नेपाल फेरि ऐतिहासिक मोडमा उभिएको छ । राष्ट्रिय स्वाधीनता, राज्यको स्थिरता, लोकतान्त्रिक निरन्तरता र समाजवादी मार्गमा प्रगतिको यात्रामाथि बहुआयामिक चुनौतीहरू सक्रिय भएका छन् । यी चुनौतीहरू केवल आन्तरिक राजनीतिक कमजोरी वा दलगत प्रतिस्पर्धामा सीमित छैनन्, बरु अन्तर्राष्ट्रिय शक्ति संरचनाले नेपाललाई लक्षित गर्दै आफ्नो स्वार्थ लागू गर्ने प्रयास हो भन्ने कुरामा दुइमत छैन ।
साम्राज्यवादी शक्तिहरू—जसको चरित्र कहिल्यै परिवर्तन हुँदैन, फेरि पनि नेपालमा स्थापित प्रगतिशील जनमतलाई खण्ड–खण्ड पार्ने, सामाजिक–आर्थिक प्रगतिको बाटोमा अवरोध खडा गर्ने र राज्यसत्ताको निर्णयक्षमतालाई कमजोर पार्ने प्रयासमा छन् । आजको विश्व व्यवस्था पूँजीवादी मोनापोली, भू–कूटनीतिक प्रतिस्पर्धा, असमान आर्थिक संरचना र सूचना–प्रभावनाको सर्वाधिकारवादी मञ्चमा रूपान्तरण भइसकेको छ । यस अवस्थामा साना राष्ट्रहरूलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने, उक्साउने, विभाजन गर्ने र अस्थिर पार्ने प्रवृत्ति साम्राज्यवादी राजनीतिमा नियमित अभ्यास भैरहेको छ । नेपाल पनि यस प्रक्रियाको प्रयोगशाला जस्तो देखिन्छ ।
बहुराष्ट्रिय दबाब र साम्राज्यवादी हस्तक्षेप :
साम्राज्यवाद अब केवल आर्थिक घुसपैठमा सीमित छैन । नीति निर्माणमा प्रभाव जमाउने प्रयास, विदेशी ‘थिंक ट्यांक’हरूको सक्रियता, विकासका नाममा असमान सम्झौता थोपर्ने प्रयास जस्ता धन्धाहरू नेपालमा जारी छन् ।
भूराजनीतिक प्रतिस्पर्धाले नेपाललाई चीन, भारत, अमेरिका त्रिकोणीय तनावको ‘बफर–थिएटर’ मा परिणत गरेको छ । कुनै निर्णयलाई चीन–विरोधी, भारत–विरोधी वा अमेरिका–विरोधी भनेर वर्गीकृत गरेर राज्यसत्तालाई दिशाहीन बनाउने यही साम्राज्यवादको स्थायी रणनीति हो ।
साम्राज्यवादी हस्तक्षेप सफल हुनुको प्रमुख कारण भनेको नेपालभित्रै राजनीतिक दलहरू—विशेषतः कम्युनिस्ट शक्तिहरू एकीकृत नभई परस्पर विरोधमा अल्झिएर रहनु हो । आन्तरिक विखण्डन र नेतृत्वगत अहंकारले राष्ट्रहितभन्दा व्यक्तिगत स्वार्थलाई माथि राख्ने प्रवृतिले देशभित्र स्थायित्वको अभाव सिर्जना गर्दछ ।
कम्युनिस्ट आन्दोलन : ऐतिहासिक दृष्टान्त :
इतिहासले देखाउँछ कि कम्युनिस्ट आन्दोलनले जब–जब एकीकृत भएर अघि बढ्यो, प्रतिक्रियावादी शक्तिहरू पराजित भए, जनमत सुदृढ भयो र समाजवादी मार्गले वास्तविक गति पायो । तर त्यो केबल सैद्धान्तिक कुरा मात्र भएको छ ।
२००६ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, सामाजिक समावेशीकरण, भूमि–समानताको बहस र राज्यसत्ताको लोकतान्त्रीकरण, यी उपलब्धिहरू संयुक्त कम्युनिस्ट आन्दोलनको योगदानबाट सम्भव भएका थिए । तर आजका कम्युनिस्ट धारा फरक–फरक विचार, प्रवृत्ति र आन्तरिक प्रतिस्पर्धामा अल्झिएका छन् । सत्ता–केन्द्रित विवादलाई सङ्गठनात्मक मूल्य भन्दा माथि राख्नुले राष्ट्र र जनताको भविष्यमा प्रत्यक्ष खतरा उत्पन्न गरेको छ ।
आन्तरिक कमजोरी र बिघटन :
नेतृत्वमा विकसित सत्ता–मोह, व्यक्तिगत अहङ्कार, अवसरवादी गठबन्धन र सङ्गठनभित्रको दम्भले संयुक्त शक्ति बिखण्डन गरेको छ । यस बिखण्डनको प्रत्यक्ष फाइदा प्रतिक्रियावादी, दलाल–पूँजीवादी र साम्राज्यवादी शक्तिहरूले उठाइरहेका छन्। यदि कम्युनिस्टहरू अलग–अलग उभिए भने बाह्य हस्तक्षेप बलियो हुन्छ; एकता भए भने यो हस्तक्षेप कमजोर हुन्छ। यही बस्तुगत सत्य हो।
नेपालमा कम्युनिस्ट आन्दोलन कमजोर हुनु भनेको केवल थोरै दल कमजोर हुनु मात्र होइन; सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, वैकल्पिक आर्थिक विकास मोडेल र समाजवादी भविष्य कमजोर हुनु पनि हो ।
बर्ग समाजको रुपान्तरण र चुनौती :
नेपालमा वर्ग–संरचना रूपान्तरण हुँदैछ । कृषि–आधारित समाज बजार–आधारित समाजमा परिणत हुँदैछ । ठूला–ठूला कारपोरेट समूहहरू जन्मिएका छन् । श्रमिक, किसान र मध्यम वर्गबीच अन्तराल बढ्दैछ । युवाहरू बाहिर पलायन भइरहेका छन्, गाउँहरू जनशून्य बन्दैछन्, उत्पादन प्रणाली कमजोर छ ।
यस्तो परिवेशमा समाजवादी मार्ग अघि बढाउन बलियो नेतृत्व आवश्यक छ । नेतृत्व बलियो हुन आन्तरिक विघटन होइन, सामूहिकता चाहिन्छ । बिखण्डित कम्युनिस्ट आन्दोलनले वर्ग–समाजको रूपान्तरण र चुनौतीहरू सम्बोधन गर्न सक्दैन तर संयुक्त मोर्चाले यसलाई नीति र व्यवहारमा प्रतिविम्बित गर्न सक्छ । त्यो आजको ज्वलन्त आबस्यक्ता हो ।
आत्म बिस्लेसण र सङ्गठनात्मक अनुशासन :
कम्युनिस्टहरूले अब पनि फरक–फरक उभिने कि राष्ट्रिय हितमा शक्तिशाली एकीकृत ध्रुव निर्माण गर्ने ?
सबैभन्दा पहिलो कदम हो—आत्म–विश्लेषण । अतीतका गल्तीहरू, विभाजनका कारणहरू, नेतृत्वका कमजोरी र विचारगत अस्पष्टता मूल्याङ्कन गर्नुपर्छ । बदलिँदो विश्व व्यवस्थामा मार्क्सवादी विश्लेषणलाई अधिक वैज्ञानिक, आधुनिक र व्यावहारिक बनाउनु अपरिहार्य छ ।
विचारमा स्पष्टता आउँदा सङ्गठनमा अनुशासन बलियो हुन्छ, सङ्गठन बलियो हुँदा संयुक्त मोर्चा प्रभावकारी हुन्छ । कम्युनिस्ट आन्दोलन केवल चुनावी गठबन्धन होइन, यो जन–सङ्गठन, वर्ग–चेतना, सिद्धान्त, इतिहास र संघर्षको निरन्तरतामा आधारित हुनु पर्दछ ।
संविधान र ऐतिहासिक उपलब्धिको संरक्षण :
नेपालको संवैधानिक संरचना प्रगतिशील छ । तर संविधानमाथि आक्रमण गर्ने शक्तिहरू निरन्तर सक्रिय छन् । कहिले सङ्घीयता हटाउने बहानामा, कहिले धर्मको बाहानामा, कहिले विकासको बाहानमा । अरु सबै बहानामा आफु सत्तामा जाने र देशलाइ अस्थिर बनाउने कुरा हुन । सङ्घीयता हटाउने कुरा सहि छ तर त्यो सित एकात्मक केन्द्रीकृत राज्य बनाउने र राजसस्था ल्याउने कुरा जोडिनु गलत छ । यी सबै ॅप्रतिगामी परियोजना’ रोक्न एकीकृत प्रगतिशील मोर्चा अपरिहार्य छ । धर्मनिरपेक्षता, गणतन्त्र र समाबेसिता यी ऐतिहासिक उपलब्धि हुन्, कुनै पार्टीको निजी उपलब्धि होइन । इतिहासले देखाउँछ—ऐतिहासिक उपलब्धिलाई जोगाउने शक्ति एकीकृत कम्युनिस्ट शक्ति हो ।
निष्कर्स :
अबको मुख्य प्रश्न सत्ता होइन राष्ट्र हो । व्यक्तिगत आकांक्षा होइन विचारको महत्व हो । एकताको शैली होइन एकताको सार हो । समान विचार, ऐतिहासिक दायित्व र राष्ट्रिय हितलाई ध्यानमा राखेर कम्युनिस्ट शक्तिहरू एकीकृत हुनैपर्छ । यो केवल आवश्यकता होइन ऐतिहासिक बाध्यता पनि हो ।
नेपालले फेरि नयाँ वैचारिक ऊचाइ चुम्ने बेला आएको छ । साम्राज्यवाद, दलाल–पूँजीवाद, सांस्कृतिक हस्तक्षेप, आर्थिक निर्भरता र राजनीतिक अस्थिरताका सबै दबाबसँग जुझेर अघि बढ्ने क्षमता केवल जन–चेतनामा आधारित कम्युनिस्ट आन्दोलनसँगै सम्भव छ ।
नेपाली कम्युनिस्टहरूले अब ‘फरक देखिने’ होइन राष्ट्रलाई’ बलियो देखिने’ बनाउनु छ । व्यक्तिगत गुट होइन सामूहिक ध्रुव निर्माण गर्नु छ । एकताको नाममा सौदेबाजी होइन सिद्धान्तमा आधारित ऐतिहासिक सहमति बनाउनु छ । देशले अपेक्षा गरेको नेतृत्व यही हो । इतिहासले मागेको निर्णय यही हो । भावी पुस्ताले खोज्ने उत्तर पनि यही हुनेछ । एकताबद्ध, दृढ, बौद्धिक, जन–केन्द्रित र राष्ट्र–निर्माणमा समर्पित कम्युनिस्ट शक्ति । यो बेगर देशमा स्थायित्व, समृद्धि र बिकाशको कुरा सत्ता पलट र स्वार्थ समुह फेर्ने बाहेक केहि हैन । अहिले कम्युनिस्ट एकता र कम्युनिस्ट दम्भका रुपमा जे जे देखिदै छ । त्यो त्यहि स्वार्थ सिद्धी मात्र हो ।