस्थालाई उनीहरूको मुक्तिको अवस्था भनेर व्याख्या गर्छन् । समाजका मान्छेमध्ये कसैले पनि एउटाले अर्काेलाई शोषण गर्न नपाउने अवस्थासम्म पुर्याउन सकियो भने त्यतिखेर मात्र गरिबको मुक्तिको भएको अवस्था मानिन्छ । त्यसका लािग शोषितको सशक्त सङ्गठनको आवश्यकता पर्दछ । शोषण गर्नेका विरुद्ध शोषित हुनेको सशक्त राजनैतिक सङ्घर्ष आवश्यक पर्दछ । शोषण भयो भनेर ठुला ठुला कुरा मात्र गर्ने होइन, शोषण समाप्त पार्ने काममा आफूले सशक्त भूमिका निर्वाह गरेर आफ्नो योगदान उच्च किसिमको बनाउने कसरत गनुपर्दछ । वर्गीय शोषणको जालो भत्काउन वर्गीय सङ्गठन र सङ्घर्ष उच्च हुनुपर्छ ।
जहाँसम्म आफ्नो दैनिकीमा कति घण्टा काम गर्नुपर्छ भन्ने कुरा हो, त्यो जसले जति बढी सक्छ, त्यति बढी काम गर्ने हो किनभने आदिम साम्यवादी समाजमा त्यतिखेरका मान्छरूले अठार/उन्नाइस घण्टा काममा खट्ने गर्दथे तर उत्पादन अत्यन्त थोरै थियो । फलफूल, कन्दमूल जम्मा गर्दा बिहानभरि काम गरेर बिहानको खाना धौ धौ पुग्दथ्यो । दिनभरि काम गरेर बेलुकीको खाना धौ धौ पुग्दथ्यो, बचत हुने पनि थिएन, बचत गर्न सक्ने अवस्था पनि थिएन ।
अहिले अन्तर्राष्ट्रिय स्तरमै मान्यता पाएको समय आठ घण्टा कामको दिन हो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको समय निर्धारण मजदुरले आन्दोलन गरेर विजयी भई स्थापित भएको हो । त्यति धेरै सहुलियत प्राप्त हुनुमा एउटा मात्र व्यक्ति, सङ्गठन वा संस्थाको मात्रै योगदान छैन । कसैले वैज्ञानिक अनुसन्धान गरे† कसैे राजनीतिक कृयाकलाप गरे† कसैले व्यावहारिक प्रयोग गरे† विभिन्न किसिमले आआफ्नो योगदान थपेको हुनाले सम्पूर्ण समाज अहिलेको अवस्थामा पुगेको हो । त्यसकारण शोषणको जालो हटाउन धेरैभन्दा धेरै समय काम गर्ने जिम्मेवारी शोषितकै हो ।
आफ्नो उमेरअनुसार बढीभन्दा बढी काम युवावस्थामा गरेर व्यक्तिगत स्वामित्वमा सम्पत्ति थप्ने र बुढेसकालमा सुविधासम्पन्न भई जीवनलीला पूरा गर्ने भनाइमा सत्यता छैन किनभने शोषण गर्ने र शोषण नगर्ने भन्ने कुरा मान्छेको सङ्गठित रूपमा भर पर्ने कुरा हो । कुनै पनि काम एकल प्रयत्नबाट सम्पन्न हुन सक्दैन । चाहे त्यो युवाअवस्थाको काम होस्, चाहे त्यो बुढेसकालसम्म, कुनै पनि व्यक्तिले आफ्नो क्षमताअनुसार सङ्गठित रूपको श्रमको एउटा हिस्सेदार भएर काममा खट्ने त हुनैपर्यो । त्यसैले सानै उमेरदेखि सामूहिक जीवनको अभ्यास गराउनु हाम्रा सरोकारको विषय हो । देश र श्रमजीवी वर्गको मुक्तिका लागि अधिकतम योगदान थप्ने कर्तव्य हो ।
जहाँसम्म कम्युनिस्ट पार्टी र कम्युनिस्टको कुरा हो, त्यसलाई यसरी बुझ्नुपर्छ । कम्युन भनेको सामूहिक जीवनको एउटा एकाइ हो । कम्युनिस्ट व्यक्ति भनेको सामूहिक जीवनमा आधारित रहेर शोषणविहीन समाज निर्माणमा आफ्नो योगदान थप्ने व्यक्ति हो । वर्तमान शोषणमा आधारित समाजमा नेता हुनु र नेता बनाउनु अतिआवश्यक काम हो । त्यो नेता हुने व्यक्तिले नेताको अभिनय गर्नेभन्दा पनि सामूहिक कामको आफ्नो हिस्सामा परेको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने हो । उसले त्यही उद्देश्यपूर्तिका लागि आफूले उच्चतम प्रयत्न गर्ने हो ।
वर्गविहीन र शोषणविहिन समाज एउटा व्यक्तिले बनाएर बन्ने होइन । त्यसका लागि समाजमा रहेका विभिन्न तहतप्काका व्यक्तिको सामूहिक प्रयत्न चाहिन्छ । व्यक्तिले गर्न सक्ने उच्चतम प्रयत्न भनेको अध्ययन, प्रशिक्षण, सङ्गठन, अनुशासन र निरन्तरतासहितको सङ्घर्ष हो ।
सङ्घर्ष गर्ने कुरा सङ्गठित प्रयत्नको उपलब्धि हो, व्यक्तिले गरेर मात्र पुग्ने काम होइन । आफ्नो तर्फबाट गर्न सक्ने र हुन सक्ने कामका लागि उच्चतम प्रयत्नसँग मात्र व्यक्ति सम्बन्धित हुन्छ । सम्पूर्ण समाज परिवर्तनको ठेकेदार कुनै नेता होइन । नेता पनि आकाश, जमिन अथवा अन्त कतैबाट आएको व्यक्ति होइन, यही समाजमा जन्मेर हुर्केको व्यक्ति हो । उसमा अलौकिक शक्ति र अलौकिक क्षमता हुने कुरा हुन्न बरु कुरा यो हो– उसले उच्चतम योग्यताको विकास गर्न निरन्तर समयको उपयोग गरिरहन्छ । त्यसो गरेर उसले उच्चस्तरको योग्यता हासिल गर्न सक्छ । सर्वधारण कार्यकर्ता र जनताले विकास गर्ननगसक्ने गरी उच्चस्तरको योग्यता हासिल गरेको हुन्छ । त्यही नेतृत्वको सफलताको कसी पनि हुन्छ ।
वर्तमान समाजमा कम्युनिस्ट पार्टीको नेता हुने भनेको जतासुकै बिक्न सक्ने श्रमको योग्यता विकास गर्न प्रयग्न गर्ने व्यक्ति हो । त्यस किसिमको साधना लगातार गरिरहने हो भने लामो र कष्टसाध्य कामको परिणामले योग्यता विकास हुन सक्छ । एकातिर निरन्तर जनताको सम्पर्कमा रहने, अर्काेतिर अध्ययनलाई निरन्तरता दिने—यी दुईओटा असाध्यै अप्ठेरा काम हुन् । महान् उद्देश्य राखेपछि दैनिक जीवनमा कठिन परिश्रम गर्ने कामको अभ्यास त गर्नैपर्ने हुन्छ । कम्युनिस्ट पार्टीको नेतृत्व विकास गर्ने कठिन काममा सफलता विरलै मान्छेले प्राप्त गर्न सक्छन् ।
एउटा कम्युनिस्ट व्यक्तिले दुईओटा जिम्मेवारी अनिवार्य रूपमा पूरा गर्नुपर्छ । एउटा जिम्मेवारी श्रम गरेर दैनिक खर्च टार्ने जिम्मेवारी हो भने दोस्रो उत्पादक श्रम गर्ने योग्यता विकास गरेर बचत भएको रकम, समय र योग्यतालाई प्रयोग गरेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने हो । हामीले काम गर्दा अर्थतन्त्रस, परिवार र आफ्नो जीवनसँगै अघि बढ्ने हो ।
कम्युनिस्ट बन्ने काम केही समयका लागि औपचारिकता पूरा गर्ने गरी कम्युनिस्ट पार्टीको सदस्य भइदिने काम होइन, यो जीवनभर र पुस्तौँपुस्तासम्म गरिरहने काम हो । बुढापुरानाले भन्ने गरेको कुरा हो, लिने काम, दिने काम र गर्ने काम समयमै गर्नुपर्छ । यदि त्यसो गर्न सकिएन भने समयले हामीलाई उपयोग गर्छ, हामीले समयलाई उपयोग गर्न सकेका हुन्नौँ ।
कुनै व्यक्तिको स्वामित्वमा उत्पादनका साधन छन् अथवा सम्पत्ति छ भने त्यो सम्पत्तिले बाधा पार्दैन बरु सहयोग नै गर्छ । मुख्य प्रश्न विश्वदृष्टिकोणको हो । विश्वदृष्टिकोणमा सर्वहाराकरण हुन सक्ने हो भने सम्पत्तिलाई सामूहिक स्वामित्वमा लगेर सामूहिकीकरण गर्न सकिन्छ । आफू पनि त्यसको एउटा हिस्सेदार बन्न सकिन्छ । त्यसपछि गर्ने काम भनेको योग्यताअनुसार काम गर्ने र कामअनुसार दाम लिएर खर्च टार्ने हो । बढी योगदान गर्न सक्ने हो भने त्यो सामूहिक स्वामित्वमा ल्याउन नदिने हो । त्यसकारण जसरी भए पनि सामूहिक स्वामित्वअन्तर्गत उत्पादन र वितरण गर्न आफ्नो योगदान थप्ने हो । त्यसो गर्ने र गर्न सक्ने मान्छे कम्युनिस्ट हो । त्यसो गर्न नसक्ने मान्छे कम्युनिस्ट होइन ।
कम्युनिस्ट बन्ने भनेकै सामूहिक स्वामित्वमा उत्पादनका साधन दर्ता गरेर आफू सामूहिकताको मातहतमा रहेर जीवन गुजारा गर्ने व्यक्ति हो । वर्तमान समयमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको हुनाले त्यति धेरै आफ्नो योगदान थप्ने गरी काम गर्ने मान्छे भेटिन्नन् बरु कम्युनिस्ट पार्टीमा नाम दर्ता गर्ने तर जुनसुकै तरिकाले भए पनि व्यक्तिगत स्वामित्वको सम्पत्ति घट्न नदिएर थप्ने प्रयत्न निरन्तर गरिरहने र पार्टीले पनि त्यतातिर ध्यान दिएर नहुने अवस्था छ ।
माक्र्सले भनेको कुरा हो, कम्युनिस्ट पार्टी अगाडि बढ्दै जाँदा सर्वहारा वर्गको अधिनायकत्वको अवस्थातिर बढ्दै जान्छ । नेपालमा २००६ सालमा गठन भएको कम्युनिस्ट पार्टीका संस्थापकले कोही पनि सर्वहारा भई पार्टीमा योगदान थप्ने गरेको पाइन्न । चौथो महाधिवेशन (२०३१ साल) देखिका नेता मोहनविक्रम सिंहबाट एकाउन्न वर्षसम्म सर्वहारा वर्गको अधिनायकत्वको अभ्यास भयो । त्यो अभ्यास आफ्नो पार्टीमा निरन्तर अगाडि बढिरहेको छ । त्यो काम उच्चतम योग्यताको विकास गरेर मात्र सम्भव भएको छ । सही क्रान्तिकारी नीतिमा आधारित भएर धेरै जनता समेट्न सफल भएको कम्युनिस्ट पार्टी नेपालमा उहाँकै नेतृत्वमा सञ्चालित छ । अरू पार्टीहरू कि त क्रान्तिकारी नीतिबाट विचलित भइसकेका छन्, कि जनता समेट्न सकेका छैनन् । यस्तो प्रतिकूल परिस्थितिमा विभिन्न क्रान्तिकारी व्यक्तिले कम्युनिस्ट पार्टीको राम्ररी अध्ययन गरेर विनाहिचकिचाहट नेकपा (मसाल) पार्टीमा गोलबन्द भई सशक्त कम्युनिस्ट पार्टी बनाएर अगाडि बढ्नुे आजको खड्किएको आवश्यकता हो ।
हामी साँच्चै कम्युनिस्ट बन्ने हो अथवा कम्युनिस्ट पार्टी बनाउने हो भने सबैभन्दा पहिले पूर्वाग्रहलाई त्याग्नुपर्छ, योग्यताको विकास गर्नुपर्छ र सत्यको बाटोमा अगाडि बढ्नुपर्छ । गैरकम्युनिस्ट व्यक्तिलाई कम्युनिस्ट नामले सिँगारेर कम्युनिस्ट बन्दैन । कम्युनिस्ट बन्ने कुरा पदमा भर पर्दैन, योग्तामा भर पर्दछ । आफूले योग्यताको विकास गर्ने प्रयत्नमा सफल हुन नसक्ने अनि अरूको डाह गरेर कम्युनिस्ट भइने होइन, अवसरवादी भएको मूल्याङ्कनमा परिन्छ । अवसरवादी कोही पनि कम्युनिस्ट बन्न सक्दैन ।
कम्युनिस्टको पहिचान श्रम बेच्ने योग्ताको विकास नै हो । अथक प्रयत्न र सङ्घर्षको कलाबाट मात्र योग्यता विकास हुने हो बरु मान्छेहरू लगातार सङ्घर्ष गर्नेभन्दा टालेटुले श्रम गर्ने र अवसरको तरिका अपनाउने गरेर जीवन बिताउँछन् । त्यो सही तरिका होइन र त्यसरी कम्युनिस्ट बन्न सकिन्न । सङ्घर्षको निरन्तरता नै कम्युनिस्टको असली तरिका हो ।
आजको कम्युनिस्ट आन्दोलनको सङ्कटग्रस्त अवस्था क्षणिक हो । अवश्य पनि त्यो आन्दोलन आशालाग्दो अवस्थामा रूपान्तरण हुनेछ ।