दीप गोले तामाङ ##
नेपालमा हरेक वर्षको हजारौँ दीक्षान्त कार्यक्रम हुन्छन् । मञ्च सिँगारिन्छ । गाउन, स्कार्फ लगाइन्छ । टोपी चङ्गाझैँ आकाशमा उडाइन्छ । ताली बज्छ । शिक्षामन्त्रीको भाषण हुन्छ ।
शपथ खुवाइन्छ । “देशको भविष्य तपाईंको हातमा छ” तर दीक्षान्त कार्यक्रम सकिनसाथ त्यो भविष्य बेरोजगारीको लाइनमा उभिएको हुन्छ । उनीहरू विदेश जाने टिकट खोज्छन् वा चिनजान र सिफारिसको ढोका ढकढक्याउन पुग्छन् । यहीँ विरोधाभास छ । नेपालमा जसलाई दीक्षान्त भनिन्छ तर वास्तवमा त्यो शिक्षाप्रणालीले युवाहरू बेच्ने औपचारिक समारोह मात्रै बन्दै गएको छ ।
२०८२ सालको एकाउन्नौँ दीक्षान्त समारोह पनि उस्तै झल्काउने कार्यक्रम मात्र बन्यो । स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिका विद्यार्थी त्यहीँ टोपी उडाउने । त्यहीँ प्रमाणपत्र लिने । पुरस्कार थाप्ने । फोटो खिच्ने । सामाजिक सञ्जालमा बधाई तथा शुभकामना व्यक्त गर्ने कामभन्दा फरक केही देखिएन । प्रत्येक वर्ष विभिन्न तहका सर्वोकृष्ट, उत्कृष्ट डाक्टर उपाधि ग्रहण गर्दै गर्दा नेपालको शिक्षाको नीतिगत कुरामा केही चिन्ता व्यक्त गरेको पाइँदैन । यसले गर्दा हाम्रो देशको शिक्षाप्रणाली प्रमाणपत्र बोकेर बस्नुबाहेक अरू उपलब्धि भएको छैन ।
दीक्षान्त ज्ञानको विजयोत्सव हुनुपर्ने हो तर आज नेपालमा त्यहीँ गाउन, स्कार्फ, टोपी र दीक्षित भ्रमको प्रमाणपत्र हातमा थमाइदिनेजस्तो समारोह बनेको छ । पढाइले चेतनाको विकास गर्नुपर्ने हो । व्यवहारमा परिपक्वता हुनुपर्ने हो । निडर हुनुपर्ने हो । पढाइले आज आज्ञाकारी र चाकरी गर्न सिकाएको छ । विश्वविद्यालयले एउटा प्रश्न गर्न सक्ने नागरिक होइन, चुपचाप नबोली काम गर्ने कामदार उत्पादन गरिरहेको छ ।
नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयका प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा दशरथ रङ्गशालामा भएको समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको विशिष्ट आतिथ्यमा अन्य शिक्षाविद्को उपस्थितिमा १६ हजार ३ सय ८० भन्दा बढी दीक्षित भएका थिए । त्यसमा १५२ जना विद्यावारिधिबाट दीक्षित हुनुभएको थियो । स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिका विद्यार्थी जितको खुसी साट्दै गरेको देखिन्थ्यो भने कोही कार्यक्रमको कमीकमजोरी बारेमा बोलेको देखिन्थे । कोही पिठ्युँमा बच्चा बोकेर कार्यक्रममा सहभागी भएका देखिन्थे । कतिपय विद्यार्थी दीक्षान्त कार्यक्रममा दीक्षित हुन ऋण काढेर उपस्थित भएको देखिन्छ ।
एकाउन्नौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिवि उपकुलपति तथा शिक्षामन्त्री महावीर पुनले भन्नुभएको थियोे– एक्काइसौँ शताब्दीको विश्वले अब तपाईंसँग कुन डिग्री छ भन्दा पनि तपाई के गर्न सक्नुहुनेछ भनेर सोध्नेछ । त्यसैले आफूलाई सधैं प्रश्न गर्नुहोस् । तपाईंको ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ ? विचार गर्नुहोस् । तपाईंको काँधमा यो देश अडिएको छ । यसरी भाषणमा मात्र सीमित गरिरहेका छन् ।
दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले दीक्षित व्यक्तिलाई शपथ खुवाउँदै गर्दाको त्यो क्षणमा केही विद्यार्थी पत्रकारको प्रश्नमा “नेपालमा गतिलो कमाइ छैन” भन्न पुगे । यो भनाइले बुझ्न सकिन्छ, प्रधानमन्त्रीले खुवाएको शपथले कुनै काम गरेको देखिन्न । नेपालमा बसेर आफ्नो कुनै पनि रूपमा भविष्य निर्माण गर्न नसकिने शिक्षा दिएको त हैन ? हामी कुन रूपमा दीक्षित भयौँ ? कुन दिशातिर ? अबको यात्रा कता ? केही थाहा छैन ।
यसरी हेर्दा यो दीक्षान्त समारोह एक औपचारिक कार्यक्रम पूरा गर्नेबाहेक केही बन्न सकेन । प्रमाणपत्रको भारी र भोको पेटको खालीपनले नेपालको दीक्षान्त मञ्चमा सजिएर बसेका विद्यार्थीलाई मेरो प्रश्न :
के तपाईंको डिग्रीले घरको चुलो बाल्छ ?
के तपाईंको मेरिटले रोजगारीको ग्यारेन्टी दिन्छ ?
के तपाईंको यो शिक्षाले देशको विकास गर्छ ?
के सिपले तपाईंलाई देशमा बाँच्न र बस्न दिन्छ ?
यस्ता थुप्रै प्रश्न हरेक वर्ष दीक्षान्तपछि हजारौँहजार विद्यार्थी विदेशतिर पलायन हुन बाध्य छन् । यो व्यक्तिगत चाहना मात्र नभएर यो राज्यको पलायनको नीतिले दीक्षान्त समारोह असफलताको प्रतिवेदन बन्दै गएको छ । यदि दीक्षान्त सफल हुन्थ्यो भने एयरपोर्टमा यति धेरै युवाको सपना बिदाइ हुँदैनथ्यो ।
दीक्षान्त एक मौन राजनीति कार्यक्रममा बोल्ने प्रमुख अतिथि प्राय:जसो सत्तासँग जोडिएका हुन्छन् । यसरी उनीहरू उपदेश दिन्छन्– “धैर्य गर, मिहेनत गर समय बदलिन्छ” तर उनीहरू कहिल्यै भन्दैन :
किन शिक्षा निजीकरण भयो ?
किन विद्यालय विश्वविद्यालयमा राजनीतिक भर्ती केन्द्र बनेका छन् ।
किन योग्यताभन्दा पनि नातावाद बलियो छ ?
यी प्रश्न दीक्षान्त समारोहमा कहिल्यै उठेनन् किनकि प्रश्न गर्ने आड कोहीसँग छैन बरु सोच्ने गरेको छ ्र: यहाँ दीक्षान्त भनेको सोचको अन्त्य गराउने प्रक्रिया बनाइएको छ ।
साँचो अर्थमा भन्ने हो भने दीक्षान्त भनेको प्रमाणपत्र पाउनु प्रमुख विषय होइन । दीक्षान्तको अर्थ हो– अन्याय, अत्याचार चिन्ने, बुझ्ने र ती अपराधीका कुरालाई अस्वीकार गर्ने एक मात्र साहसको रूपमा लिनुपर्छ यद्यपि दीक्षान्तपछि पनि हामी भ्रष्टाचार, कुशासन देखेर चुपचाप बसिन्छ भने शोषण देखेर, सहेर केही गर्न सक्दैनौँ भने र अन्यायलाई सामान्य ठानिन्छ भने त्यो दीक्षान्त नभएर आत्मसमर्पणको खोस्टो बोकेको हुनेछ ।
नेपालमा आगामी दीक्षान्त समारोहले यो कुरा सिकाओस्, जहाँ विद्यार्थीलाई जागिर खोजीमा मात्र होइन, व्यवस्था बदल्न, सोच्न सिकाइयोस्† जहाँ डिग्री प्रमाणपत्र होइन, मानवता र उत्तरदायी बन्न सिकाइयोस्† जहाँ शिक्षा बजारीकरण होइन, सरोकारवाला, अधिकार लिन सिकाइयोस् । जहाँ प्रश्न गर्दा अपराधीको रूपमा नहेरियोस् । जहाँ आफ्नो देशलाई सधैँभरि प्राणभन्दा बढी माया गर्न सिकाइयोस् । यो खालको चेतनाको विकासले नै मुलुकको भविष्य सुन्दर बनाउन सकिन्छ । अहिलेको परिस्थितिमा धेरैभन्दा धेरै विद्यार्थी अवसरवादी, अनैतिक, व्यक्तिवादी चिन्तन, राष्ट्रप्रति घात गर्ने विद्यार्थीको सङ्ख्यामा धेरै छ ।
अब आउने दिनमा दीक्षान्त समारोह दशरथ रङ्गशालाको त्यो खुल्ला मञ्चमा फूल, ताली र फोटो बन्द गरी दीक्षान्त अन्तिम बिदाइ होइन, अझ दक्ष, सक्षम र स्वाभिमान नागरिक बन्ने सम्झनालायक दिन बनाउनुपर्छ । यो दीक्षान्त समारोह कार्यक्रमले शिक्षालाई केवल पलायनको सिढी नबनाई अझ सशक्त रूपमा देशको विकासमा जोड दिएर बाटो देखाउनुपर्छ ।
शिक्षा भनेको मुलुक परिवर्तनको मेरुदण्ड हो । अबको शिक्षा नीति वैज्ञानिक तथा व्यावहारिक बनाउन जरुरत छ । आज नेपाललाई प्रत्येक वर्ष डिग्रीधारी उत्सव होइन । सभ्य, सजग, निर्भीक, दीक्षित, नैतिकवान्, राष्ट्रप्रेमी र इमानदार नेतृत्वको जन्म गराउने दीक्षान्त हुनुपर्दछ ।