महोत्तरी । सीप र कला जातसँग होइन, गर्व गर्नु पर्दछ । यसको एउटा उदाहरण हुन् दमाहा बजाउँदै गर्दा गर्व महसुस गर्ने निरु पौडेल । उनी दमाहा बजाउँदै आएकी बर्दिबास–३ पाटुकी निवासी हुन् । विगतमा दलित समुदाय त्यसमा पनि खासगरि परियारहरूले प्रयोग गर्दै आएका पञ्चेबाजा यतिवेला महोत्तरीमा ‘समावेशी सामुदायीक नौमति पञ्चेबाजा समुह’ सञ्चालन गरिएको छ । जसमा जात र लिङ्गको रुपमा नभएर कलाको भएका व्यक्तिहरूलार्ई समावेश गरिएको छ ।
निरु पौडेल भन्छिन्– “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुबै पाएकी छु ।”
पञ्चे बाजा समूहमा निरु मात्र छैनन् । क्षेत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिलाहरू पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कला हो ।
यसमा पोख्त सबै मिलेर ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यवसायिक रुपमा बाजा बजाउँदै आएका छन् । “हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्यसैले यसको नाम नै ‘समावेसी’ शब्दबाट सुरु गरेका हौँ,” समूहका अध्यक्ष रमेश पौडेल खत्री भन्छन्– “यहाँ सीप र कलाको कुरा हुन्छ ।”
पाटु बस्तीका १५ जनाले सुरु गरेका यो समूहलाई मङ्सिर लागेयता फुर्सद छैन । “हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनौँ, जम्मा १५ जना छौँ, एकै समयमा बाँडिएर दुई ठाउँसम्म भ्याएका छौँ”, अध्यक्ष खत्रीले भने– “कोही कुरा काट्ने पनि होलान्, तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सदै पो छैन ।” यो १५ जनाको समूहमा आठ जना महिला छन् ।
समूहमा भाले दमाहावादक सुभद्रा कार्की यो काम व्यवसायमात्र नभएर एउटा विद्रोह पनि भएको बताउँछिन् । “हाम्रो पारम्परिक समाजमा महिलाले यो गर्नु हुँदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले ‘दमाहा’ समाएका छौँ, परम्परागत समाजमा यो विद्रोह पनि हो”, उनी भन्छिन्– “अब निरन्तर हामी काममा लागेपछि टिप्पणी गर्ने हराउँदै गएका छन्, हामी व्यवसायी बनेका छौँ ।”
समूहकी भीममाया क्याप्छाकी मगरले सहनाई बजाउन थालेपछि सबै दर्शक मुग्ध देखिन्छन् । “हैन, कस्तो राम्रो मिलेको यिनीहरूको सुरताल”, बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले भने– “यिनीको कामप्रतिको समर्पण र लगाव तारिफ योग्य छ ।”
केही महिना पहिलेमात्र समूह विधिवत बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारले शुल्कमा पनि आफ्नो स्थानीयलाई विशेष छुट दिने गरेका छन् । बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबास नगरपालिकाका अन्य १३ वडामा ५५ हजार र बर्दिबास बाहिर जानुपरेमा ६५ हजार रुपैयाँ शुल्क तोकेका छन् ।
यो समूहमा आबद्ध भएदेखि घरायसी खर्चको जोहोका लागि कसैलाई गुहार्नु नपरेको झ्यालीवादक जानुका विक बताउछन् । “मधेसका सबै जिल्ला पुग्यौँ, जहाँजहाँ पुग्छौं, त्यहाँ हामीलाई बोलाउँछन्,” समूहकी सहनाइवादक अञ्जना तामाङले भने, “मान्छेको मायामाले कामप्रति झन् उत्साह बढाएको छ ।” मधेसका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र वागमतीको सिन्धुलीका कैयन समारोहमा सरिक भइसकेको उनले जानकारी दिए ।