काठमाडौँ । अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाइन दर्ता रोक्ने सङ्केत गर्नुभएको छ ।
सूचना तथा प्रसारण विभागले प्रकाशन गरेको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्रीसमेत रहनुभएका खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताउनुभएको छ । अहिले प्रतिदिन एउटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा सङ्ख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो– ‘एक दिनमा एउटा अनलाइन दर्ता हुने गरेको रहेछ, यसरी कसरी होला ? कति अनलाइन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाइन चाहिने हो कि ? क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराइ र चौडाइमा जाने हो कि सङ्ख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’
खतिवडाले कोरोना सङ्क्रमणका कारण सञ्चार माध्यममा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । बैङ्कबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसलाई अन्य सेवाक्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो ।