काठमाडौं । वृहत कम्युनिस्ट एकताको नारा दिएका नेत्रविक्रम चन्द विप्लवको माओवादप्रतिको मोह छुटेन । अन्ततः चन्दले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नाम राखेर दल दर्ता मात्र गरेनन्, उनले प्रमाणपत्र र चुनाव चिन्ह समेत पाएका छन् । यसैसँगै विप्लवको वृहत कम्युनिस्ट एकताको नारामा पनि करिब करिब पूर्णविराम लागेको देखिन्छ ।
निर्वाचन आयोगले सोमबार नेकपा (माओवादी)लाई दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह गुलाब दिएको छ ।
दल दर्ताको प्रमाणपत्र पाएसँगै हौसिएका विप्लवले पत्रकारहरूसँग प्रतिक्रिया दिंदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताए ।
गत वर्ष सम्पन्न महाधिवेशनबाट मोहन वैद्य (किरण) को माओवादप्रतिमो मोह छुटेको देखिएता पनि उक्त पार्टीको आन्तरिक कलह अहिले पनि माओवाद र माओविचारधारा अन्तर्गत नै रहेको छ ।
त्यस्तै माओवादी पृष्ठभूमिबाट स्थापित भएका अधिकांश पार्टीहरूले माओवाद छाडिसकेका छन् । हालै मात्र प्रचण्डले पनि नेपाली कम्युनिस्ट पार्टी गठन गरेसँगै माओवादीप्रतिको कडी छुटेको छ ।