डा. चूडाप्रसाद ढकाल ##
मानव इतिहास मूलत: श्रम र उत्पादनका साधनसँग जोडिएको इतिहास हो, श्रम केवल जीविकाको उपाय मात्र रहेन । यसैले समाजको संरचना, शक्तिसम्बन्ध र सामूहिक चेतनालाई आकार दियो । कसरी उत्पादन हुन्छ ? कसले निर्णय गर्छ र त्यस उत्पादनको लाभ कसले पाउँछ भन्ने प्रश्नले हरेक युगको राजनीति र शासनको चरित्र निर्धारण गरेका छन् । त्यसैले लोकतन्त्र, न्याय र समानताको बहस सधैँ श्रम र शक्तिसम्बन्धको बुझाइसँग जोडिन्छ ।
मानव समाज विभिन्न चरण हुँदै अघि बढ्यो । कृषियुगले स्थायित्व ल्यायो तर भूमि स्वामित्वसँगै शक्ति केन्द्रीकृत भयो । औद्योगिक युगमा मेसिनले उत्पादन त बढायो तर श्रम अनुशासित र नियन्त्रित बन्यो । यसै क्रममा श्रमिक र पुँजीबिचको विभाजन स्पष्ट हुँदै गयो र सामाजिक समस्या व्यक्तिगत असफलताबाट होइन, संरचनात्मक असन्तुलनबाट जन्मिने यथार्थ स्थापित भयो ।
सूचना प्रविधिको विकाससँगै श्रमको स्वरूप फेरि बदलियो । काम अब कारखाना वा कार्यालयमा सीमित रहेन । डिजिटल उपस्थिति, डाटा उत्पादन र प्लेटफर्म आधारित श्रम नयाँ वास्तविकता बने । प्रविधि तटस्थ साधन रहेन । यसले अवसर, पहुँच र असुरक्षाको रेखा कोर्न थाल्यो । अहिलेको वास्तविकता शक्ति राज्य वा पुँजीपतिमा मात्र होइन, नियम, प्लेटफर्म र अदृश्य प्रणालीभित्र सरेको छ ।
यही सन्दर्भमा आजको राजनीति चुनौतीमा परेको छ । जब निर्णय प्रणाली अपारदर्शी हुन्छन्, तब जवाफदेहिता कमजोर हुन्छ† जब श्रम टुक्रिन्छ, तब सुरक्षा हराउँछ । इतिहासले देखाएको छ, शक्ति नयाँ रूपमा केन्द्रित हुँदा राजनीति पुरानै भाषामा सीमित रह्यो भने असमानता गहिरिन्छ ।
यस अवस्थाको उत्तरका रूपमा जनवादी डिजिटल समाजवाद प्रस्तुत हुन्छ । यो न त अतीतप्रतिको नोस्टाल्जिया (पुरानो सम्झनाको मिठो मोह) हो, न कुनै चल्ती फेसन । यो श्रम, प्रविधि र लोकतन्त्रबिच सन्तुलन पुन:स्थापित गर्ने व्यावहारिक प्रयास हो ।
यहाँ जनवाद भनेको केवल मतदान होइन, निर्णय लिने हरेक प्रक्रियामा जनताको वास्तविक पहुँच र सहभागिता हो । समाजवाद भनेको राज्यले सबै कुरा कब्जा गर्ने होइन, उत्पादनका साधन (जमिन, कारखाना, औजार) र डिजिटल संरचना† जस्तै : अन्तरेट (विश्वव्यापी नेटवर्क जसले फेसबुक, गुगल आदि जोड्छ), एप (टिकटक, व्हाट्सएपजस्ता मोबाइल सफ्टवेयर) र डाटा (हाम्रो लाइक, सर्च, फोटोजस्ता व्यक्तिगत जानकारी) माथि सबै जनताको साझा जिम्मेवारी र नियन्त्रण हो । डिजिटल शब्दले यो यथार्थ स्वीकार्छ, आज शक्ति डाटा, प्लेटफर्म र प्रविधिमार्फत सञ्चालन भइरहेको छ, जसलाई हामी सबैले सँगै सम्हाल्नुपर्छ ।
सङ्क्षेपमा जनवादी डिजिटल समाजवाद भनेको प्रविधिको युगमा जनतालाई शक्तिशाली बनाउने बाटो हो, जहाँ कामदारको श्रम सम्मानित हुन्छ, प्रविधि सबैको हातमा पुग्छ र निर्णय प्रक्रिया लोकतान्त्रिक बन्छ । यो न पुरानो सपना हो, न नयाँ ट्रेन्ड हो, त केवल आजको आवश्यकता ।
यस दृष्टिकोणको मूल मान्यता स्पष्ट छ । सामाजिक समस्या व्यक्तिको कमजोरीबाट होइन, संरचनाबाट उत्पन्न हुन्छन् । त्यसैले समाधान उपदेश वा नाराबाट होइन, नीति र प्रणालीको पुनर्गठनबाट खोजिनुपर्छ । पारदर्शिता यहाँ सस्तो शब्द होइन, यो लोकतन्त्रको आधार हो । निर्णय कसरी भयो र त्यसले कसलाई के असर गर्यो भन्ने कुरा सार्वजनिक बहसको विषय हुनुपर्छ । असहमति कमजोरी होइन, सुधारको स्रोत हो ।
डिजिटल श्रम यसै सन्दर्भको महत्त्वपूर्ण पक्ष हो । हाम्रो समय, डाटा र अनलाइन व्यवहारबाट मूल्य सिर्जना हुन्छ तर त्यसको लाभ सीमित व्यक्ति या संस्थाको हातमा केन्द्रित हुन्छ । जनवादी डिजिटल समाजवादले श्रमको यो नयाँ रूपलाई देखिने बनाउँछ र श्रमिकको अधिकारलाई डिजिटल क्षेत्रमा पनि विस्तार गर्छ ।
ग्लोबल साउथका समाजमा यी प्रश्न अझ पेचिला छन् । प्रविधि आयात हुन्छ तर नियन्त्रणबाहिर रहन्छ । श्रम निर्यात हुन्छ तर मूल्य फिर्ता आउँदैन । प्लेटफर्महरू शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रवेश गर्छन् तर स्थानीय समाजप्रति जबाफदेही हुँदैनन् । यसले आर्थिक निर्भरता मात्र होइन, राजनीतिक निर्भरता पनि बलियो बनाउँछ । डिजिटल पूर्वाधार बाह्य नियन्त्रणमा रहँदा लोकतन्त्र औपचारिक अभ्यासमा सीमित हुने जोखिम बढ्छ ।
यस्तो अवस्थामा जनवादी डिजिटल समाजवाद कुनै आदर्शवादी नारा होइन, यो श्रम, प्रविधि र निर्णय प्रक्रियालाई पुन: सार्वजनिक नियन्त्रणमा ल्याउने प्रयास हो । प्लेटफर्म सहकारिताजस्ता मोडेल (विकिपिडिया, लिनक्स सफ्टवेयर, क्राउड फन्डिङ प्लेटफर्म† जस्तै : किकस्टार्टर वा नेपाली सहकारी एप) ले देखाउँछन्, प्रविधि केही व्यक्तिको नाफाका लागि होइन, सामूहिक हितका लागि पनि सञ्चालन हुन सक्छ ।
लोकतन्त्र यहाँ एकपटक सम्पन्न हुने प्रक्रिया होइन, यो निरन्तरको अभ्यास हो । शक्ति सधैँ प्रश्नको दायरामा रहनुपर्छ । जनवादी डिजिटल समाजवादले लोकतन्त्रलाई मतदान केन्द्रबाट कार्यस्थल, डिजिटल प्लेटफर्म र सार्वजनिक सेवासम्म विस्तार गर्न खोज्छ । यही कारण यो आजको युगमा व्यावहारिक वैकल्पिक राजनीतिक दृष्टिकोणको रूपमा देखा पर्छ ।
निष्कर्षमा जनवादी डिजिटल समाजवाद अन्तिम उत्तर या गन्तव्य होइन । यो निरन्तर प्रश्न गर्ने साहस हो । प्रविधिलाई प्रश्न गर्ने, शक्तिलाई देखिने बनाउने र लोकतन्त्रलाई श्रम र मानवीय मर्यादासँग पुन:जोड्ने साहस । यसको बल पूर्णतामा होइन, जिम्मेवार अभ्यासमा छ । जनवादी डिजिटल समाजवाद यही अभ्यासको नाम हो ।
२०८२ पुस २१ गते