काठमाडौँ । आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा राजनीतिक दलहरूको दर्ताबारे एवं छानिविन तय गरिएको छ । आयोगको पुस ८ गतेको निर्णय अनुसार छ दलहरू खारेज भएका छन् ।
आयोगले पुस ८ गते जारी गरेको पत्रअनुसार आगामी राष्ट्रिय सभाको निर्वाचनमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), माओवादी जनमुक्ति पार्टी नेपालले उमेदवारी दिन पाउनेछैनन् ।
आयोगद्वारा जारी सुचना अनुसार प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ। पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।
उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेने व्यवस्था रहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम बमोजिम मतदाता नामावलीसम्बन्धी अन्य क्रियाकलाप सञ्चालन हुने आयोगले सुचना सार्वजनिक गरेको छ।
निर्वाचन अगामी माघ ११ गते सम्पन्न गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

