इस्लामावाद । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।
औद्योगिक सहर फैसलाबादमा स्थानीय समयअनुसार बिहान लगभग ५:३० मा विस्फोट भएको थियो भने विस्फोटले ठुलो आगलागी निम्त्याउँदा कारखानानजिकैको अन्य सुविधामा फैलिएको प्रहरीले जनाएको छ ।
अग्निनियन्त्रक तथा दमकलकर्मीको संयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरमा पुग्नबाट रोकेको पनि बताइएको छ ।
प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरको पर्खाल तथा छत खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिस क्षतिग्रस्त घरका बासिन्दा रहेका छन् ।
घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको तथा उनीहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उद्धार कार्य जारी रहेको उल्लेख गर्दै धेरै मानिस कारखानाभित्र फसेको अनुमान गरिएको हुनाले हताहतको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ । (रासस/सिन्ह्वा)