• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रियतावादको मोह, ब्यक्तिवादको उभार र बाह्य निर्भरताको जोखिम


  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
  • – गणेश आचार्य

    Advertisement

    अहिले नेपाली सामाजिक तथा राजनीतिक अबस्था अन्यन्तै उपरी तथा कमजोर वैचारिक धरातलमा तैरीरहेको छ । यहाँको राजनीतिक इतिहास सधै आशा र निराशाको दोहोरो चक्रभित्र घुमिरहेको छ । जनआन्दोलन, बलिदान र परिवर्तनका सपना बोकेर पटक–पटक नयाँ युगको उद्घोष गरियो, तर ती युगहरू धेरैजसो अधुरै रहे । आज फेरि त्यस्तै एउटा क्षणमा नेपाल उभिएको छ । परम्परागत दलहरूको दीर्घकालीन असफलता, संस्थागत भ्रष्टाचार, सत्तालोलुपता र जनताप्रतिको बेवास्ताले समाजमा गहिरो वितृष्णा जन्माएको छ ।

    यही वितृष्णाले नयाँ अनुहार, नयाँ शैली र “सिस्टम बाहिरका” पात्रहरूलाई विकल्पका रूपमा उभ्याएको छ । रबि लामिछाने, बालेन शाह र कुलमान घिसिङ यिनै पात्रहरू हुन्, जसलाई व्यापक रूपमा आशाको किरण, वैकल्पिक नेतृत्व र परिवर्तनको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ । तर राजनीति केवल आशाले चल्दैन, राज्य केवल सदिच्छाले टिक्दैन । राज्य सञ्चालन गहिरो विचार, स्पष्ट वैचारिक दिशा, संस्थागत प्रतिबद्धता र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको यथार्थ बुझाइमा आधारित हुनुपर्छ । यही बिन्दुमा आएर गम्भीर प्रश्न उठ्छ—यदि नेपाल यिनै पात्रहरूको नेतृत्वमा गयो भने के देशको सार्वभौमसत्ता र स्वाधीनता सुरक्षित रहन्छ कि हामी युक्रेनजस्तै बाह्य शक्तिहरूको खेल मैदान बन्दै जानेछौँ ? गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन, त्यस आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका नेताहरूको भुमिका, रबि लामिछाने जेलबाट भागेको दृश्य, मन्त्री छनोटमा कुलमान घिसिङको छनोट र उनको एमसिएसँगको आवद्धता, बालेन साहाको जेनजी आन्दोलन सितको कनेक्सन र त्यो बेलाको उनको भुमिकाले यो कुरा स्पष्ट गरेको छ । यो अब कसैले राजनीतिक स्वार्थको रोटी सेक्न गरेको तर्क मात्र रहेन ।

    आधुनिक राष्ट्र–राज्यको सबैभन्दा आधारभूत विशेषता भनेको संस्थागत सन्तुलन हो । संविधान, संसद्, न्यायपालिका, प्रशासन, स्वतन्त्र मिडिया र नीतिगत निरन्तरताको संयोजनले राज्यलाई स्थायित्व दिन्छ । कुनै पनि व्यक्ति, चाहे जति नै लोकप्रिय वा इमानदार किन नहोस्, संस्थाभन्दा माथि हुन सक्दैन । तर पछिल्ला वर्षहरूमा नेपालको राजनीतिमा देखिएको प्रवृत्ति भने संस्थालाई होइन, व्यक्तिलाई केन्द्रमा राख्ने दिशातर्फ उन्मुख छ । रबि लामिछानेको राजनीतिक उदय हेर्दा देखिन्छ—उनको शक्ति वैचारिक स्पष्टतामा होइन, जनआक्रोशको प्रतिनिधित्व गर्ने छविमा आधारित छ । बालेन शाहको नेतृत्व शैलीमा पनि संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत निर्णय, कानुनी संयन्त्रभन्दा कार्यकारी आदेश र दीर्घकालीन नीतिभन्दा तुरुन्तै देखिने परिणामलाई प्राथमिकता दिएको देखिन्छ । कुलमान घिसिङको हकमा लोडसेडिङ अन्त्यको ऐतिहासिक उपलब्धिलाई एक व्यक्तिको नायकत्वमा रूपान्तरण गरिँदा, ऊर्जा क्षेत्रको संस्थागत सुधार, नीति निरन्तरता र सामूहिक प्रयासको महत्व ओझेलमा परेको छ ।

    व्यक्तिमा केन्द्रित यस्तो राजनीति सुरुवातमा आकर्षक देखिन्छ । जनताले “अब कडा मान्छे आयो”, “अब सिस्टम ठीक हुन्छ” भन्ने अनुभूति गर्छन् । तर इतिहासले देखाएको छ—जहाँ व्यक्ति बलियो र संस्था कमजोर हुन्छ, त्यहाँँ लोकतन्त्र मात्र होइन, सार्वभौमसत्ता पनि दीर्घकालसम्म टिक्न सक्दैन । राज्य कानुन र प्रक्रियाबाट होइन, व्यक्तिको मनोविज्ञान, रुचि र सीमाबाट चल्न थाल्छ । आज प्रशंसनीय ठानिएको “कडा निर्णय” भोलि असहमतिको दमन बन्न सक्छ । आज ताली पाएको “डण्डा चलाउने साहस” भोलि कानुनी राज्यको अन्त्य बन्न सक्छ । यही कारणले आधुनिक राजनीतिक चिन्तनले व्यक्तिवादलाई होइन, संस्थागत लोकतन्त्रलाई सर्वोपरि मानेको हो ।

    व्यक्तिवादसँगै जोडिएको अर्को गम्भीर समस्या हो लोकप्रियतावाद । लोकप्रियतावाद कुनै दार्शनिक राजनीतिक सिद्धान्त होइन, यो भावनामा खेल्ने राजनीतिक शैली हो । यसले जटिल सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय प्रश्नलाई सरल नैतिक कथामा झार्छ—केही पात्रहरू पूर्ण रूपमा खराब, केही पात्रहरू पूर्ण रूपमा असल । रबि लामिछानेको राजनीतिक भाषामा “पुराना सबै चोर”, “म जनताको आवाज” जस्ता कथनहरू बारम्बार दोहोरिन्छन् । बालेन शाहको छविमा “एक्लै सिस्टमसँग लड्ने इमान्दार नायक”को कथा निर्माण गरिएको छ । यस्तो भाषाले जनताको आक्रोशलाई त समेट्छ, तर समस्याको संरचनागत कारणलाई स्पर्श गर्दैन । नेपालका समस्या केवल केही व्यक्तिको भ्रष्टाचारबाट मात्र पैदा भएका होइनन् । ती समस्याहरू वर्गीय असमानता, उत्पादनमाथिको परनिर्भरता, भूमिसम्बन्ध, वित्तीय संरचना र अन्तर्राष्ट्रिय शक्ति सम्बन्धसँग गाँसिएका छन् । यी गहिरा प्रश्नलाई छोडेर भावनात्मक नारामा राजनीति सिमित हुँदा देश दीर्घकालीन दिशाहीनतामा फस्छ।

    यही बिन्दुमा युक्रेनको अनुभव स्मरणीय हुन्छ । युक्रेनमा पनि पुराना शक्ति संरचनाप्रति व्यापक आक्रोश थियो । नयाँ अनुहारहरू आए, भ्रष्टाचार विरोधी नाराले जनसमर्थन बटुले, लोकप्रियतावादी भाषाले राजनीतिलाई कब्जा गर्‍यो । तर राज्य सञ्चालन भावनाको लहरमा बग्दा रणनीतिक सोच कमजोर भयो । देशको भूराजनीतिक अवस्थिति, शक्ति सन्तुलन र दीर्घकालीन राष्ट्रिय हितबारे गम्भीर बहस हुन सकेन । यही कमजोरीको फाइदा उठाउँदै बाह्य शक्तिहरू सक्रिय भए । परिणामस्वरूप युक्रेन क्रमशः आफ्‌नो निर्णय क्षमता गुमाउँदै गयो र अन्ततः प्रतिस्पर्धी साम्राज्यवादी शक्तिहरूको टकरावस्थल बन्यो । युक्रेनको झण्डा आज पनि फहराइरहेको छ, तर सार्वभौम निर्णय गर्ने शक्ति कति हदसम्म स्वदेशमै छ भन्ने प्रश्न गम्भीर बनेको छ ।

    कुलमान घिसिङको सन्दर्भमा खतरा अलि फरक तर उत्तिकै गम्भीर छ । उनी प्रशासकका रूपमा सफल छन्, यसमा कुनै शंका छैन । तर प्रशासक हुनु र राजनीतिक नेता हुनु एउटै कुरा होइन । प्रशासक निश्चित सीमाभित्र समस्या समाधान गर्छ, नेता समाजको दीर्घकालीन दिशा तय गर्छ । कुलमानको सार्वजनिक छविमा प्राविधिक व्यवस्थापन, परियोजना कार्यान्वयन र परिणाममुखी सोंच प्रमुख देखिन्छ । तर राष्ट्र निर्माण केवल प्राविधिक सफलताले हुँदैन । बिजुली बत्ती बाल्नु आवश्यक छ, तर पर्याप्त छैन । राष्ट्र निर्माणका आधारभूत प्रश्नहरू उत्पादन प्रणाली, वर्गीय सम्बन्ध, भूमिस्वामित्व, वित्तीय स्वाधीनता र वैदेशिक निर्भरतासँग गाँसिएका छन् । यी विषयमा स्पष्ट राजनीतिक दृष्टि नहुँदा सफल प्रशासक पनि अनजानेमा विद्यमान नवउदारवादी र बाह्य निर्भर संरचनाको सहयोगी बन्न सक्छ ।

    सार्वभौमसत्ता आजको विश्वमा परम्परागत अर्थमा मात्र बुझ्न मिल्दैन । केवल सीमाना, झण्डा र सेनाले मात्र देश स्वतन्त्र हुँदैन । आर्थिक आत्मनिर्भरता, नीतिगत स्वतन्त्रता र कूटनीतिक स्पष्टता बिना सार्वभौमसत्ता खोक्रो हुन्छ । तर रबि, बालेन र कुलमानको सार्वजनिक राजनीतिक भाषामा साम्राज्यवादी शक्ति संरचना, बहुराष्ट्रिय पूँजीको प्रभाव, विदेशी अनुदानको राजनीति र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको दबाबबारे गहिरो आलोचना देखिँदैन । मौनता यहाँँ निर्दोष होइन, यो राजनीतिक कमजोरी हो । विदेशी सहयोग र लगानी आफैंमा अपराध होइन, तर त्यसप्रति आलोचनात्मक दृष्टि र राष्ट्रिय हितको स्पष्ट मापदण्ड नहुँदा राज्य बिस्तारै निर्णय क्षमताबाट वञ्चित हुँदै जान्छ ।

    नेपाल जस्तो सानो, भूराजनीतिक रूपमा संवेदनशील देशका लागि यो खतरा झन् गम्भीर छ । दुई ठूला शक्तिको बिचमा रहेको देशले स्पष्ट वैचारिक दिशा, आत्मनिर्भर आर्थिक नीति र सन्तुलित कूटनीति नअपनाएमा सजिलै बाह्य शक्तिहरूको प्रभाव क्षेत्रमा पर्न सक्छ । लोकप्रियतावादी नेतृत्वले यस्ता गहिरा प्रश्नलाई प्रायः महत्व दिँदैन, किनकि यिनले तत्काल ताली दिँदैनन् । तर इतिहासले देखाएको छ—ताली क्षणिक हुन्छ, नीति दीर्घकालीन हुन्छ । तालीले सरकार बनाउँछ, तर नीतिले देश जोगाउँछ ।

    यदि नेपाल व्यक्तिवादी, नायक–केन्द्रित र लोकप्रियतावादी राजनीतिमा अझ गहिरो फस्यो भने यसको परिणाम केवल राजनीतिक अस्थिरतामा सिमित रहनेछैन । संस्थागत सन्तुलन कमजोर हुँदै जानेछ, संसद् र नीति निर्माण प्रक्रिया औपचारिकतामा सिमित हुनेछ, निर्णय शक्ति केही व्यक्तिमा केन्द्रित हुनेछ । यस्तो अवस्थामा बाह्य शक्तिहरूका लागि हस्तक्षेप सहज हुन्छ—कहिले आर्थिक सहयोगको नाममा, कहिले “सुधार”को नाममा, कहिले “लोकतन्त्र र सुशासन”को बहानामा । देश युद्धमै जानु नपर्ला, तर नीति, अर्थतन्त्र र भविष्य अरूले तय गर्न थाल्नेछन् । यही नै आधुनिक युगको सार्वभौमसत्ता क्षय हो ।

    यस अर्थमा “नेपाल युक्रेन बन्छ” भन्ने कुरा डर देखाउने नारा होइन, राजनीतिक चेतावनी हो । युक्रेन बन्नु भनेको केवल युद्धमा फस्नु होइन, आफ्‌नो निर्णय क्षमता क्रमशः गुमाउनु हो । यदि हामीले व्यक्तिलाई देवता बनायौँ, संस्थालाई कमजोर पार्‍यौँ, लोकप्रिय नारालाई विचारको ठाउँ दियौँ र बाह्य शक्तिप्रति मौन रह्यौँ भने हामी पनि त्यही बाटोमा अघि बढिरहेका हुनेछौँ ।

    अन्ततः प्रश्न रबि, बालेन वा कुलमान व्यक्तिगत रूपमा कति इमान्दार छन् भन्ने होइन । प्रश्न उनीहरूले बोकेको राजनीतिक दर्शन के हो भन्ने हो । इमान्दारी, मेहनत र लोकप्रियता महत्वपूर्ण गुण हुन्, तर राष्ट्र निर्माणका लागि अपर्याप्त छन् । राष्ट्र जोगाउन स्पष्ट वैचारिक दिशा, संस्थागत प्रतिबद्धता र सार्वभौमसत्ताप्रतिको कठोर चेतना आवश्यक हुन्छ । इतिहासले पटक–पटक प्रमाणित गरेको सत्य यही हो—देश व्यक्ति बदलिँदा होइन, विचार, संरचना र राजनीतिक दिशाले जोगिन्छ । यदि यो पाठ हामीले समयमै आत्मसात् गरेनौँ भने, परिणाम ढिलो वा चाँडो हामीले भोग्नैपर्छ । जसरी अहिले विश्वब्यापि द्वन्द्व र अशान्तिको वातावरण सृजना भएको छ । त्यसबाट हामी अछुत रहन सक्ने छैनौँ । भरखरै भेनेजुएलाको घटनाले पनि त्यो कुरालाई थप प्रमाणित गरेको छ ।

    बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.