नवलपरासी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देश साम्राज्यवादीहरूको क्रिडास्थल बनेको बताउनु भएको छ । केसीले सो धारणा राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीको आयोजनामा कार्तिक २१ गते सुनवलमा जिल्ला प्रशिक्षण कार्यक्रमलाई सम्बोधनको क्रममा दिनु भएको हो ।
‘अहिले देश विदेशी साम्राज्यवादीहरूको क्रिडा स्थल बनेको छ ।’ अध्यक्ष केसीले भन्नुभयो– ‘यो संकटबाट देसलाई मुक्त गर्ने जिम्मेवारी नेपाली जनतालाई सचेत र जागरुक बनाएर मात्र संभव हुन्छ ।’ जेनजी आन्दोलन र माग जायज भएता पनि आन्दोलन बिभिन्न स्वार्थ समुहद्वारा दुरुपयोग भएको केसीले जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदी, नेपाल कम्यूनिष्ट पार्टी (मसाल) नवलपरासी जिल्ला प्रवक्ता रेम राना, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सदस्य शेरबहादुर सुर्यवंशी, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष जीतबहादुर पौडेल, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सम्झना पौडेल, राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला कोषाध्यक्ष गिरीराज ज्ञवाली, रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य मेघराज गौतम, जातिय समता समाज नवलपरासी जिल्ला संयोजक नरेन्द्र वि.क. र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा बर्दघाट नगरपालिका वार्ड नं ५ का वडा सदस्य शोभाकान्त लामिछानेले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि चित्रबहादुर केसीले फुलको गमलामा पानी हालेर उद्घाटन गर्नुभएको थियो । ‘देशको बर्तमान राजनीतिक परिस्थिती बारे’ बिषयमा केसीले कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीको अध्यक्षता, सदस्य चुरामणी चालिसेको सञ्चालन र सदस्य कृष्ण बहादुर थापाको स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढेको थियो ।