दीप गोले तामाङ ##
२०८२ असोज २६ र २७ गते “सम्पूर्ण आदिवासी जनजाति एक होऔँ” भन्ने नाराका साथ अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भयो । महाधिवेशनको अर्को नारा “प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष, गणतन्त्र, धर्मनिरपेक्षता रक्षाका लागि हाम्रो आन्दोलन : जनजाति समस्या समाधानका लागि वर्गीय सङ्घर्षको पक्षमा पाँचौँ राष्ट्रिय महाधिवेशन” थियो । महाधिवेशनको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो । पानसमा बत्ती बालेर अध्यक्ष केसीले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
सायद नेपालको इतिहासको सबैभन्दा सङ्कटपूर्ण अवस्थामा जनजाति सम्मेलनको यो महाधिवेशन आयोजना गरिएको थियो । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछाडिको सबैभन्दा ठुलो कार्यक्रम जनजाति सम्मेलनले सम्पन्न गरेको थियो । यस्तो अवस्थामा महाधिवेशन सम्पन्न गर्नु ठुलो चुनौतीको काम थियो तर त्यो चुनौतीलाई छिचोल्दै देशभरिबाट ठुलो सङ्ख्यामा जनजाति प्रतिनिधिको सहभागिता रहेको थियो । तिनै प्रतिनिधिमाझ महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदा राष्ट्रियगान र सहिदको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।
मोहनविक्रम सिंहको शुभकामना
अधिवेशनको सन्दर्भ पारेर कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आउनुभएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पहिलोपटक जनवर्गीय सङ्गठनको खुल्ला कार्यक्रममा उपस्थित हुनुभएको थियो । उहाँको उपस्थितिले महाधिवेशनको उचाइ बढेको महसुस गरिएको थियो । उहाँले पहिलोपटक खुल्ला कार्यक्रममा प्रत्यक्ष रूपमा उपस्थित भएर शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले अहिले देशको विद्यमान परिस्थितिमा जेनजी आन्दोलन सही भए पनि त्यसलाई हाइज्याक गरेर अमेरिकी साम्राज्यवादले आफ्नो अनुकूलको सरकार गठन गरेको बताउनुभयोे । त्यसले गर्दा देशमा आन्तरिक सङ्कट उत्पन्न भएको उहाँको ठम्याइ थियो । यस प्रकारको अवस्थामा देशभक्त नेपाली मिलेर जानुको विकल्प छैन भन्ने धारणा महामन्त्री सिंहले राख्नुभएको थियो ।
चित्रबहादुर केसीको भाषण
जनजाति सम्मेलनको महाधिवेशनमा उपस्थित अर्को महत्त्वपूर्ण व्यक्तित्व चित्रबहादुर केसी हुनुहुन्थ्यो । महाधिवेशनको उद्घाटन मन्तव्यको क्रममा उहाँले अहिलेको राजनीतिक सङ्कट आउनुमा प्रमुख जिम्मेवार व्यक्ति केपी शर्मा ओली नै रहेको जिकिर गर्नुभयो । ओलीको अधिनायकवादी शासन र चरित्रले गर्दा देशमा चरम भ्रष्टाचार बढ्दै गएको बताउँदै उहाँले देशमा सुशासन कायम गर्नका लागि ओलीले कुनै काम नगरेको उहाँले आरोप लगाउनुभयो । देशमा रोजगारीको लागि कुनै काम सुरुआत नगरेका कारण नेपाली युवामा चरम असन्तुष्टि रहेको उहाँको बताउनुभयो ।
अध्यक्ष केसीका अनुसार भदौ २३ गते नेपाली युवाले सामाजिक सञ्जालमाथिको अस्थायी रोकको अन्त र भ्रष्टाचार निर्मूलीकरणका लागि आन्दोलन गरेका थिए । त्यसैले जेनजीको आन्दोलन सकारात्मक थियो, त्यो स्वागतयोग्य थियो तर त्यसलाई हाइज्याक गरेर अमेरिकी साम्राज्यवादले आफ्नो अनुकूलको सरकार बनायो । अमेरिकाले बालेन साह, सुधन गुरुङजस्ता पात्रलाई प्रयोग गरेको हो कि भन्ने देखिन्छ । अहिले सरकारमा सामेल चर्चित व्यक्तिहरूमध्ये कैयौँ एनजिओ, आइएनजिओ पृष्ठभूमिका रहेका छन् । उनीहरूमाथि विदेशीको इसारामा काम गरेको आरोप पनि छ ।
काङ्ग्रेस, एमाले र माओवादीलगायतका दल सरकारमा जानु भनेको नै भ्रष्टाचार गर्न हो । भ्रष्टाचार नगरीकन यी दलका कार्यकर्ताहरू नेता बन्न सक्दैनन् । भ्रष्टाचार नगरी उनीहरूले चुनाव जित्न सक्दैनन् । देश र जनताको सुखशान्ति समृद्धि ल्याउन होइन, विदेशी दलाल वा विदेशी प्रतिक्रियावादीको एजेन्डा बोकेर जनतालाई भ्रमित पार्ने काम उनीहरूले गरिरहेका छन् ।
राष्ट्रिय जनमोर्चाले गत २०५१ सालदेखि संसद्भित्र रहेको बेथिती राम्रैसँग अध्ययन गरिरहेको छ । त्यहाँ ठुलो मात्रामा भ्रष्टाचार रहेको राष्ट्रिय जनमोर्चा जानकार छ । यो देशमा भ्रष्टाचार बढ्नुमा अप्रत्यक्ष रूपमा जनताको पनि हात छ । जनता दोषी यसकारण छन्, उनीहरूले चुनावमा को भ्रष्ट, को स्वच्छ—ठम्याउन सक्दैनन् ।
अर्कोतिर, राष्ट्रिय जनमोर्चाले संसद् होस् या सडकमा सङ्घीयता खारेजीका लागि लगातार आन्दोलन गर्दै आइरहेको छ । त्यस क्रममा राष्ट्रिय जनमोर्चाले दुईपटक काठमाडौँकेन्द्रित आन्दोलन गरिसकेको छ । त्यसै क्रममा प्रदेश वा अञ्चल र थुप्रै जिल्लास्तरीय कार्यक्रम सम्पन्न गरिसकेको छ । सङ्घीयता विरोधी आन्दोलनलाई राष्ट्रिय जनमोर्चाले देश वा विदेश, प्र्रत्यक्ष व भर्चुअल सबै प्रकारले अगाडि बढाइरहेको छ ।
अध्यक्ष केसीले दाबी गर्नुभयो, भदौको २३–२४ गतेको आन्दोलनमा अमेरिका साम्राज्यवाद वा सिआइएको हात छ । त्यससँगै भारतीय साम्राज्यवाद वा रअको पनि हात हुन सक्दछ । उनीहरूले पटक पटक नेपाली जनताले प्राप्त गरेको लोकतन्त्रमाथि हमला गर्ने गरेका छन् । उनीहरूले हाम्रो देशलाई पटक पटक खरानीको थुप्रोजस्तो बनाउने गरेका छन् ।
राष्ट्रिय जनमोर्चा एउटा यस्तो पार्टी हो, जसलाई कसैले पनि ठोकेर भन्न सक्दैन, यो भ्रष्टाचारीको पार्टी हो किनकि यसले भ्रष्टाचार गरेको छैन । यो पार्टी संसदीय शक्तिका हिसाबले सानो छ तर विचार राम्रो छ । यस पार्टीमा मान्छे पर्याप्त सङ्ख्यामा छैनन् । यस्तो अवस्थामा के गर्ने ? सङ्ख्या बढाउन जे पनि गर्ने नीतिसिद्धान्त, नैतिकता र अनुशासनमा कायम रहने ? पार्टीले आफ्ना नेताकार्यकर्तालाई भ्रष्टाचार गर्न छुट दिएको भए सम्भवत: पार्टी ठुलो हुन्थ्यो कि ? तर राष्ट्रिय जनमोर्चा यस खालको पार्टी होइन ।
अध्यक्ष केसीले बेलिविस्तार लगाउनुभयो, जेनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाको कार्यालय पनि जलाइयो जबकि यो कार्यालय भ्रष्टाचार गरेर बनाइएको थिएन । राष्ट्रिय जनमोर्चा साम्राज्यवादको विरुद्धमा बोलेको थियो । भ्रष्टाचारको विरुद्धमा बोलेको थियो । फेरि पनि हाम्रो कार्यालय जलाइयो भने त्यसका पछाडि देशभित्रका प्रतिगामी र साम्राज्यवादी शक्तिको हात हुन सक्दछ ।
अर्को प्रसङ्गमा अध्यक्ष केसीले भन्नुभयो– राजाले समेत देशनिकाला गरिएको बारबरा एडम्सलाई २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारले नेपाली नागरिकता दिएको थियो । अहिले त्यही बारबरा फाउन्डेसनका काम गरेका व्यक्तिहरू मन्त्री बन्नन पुगेका छन् ।
कुनै पनि मुलुकको अस्तित्व मेटाउन एटम बमको आवश्यकता पर्दैन, त्यस देशको शिक्षालाई ध्वस्त पारे पुग्छ भन्ने दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको भनाइ थियो । अहिले नेपालमा अङ्ग्रेजी खाने, अङ्ग्रेजी बोल्ने, अङ्ग्रेजी गाडी चढ्ने—यस्तै यस्तै नेपालीको दिनचर्या बनेको छ । अङ्ग्रेजी भाषामा जोड दिइदै गर्दा नेपाली भाषा, साहित्य, कला, संस्कृति समग्रमा नेपाली सभ्यता पछि परेको छ भने साम्राज्यवादी हितको पक्षपोषण गर्ने काम भएको छ । यस्तै यस्तै तरिकाबाट नेपालीले साम्राज्यवादको उद्देश्य पूरा गरिदिएको छ ।
आजको सुशीला कार्की सरकार जेनजी आन्दोलनबाट गठन गरिएको भनिएको छ तर यो असंवैधानिक सरकार हो । यो सरकार देशलाई समृद्ध बनाउन बनाइएको होइन, एनजिओले खडा गरेको सरकार हो । यही असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसपछि फागुन २१ गते चुनाव घोषणा गरिएको छ तर चुनाव सम्पन्न हुन्छ कि हुन्न ? चुनाव निस्पक्ष प्रकारले हुन्छ कि हुन्न ? सबै कुरा स्पष्ट छैन ।
यो सरकारले चुनाव गर्न सक्दैन किनकि जेनजीहरू विभाजित छन् । नेपालको इतिहासमा दलाई लामाले सरकारलाई शुभकामना दिएको यो पहिलोपटक हो । यसबाट देशमा अमेरिकी साम्राज्यवादको खतरा बढेको देखिएको छ । भारतीय र तिब्बतियन नागरिकलाई नेपाली नागरिकता दिँदा देशको अस्तित्व नै मेटाउने काम भएको छ । यो राष्ट्रघाती कार्यको सबै नेपालीले विरोध गर्नुपर्ने आवश्यकता छ ।
सहकारीको पैसा खाने व्यक्तिहरू पछिल्लो समयमा सरकारमै बस्ने गरेका थिए । लाखौँ रुपैयाँ खर्च गरेर सहकारी दर्ता गर्नुपर्ने, पैसा नदिए दर्ता नगर्ने अवस्था देशमा छ । सहकारी क्षेत्रमा ठुला ठुला भ्रष्टाचारका अखाडा छन् । यस कार्यलाई बढावा दिनेमध्ये एउटा नायक कर्मचारी पनि हो ।
नेपालमा भ्रष्टाचारले सीमा नाघिसकेको छ । दश वर्षभित्र नौओटा सरकार फेरिएको छ । कैयन् मन्त्री भए तर अनुहार फेरिए पनि प्रवृत्ति फेरिएन । नेपालको इतिहासमा झन्भन्दा झन् देश आन्तरिक रूपमा कमजोर भएको छ । राजनीति व्यक्तिवाद वा परिवारवादमा केन्द्रित बनाइएको कारणले देश खरानी बन्न पुगेको छ । चुनावमा भोट किनबेच हुने गरेको छ । भोट किनेर सरकारमा जाने अनि जनताको माग बेवास्ता गर्दै भ्रष्टाचार गर्ने, फेरि आगामी चुनावका लागि खर्च जोहो गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ ।
जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य लागि आन्दोलन गरे पनि त्यो आन्दोलन सफल हुन सकेन । अहिले असंवैधानिक सरकार गठन भएको छ । जेनजी आन्दोलनको नाममा ७५ जनाको रगत बग्ने काम भएको छ । घाइते, अपाङ्ग सबैका सपना मारेका छन् । यो असंवैधानिक सरकारले जेनजीको कुनै माग पूरा गर्न सक्दैन । दोषीलाई कारवाही गर्न सक्दैन । उनीहरू खुलेर हिँडिरहेका छन् । निर्दोष जनता सधैँ मर्ने नै गरिरहेका छन् ।
आन्तरिक तथा बाह्य शक्तिबाट नेपालका पिछडिएको क्षेत्रको विभिन्न जातजातिका भाषा, धर्मसंस्कृति, चालचलनप्रति गम्भीर असर परेको छ । कतिपय ठाउँमा धर्म परिवर्तनको नाममा प्रलोभनमा पारी इसाई धर्म प्रचारप्रसार गर्ने काम भइरहेको छ । गाउँगाउँमा साम्राज्यवादको उपस्थितिले देश आन्तरिक रूपमा कमजोर बन्दै गएको छ । शासनसत्ताले सुशासनको प्रत्याभूति दिन सकिरहेको छैन ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेको मुलुक हो । यहाँ जातीय पहिचानसहितको सङ्घीयता माग भएको बेलामा अखिल नेपाल जनजाति सम्मेलनले यसको विरोध गरेको थियो किनभने जातीयतासहितको सङ्घीयताले जातजातिबिच द्वन्द्व गराई सामाजिक सद्भाव कमजोर बनाउँछ । त्यसले गर्दा नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा बढ्छ । नाइजेरिया, युगान्डा, इथियोपियाजस्तै गरी नेपाल पनि गृहयुद्धमा फस्ने सम्भावना धेरै हुन्छ । त्यसैले जनजाति सम्मेलनले सङ्घीयता खारेजीको माग गर्दै आएको छ ।
अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिमा जातीय समस्याको रूपमा रङ्गभेद, मूलबासी र प्रवासी, धार्मिक साम्प्रदायिक, जातीय उत्पीडनको स्थिति सिर्जना गरेर द्वैष भावना विकास गराउने काम भइरहेको छ । सरकारले देशमा सुखशान्ति, समृद्धि ल्याउन सकिरहेको छैन । नेपालमा पनि कैयन् सङ्घसंस्थामार्फत सामाजिक सद्भाव बिथोल्ने काम भएको छ । नेपाली समाज फुटाउने, टुक्राउने योजनाका साथ एनजिओ/आइएनजिओ सक्रिय छन् ।
२०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्त कार्यान्वयन भइरहेकै बेलामा त्यसलाई खारेज गर्न प्रतिगामी षड्यन्त्र भइरहेको छ । त्यसले गर्दा अहिलेको संविधान खतरामा परेको छ । त्यस क्रममा राजावादीले राजा ल्याउन अधिकतम कोसिस गरिरहेका छन् ।
यो असंवैधानिक सरकारले चुनावको मिति तोकेको भए पनि फागुन २१ गते चुनाव हुने सम्भावना कम छ । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको उपस्थितिले देशभित्र फेरि ठुलो विध्वंस गर्ने तयारी गरिरहेको छ । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति निवास शीतल निवास, अख्यिार दुरुपयोग अनुसन्धान आयोग आदि विभिन्न भवन जलाएर पुगेको छैन, एकथरीले देशै जलाउन खोजेको देखिएको छ ।
मङ्गोल नेसनल अर्गनाइजेसन जातिवादी सङ्गठन हो । यो सङ्गठन नेपालको खसआर्यबाहेक सबै मङ्गोल मूलबासी भनेर भालेकुखुराको चुनाव चिह्नबाट जनताको माझमा गइरहेको अवस्था छ । अर्को इसाई धर्मको अभियानमा तामाङ, मगर, राई, लिम्बू आदिलाई क्रिस्चियन बनाउने काम भइरहेको छ । यो सङ्गठन नेपालको बाहुन जातिको पूरै विरोधमा उत्रिएको छ । यो सङ्गठन परिचालन गर्न अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनले युवालाई समेत तालिम दिइरहेको छ । जेनजी आन्दोलनबाट यो अभियान अझै सक्रिय भएर लागेको छ । यो सङ्गठनले मूलत: नेपालको पूर्वी क्षेत्रमा आफ्नो राज्य माग गरिरहेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मको हिमाली जिल्लामा तिब्बती नागरिकलाई पाँच लाखसम्म लिएर नागरिकता दिएको सूचना फेसबुक, युट्युब र टिकटकमा समेत छ्याप्छ्याप्ती आइरहेका छन् । अखिल नेपाल जनजाति सम्मेलनले यस्ता जातिवादी धारणाको विरोध गर्दै आएको छ ।
नीति, योजना र कार्यक्रम
महाधिवेशनको बन्दसत्रमा चारओटा समूह बनाई राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल चलेको थियो । बन्दसत्रमा नै जनजाति सम्मेलनको महाधिवेशनले आफ्नो नीति, योजना र कार्यक्रम तर्जुमा गरेको थियो ।
जनजाति सम्मेलनले स्पष्ट पारेको छ, अहिले नेपालमा रहेका मङ्गोलबासी मूलबासी जातीय सङ्घसंस्था विदेशी डलरबाट सञ्चालित छन् । यिनीहरूको राजनीतिक उद्देश्य समाजमा फुट गराउने वा देशलाई अस्थिर बनाउने, त्यसका लागि भ्रम छर्ने गरिरहेका छन् ।
अखिल नेपाल जनजाति सम्मेलन एउटा यस्तो सङ्गठन हो, जसले समाज, समुदाय र राष्ट्रको समस्या वर्गीय रूपबाट मात्र समस्या समाधान गर्न सकिन्छ भन्ने विचार बोकेको छ । जनजाति सम्मेलनले नेपाली जनता फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । त्यसका विपरीत जति फुट हुन्छ, त्यति नै विदेशी चलखेल बढ्नेछ । देशको राष्ट्रियतामाथि खतरा बढ्नेछ । हामी सबै जाति/जनजाति मिलेर देशभित्र चलिरहेको दूषित जातीय पहिचानसहितको राजनीतिको विरुद्ध उभिनुपर्दछ । जातिवादी उद्देश्य पूरा हुँदा नेपाली समाजमा घातक परिस्थिति बन्छ ।
देशभन्दा ठुलो पार्टी होइन, व्यक्ति छैन । देश रहे हामी रहन्छौँ । त्यसैले सबै सचेत बनौँ । देश खरानी हुनबाट जोगाऔँ ।

