काठमाडौँ । सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको हो ।
योजना अनुसार एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी आवश्यक पर्ने र ती प्रहरी कति समयका लागि भर्ना गर्ने भन्ने बजेट अनुसार हुनेछ ।
‘हामीले आवश्यक संख्याको कुरा गरेका छौँ । अब यसमा सरकारले दिने बजेट अनुसार कति समयका लागि खटाउने भन्ने निर्णय हुन्छ,’ केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका अधिकारीहरू सहभागी थिए ।