महेश रिजाल, भालुवाङ (दाङ) ।
दाङको गढवा गाउँपालिका वडा नं. १ बडहरामा उद्योगलाई आवश्यक सहयोग पुग्ने गरी वनसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
गोबरडिया काष्ठ तथा फर्निचर उद्योगका सेयर सदस्य तथा सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले २०८२ कात्तिक २६ र २७ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
काष्ठ तथा फर्निचर उद्योगलाई कसरी सुरक्षित, स्वास्थ्य र वातावरणमैत्री रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सो तालिम सम्पन्न भएको बताइएको छ ।
यस अवधिमा उद्योगका सञ्चालक, कर्मचारी एवम् सामुदायिक वन समूहका सदस्यलाई सुरक्षा, स्वास्थ्य तथा वातावरण उद्यम सञ्चालनबारे तालिम दिइ्रएको थियो ।
गढवा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमको अध्यक्षता उद्योगका अध्यक्ष एवम् कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले गर्नुभएको थियो ।
उक्त समारोहलाई सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरि भुसाल, विज्ञ प्रशिक्षक विजय जिसी र कानुनविद तेजप्रसाद पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।
होटल इभरल्यान्डमा उद्घाटन भई कुलपानी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय बडहरामा सम्पन्न उक्त कार्यक्रममा ४० जना सेयर सदस्य र सञ्चालक समितिका सदस्यको सहभागिता रहेका थियो ।
