काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई २०८२ मङ्सिर १ गते सोमबार मध्यराति पक्राउ गरेको हो ।
मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका प्रसाईंलाई हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
यससँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । प्रसाईंका समर्थकले मङ्गलबार पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसअघि २०८१ चैत १५ गतेको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।
राजावादी गतिविधिमा संलग्न प्रसाईं बैङ्कबाट लिएको ऋण मिनाहा गरिदिनुपर्नेलगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
जेनजी आन्दोलनलगत्तै वार्ताको क्रममा प्रसाईंको सेनासित उठबसजस्ता अस्वाभाविक गतिविधि देखिएको थियो ।
