• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जेनजी आन्दोलनबारे नेकपा (मसाल) को प्रस्ताव


  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
  • भूमिका

    Advertisement

    १. हालै नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । त्यसले हालैको जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिस्थितिको विश्लेषण गरेर एउटा तात्कालिक राजनीतिक प्रस्ताव पारित गरेको छ, जसलाई सँगै दिइएको छ । त्यो प्रस्तावका तीन भाग छन् : प्रथम– जेनजी आन्दोलन र त्यसमा सङ्लग्न विभिन्न राजनीतिक शक्तिको भूमिकाको विश्लेषण† द्वितीय– आमचुनावसम्बन्धी धारणा र तृतीय– वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिसम्बन्धी दृष्टिकोण । प्रस्तावको अन्तमा बुटवलमा यही भदौ १४ गते भएको पत्रकार सम्मेलनमा हाम्रो पार्टीको तर्फबाट प्रस्तुत गरिएको वक्तव्य ।

    २. नेपालमा जुन जेनजी आन्दोलन भयो, त्यसको ठुलो चर्चा भएको छ र त्यसको परिणामस्वरूप देशमा कतिपय गम्भीर प्रकारका राजनीतिक परिवर्तन भएका छन्, जसमा अन्तरिम सरकारको गठन, प्रतिनिधिसभाको विघटन, चुनावको घोषणा आदि उल्लेखनीय छन् । सर्वप्रथम: हाम्रो यो स्पष्ट र दृढ व्याख्या छ कि जसलाई जेनजीको आन्दोलन भनिएको छ, त्यो खालि प्रकट र बाह्य रूपमा नै जेनजीको आन्दोलन हो तर वास्तवमा आन्तरिक रूपमा त्यसलाई अमेरिकी साम्राज्यवादले नै सञ्चालन गरेको हो । त्यसका साथै भारतीय साम्राज्यवाद, राजावादी र अन्य कतिपय राजनीतिक शक्तिले पनि त्यसलाई आफ्ना निहित स्वार्थका लागि उपयोग गर्ने प्रयत्न गरेका छन् । दलाई लामाले कतिपय ‘स्वतन्त्र तिब्बत’ को पक्षधर शक्तिको पनि त्यसलाई नेतृत्व गरेको दाबीबाट मुख्य रूपमा त्यो आन्दोलन अमेरिकी साम्राज्यवादी वा सिआइएद्वारा सञ्चालित भएको कुरामा कुनै शङ्का रहन्न । अमेरिकाले एकातिर, एमसिसीद्वारा नेपाललाई आफ्नो सुरक्षा पङ्क्तिमा सामेल गर्न चाहन्छ भने अर्कातिर, तिब्बतमा दलाई लामाको पुन:स्थापनाको लागि नेपालको भूमिलाई उपयोग गर्न चाहन्छ । त्यसको त्यही रणनीतिअन्तर्गत नै त्यसले जेनजी आन्दोलनलाई परिचालन गरेको थियो र अहिले पनि त्यसलाई त्यही रणनीतिको पूर्तिको लागि उपयोग गर्ने प्रयत्न गर्दैछ ।

    ३. जेनजीको कुनै नीति, कार्यक्रम, सङ्गठन वा नेतृत्व नभएको कुरा व्यवहारबाट र स्वयम् उनीहरूले नै प्रकट गरेका विचार वा उनीहरूका बिचमा देखा परेको विवादबाट पनि प्रस्ट हुन्छ । उनीहरूका करिब दुई दर्जनभन्दा बढी ग्रुप भएको र उनीहरूका बिचमा कैयौँ मत मतान्तर भएको कुरा पनि सार्वजनिक रूपमा नै प्रकाशमा आउने गरेको छ ।

    ४. इतिहासका विभिन्न कालखण्डमा नेपालको प्रजातान्त्रिक वा वामपन्थी राजनीतिमा जेनजी उमेर समूह वा युवाको उज्ज्वल र गौरवमय भूमिका रहेको सर्वविदितै छ । त्यसकारण हामीले अहिले पनि उनीहरूको अहिलेको भूमिकालाई पनि अवमूल्यन गर्न चाहँदैनौँ । नेपालको वामपन्थी, प्रजातान्त्रिक आन्दोलनका अधिकतर नेता वा कार्यकर्तालाई हेर्‍यौँ भने जो अहिले वृद्ध भइसकेका छन् वा जसको निधन भइसकेको छ, उनीहरूमध्ये धेरैले जेनजी अवस्थामा नै राजनीतिमा प्रवेश गरेका थिए तर खालि उमेरका कारणले मात्र पनि जेनजी समूह राजनीतिक नेतृत्वका लागि योग्य हुँदैन, त्यो लामो र कठिन सैद्धान्तिक स्पष्टता, राजनीतिक परिपक्वता वा कैयौँ प्रकारका सङ्घर्ष, उतारचढाव, व्यावहारिक अनुभव वा परीक्षाका बिचबाट जानु आवश्यक हुन्छ । त्यो क्रममा गत कालमा जेनजी उमेरमा राजनीतिमा प्रवेश गरेका हजारौँ व्यक्तिले पलायन गरेका वा गद्दारीसमेत गरेका उदाहरणको कमी छैन । त्यस प्रकारको पृष्ठभूमिमा अहिले उनीहरू जेनजी उमेरका भएका कारणले मात्र देशको राजनीतिक नेतृत्वको लागि उनीहरूलाई योग्य वा विश्वासका पात्र ठान्नु वा उनीहरूलाई देशको भविष्यको निर्माणको जिम्मा सुम्पनुका कैयौँ दूरगामी र घातक परिणाम हुन सक्दछन् ।

    ५. जेनजी आन्दोलनको दौरानमा देशव्यापी रूपमा ठुलो सङ्ख्यामा ध्वंसात्मक कार्य भए । त्यस प्रकारका कार्य जेनजीका नीति र कार्यक्रमअन्तर्गत थिएनन् र उनीहरूले गरेका पनि होइनन् तर यो कुरालाई अस्वीकार गर्न सकिन्न कि ती सबै कार्य जेनजीको नाममा नै भएका थिए र उनीहरूले त्यस प्रकारका कारबाहीमाथि नियन्त्रण गर्न सकेका थिएनन् । उनीहरूको कुनै नीति, कार्यक्रम, सङ्गठन वा नेतृत्व नभएको हुनाले त्यस प्रकारका ध्वंसात्मक कार्यमाथि नियन्त्रण गर्नु उनीहरूका लागि सम्भव थिएन । त्यसबाट अहिले र भविष्यका लागि पनि यो कुरा स्पष्ट भएको छ कि कुनै नीति र कार्यक्रम वा सङ्गठनमा आबद्ध नभएको असङ्गठित समूहका लागि कुनै आन्दोलनको नेतृत्व गर्नु सम्भव हुने कुरा होइन र त्यो अवस्थामा त्यो आन्दोलनले अराजक रूप लिनु अवश्यम्भावी छ र अहिलेको उनीहरूको अनुभवले पनि त्यो कुरालाई प्रमाणित गरेको छ ।

    ६. अहिले प्रतिनिधिसभाको विघटन गरियो, त्यो असंवैधानिक थियो र यदि त्यसले सर्वोच्चले पुन:स्थापना गर्दछ भने हामीले त्यसलाई स्वागत नै गर्नेछौँ । साथै अहिले घोषणा गरिएजस्तो चुनाव हुन्छ भने पनि हाम्रो नीति त्यसलाई बहिष्कार गर्ने नभएर उपयोग गर्ने नै हुनेछ तर हाम्रो पार्टीको नवौँ महाधिवेशनले अन्य कुनै पक्षसित गठबन्धन वा चुनावी तालमेल नगरीकन नै चुनावमा भाग लिने निर्णय गरेको छ र आगामी चुनावमा पनि हामीले त्यही प्रकारले एक्लै चुनावमा जाने नीति अपनाउनेछौँ । हामीले गतकालको प्रतिगमनका विरुद्धको गठबन्धन र चुनावी तालमेललाई नीतिगत रूपमा नै गलत मानेर वा भविष्यका लागि त्यस प्रकारको नीतिलाई पूरै निषेध गरेर एक्लै चुनावमा भाग लिने निर्णय गरेका होइनौँ । गठबन्धन वा चुनावी तालमेलको बेलामा अन्य पक्षले इमानदारिता नदेखाएको वा अन्तर्घात गर्ने गरेको हुनाले त्यसका लागि विश्वसनीय आधार नभएको हुनाले नै हामीले एक्लै चुनावमा जाने निर्णय गरेका छौँ । त्यसबाट राजनीतिक भण्डाफोर, जनताका बिचमा राजनीतिक प्रचार र जनआधारको निर्माण तथा नयाँ जनवादी क्रान्तिको परिस्थिति तयार पार्न पनि मदत पुग्नेछ भन्ने हाम्रो विश्वास छ । निश्चय नै पारस्परिक समझदारी कायम हुन सकेमा वा विश्वसनीय आधार भएमा अपवादको रूपमा हामीले कुनै स्थानविशेषमा चुनावी तालमेलको नीति पनि अपनाउन सक्ने सम्भावनालाई पूरै अस्वीकार गर्दैनौँ ।

    ७. नीतिगत रूपमा हाम्रो यो मान्यता रहेको छ कि देशमा अहिले पनि प्रतिगमनको गम्भीर खतरा रहेको तथा साम्राज्यवादी शक्तिबाट पनि देशको सार्वभौमिकता र राष्ट्रियताका लागि गम्भीर खतरा रहेको हुनाले गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार, बहुदलीय व्यवस्था तथा राष्ट्रियता जनआन्दोलनका उपलब्धि तथा देशको राष्ट्रियता र सार्वभौमिकतासमेतको रक्षाको लागि पारस्परिक समझदारी कायम हुन सकेको अवस्थामा विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिसित गठबन्धन वा कार्यगत एकता गर्ने हाम्रो नीति कायम छ ।

    ८. अहिले देशमा भ्रष्टाचार र कुशासन बढ्नु तथा देशको दिगो विकास हुन नसक्नुको कारण देशका राजनीतिक पार्टी भ्रष्ट हुनु, चुनावमा अधिकतर रूपमा भ्रष्ट व्यक्ति निर्वाचित हुनु तथा सरकारमा त्यस प्रकारका तत्त्वको बाहुल्यता हुनु नै हो । त्यो समस्याको समाधान खालि स्वच्छ र निष्कलङ्क राजनीतिक पार्टीको नै देशमा बाहुल्यता हुनु र निर्वाचनमा पनि स्वच्छ र निष्कलङ्क चरित्र भएका तथा त्याग, बलिदान र जनसेवाको लामो बलिदान भएका व्यक्ति निर्वाचित हुनु नै हो । नेपालको लामो राजनीतिक इतिहासबाट राष्ट्रिय जनमोर्चा नै त्यस प्रकारको राजनीतिक पार्टी हो भन्ने कुरा प्रमाणित भइसकेको छ । गत तीन दशकभन्दा बढी अवधिमा यसका तर्फबाट सांसद भएका कुनै पनि व्यक्तिले आर्थिक हिनामिना गरेको कुनै पनि उदाहरण छैन । त्यसरी नै लेखा समितिको सभापति र उपप्रधानमन्त्री भएका राष्ट्रिय जनमोर्चाका नेताद्वारा पनि भ्रष्टाचार नगरेको आम जनतालाई थाहा भएको कुरा हो । त्यो अवस्थामा नेपालको भ्रष्ट राजनीतिको विकल्प भनेको राष्ट्रिय जनमोर्चा नै हो तर नेपालको भ्रष्ट चुनाव प्रणालीले गर्दा त्यस प्रकारका राजनीतिक पार्टी वा त्यसका उम्मेदवारका ठाउँमा धेरै भ्रष्टाचार गरेर करोडौँ, अरबौँ रुपैयाँ कमाएका वा पैसा खर्च गरेर भोट किन्न सक्ने व्यक्तिले नै चुनावमा धेरै सफलता प्राप्त गर्दछन् । त्यो स्थिति रहँदासम्म देशमा भ्रष्टाचार र कुशासन कहिल्यै समाप्त हुने छैन र देशको विकास हुन सक्ने छैन । त्यसकारण अहिलेको भ्रष्ट निर्वाचन प्रणालीमा सुधार निर्णयात्मक महत्त्वको राष्ट्रिय आवश्यकता हो । जबसम्म देशमा राष्ट्रिय जनमोर्चाजस्ता स्वच्छ र निष्कलङ्क छवि भएको पार्टीले चुनावमा हारिरहने तथा भ्रष्टाचार गरेर पैसा कमाउने र पैसाको खोलो बगाएर चुनाव जित्नसक्ने स्थिति रहिरहन्छ, देशमा भ्रष्टाचार र कुशासन रहिरहने छ र देश वा जनता उभो लाग्न सक्ने छैनन् । यस प्रकारको अवस्था कहिलेसम्म रहन दिने ? त्यसप्रति सम्पूर्ण जनताको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    ९. हाम्रो पार्टीको केन्द्रीय कमिटी यो पनि गम्भीर निष्कर्षमा पुगेको छ कि आज अन्तर्राष्ट्रिय स्तरमा कैयौँ युद्ध चलिरहेका छन् र विश्वयुद्ध हुने सम्भावना बढ्दै गइरहेको छ । आजको युगमा युद्ध हुन्छ भने त्यसले आणविक युद्धको रूप लिने धेरै नै सम्भावना छ । त्यसबाट मानवजाति सम्पूर्ण रूपले समाप्त हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा विश्व शान्तिको रक्षाको प्रश्न अहिलेको अन्तर्राष्ट्रिय महत्त्वको गम्भीर चिन्ता र चासोको विषय भएको छ । वास्तवमा युद्धको मुख्य स्रोत नै साम्राज्यवाद हो र त्यसको मुख्य नेतृत्व अमेरिकी साम्राज्यवादले नै गरिरहेको छ । त्यसकारण विश्वशान्तिको रक्षाको लागि पनि मुख्य रूपले साम्राज्यवादका विरुद्ध नै सङ्घर्ष केन्द्रित गर्नु निर्णयात्मक महŒवको कुरा बन्न गएको छ । त्यसैले हाम्रो पार्टीले युद्धको अन्त र विश्व शान्तिको रक्षाको लागि विश्व साम्राज्यवादका विरुद्ध र शान्तिको पक्षमा सङ्घर्ष गर्नु तथा नेपालमा पनि त्यसका लागि बढीभन्दा बढी योगदान दिनु पर्ने आवश्यकतामा जोड दिन्छ ।
    मोहनविक्रम सिंह, २०८२ कात्तिक १६ गते

    तात्कालिक राजनीतिक प्रस्ताव

    (२०८२ कात्तिक ११–१२ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) को केन्द्रीय समितिको बैठकमा महामन्त्री
    कामरेड मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रस्ताव)

    —क—

    १. अहिलेको देशको राजनीतिक स्थितिको मुख्य विचारणीय विषय जेनजी आन्दोलन नै हो । अहिलेको देशको सम्पूर्ण राजनीति त्यसैको वरिपरि घुमिरहेको छ । त्यसकारण सर्वप्रथम त्यो प्रश्नमा नै स्पष्टताको आवश्यकता छ । यो कुरा सत्य हो कि देशमा भइरहेको भ्रष्टाचार र कुशासन तथा अनधिकृत प्रकारले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले जनतामा व्यापक असन्तोष थियो । भदौ २३ गतेको आन्दोलन त्यही स्थितिको विस्फोटको परिणाम थियो । त्यसैले जेनजी आन्दोलनका यी दुवै मागलाई नेकपा (मसाल) ले सही ठहर्‍याएको छ र त्यो आन्दोलनलाई समर्थन पनि गरेको छ तर यो पक्षको पनि उपेक्षा गर्नु सही हुने छैन कि त्यो न्यायपूर्ण आन्दोलनलाई कैयौँ देशी वा विदेशी शक्तिले आफ्ना निहित स्वार्थको लागि उपयोग गर्ने प्रयत्न गरेका छन् । यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न कि भदौ २३ गतेको आन्दोलन प्रकट रूपमा स्वत:स्फूर्त आन्दोलन थियो तर त्यो आन्दोलनका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न विभिन्न देशी वा विदेशी शक्तिले योजनाबद्ध प्रकारले काम गरेका थिए नत्र भने भदौ २४ गते जेनजी आन्दोलनको नाममा देशव्यापी रूपमा जुन तोडफोड, आगलागी वा ध्वंसात्मक कार्य भए, त्यस प्रकारका कार्य स्वत:स्फूर्त रूपमा देखा परेको जेनजी आन्दोलनद्वारा हुन सक्ने कुरा नै थिएन । त्यसैले जेनजी आन्दोलनलाई नयाँ युवाको स्वत:स्फूर्त आन्दोलनको रूपमा मात्र होइन, त्यसका पछाडिको लुकेको अवाञ्छित तत्त्वको योजनाबद्ध षड्यन्त्रको पृष्ठभूमिमा नै बुझ्नु वा मूल्याङ्कन पनि गर्नुपर्दछ ।

    २. भदौ २४ गते देशव्यापी रूपमा जुन ध्वंसात्मक कार्य गरिए, त्यसबाट देशलाई धेरै नै नोक्सान पुगेको छ तर स्पष्ट छ, त्यो दिनको घटनाका जुन परिणाम अगाडि आए, त्यहीँसम्म सीमित रहने छैनन् र जसले जेनजी आन्दोलनलाई आफ्ना निहित स्वार्थ पूरा गर्नका लागि उपयोग गरेका थिए, उनीहरूका अरू पनि कैयाँै दीर्घकालीन राजनीतिक उद्देश्य भएको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । दलाई लामाले अन्तरिम सरकारलाई दिएको शुभकामनाबाट त्यो आन्दोलनलाई आफ्ना साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्नका लागि अमेरिकाले योजनाबद्ध प्रकारले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसले एकातिर, एमसिसीको माध्यमद्वारा अमेरिकाले नेपाललाई आफ्नो रणनीतिक अखाडा बनाउन खोजेको र अर्कोतिर, तिब्बतमा दलाई लामालाई पुन:स्थापना गर्नका लागि नेपालको भूमि उपयोग गर्ने उद्देश्य पूरा गर्न नै जेनजी आन्दोलनलाई उपयोग गर्न खोजेको कुरालाई प्रत्यक्ष रूपमा अगाडि ल्याएको छ । स्वतन्त्र तिब्बतका पक्षधरहरू घोषित रूपले नै त्यो आन्दोलनको नेतृत्वमा देखा परेको कुराबाट पनि त्यो कुरामा कुनै शङ्का रहन्न । यो पनि कुनै लुकेको कुरा होइन कि अमेरिकाले नेपालका युवा र बुद्धिजीवीमा समेत ठुलो सञ्जाल बनाएको छ । त्यो सम्पूर्ण सञ्जाललाई अहिलेको जेनजी आन्दोलनमा प्रयोग गरिएको छ । त्यसबाट अहिलेको जेनजी अन्दोलनमा मुख्य भूमिका अमेरिकाको नै रहेको कुरामा कुनै शङ्का रहन्न । त्यो जेनजी आन्दोनलसित सम्बन्धित अत्यन्त खतरनाक पक्ष हो र त्यसले नेपालको राजनीतिमा दीर्घकालीन रूपले नै दूरगामी असर पार्नेछ । त्यसैले त्यसका विरुद्धको सङ्घर्ष राष्ट्रिय महत्त्वको विषय बन्न जान्छ ।

    ३. त्यो आन्दोलनमा भारतीय साम्राज्यवादको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । भारतले करिब ७ दशकभन्दा बढी समयदेखि नेपाललाई भारतीय सङ्घमा मिलाउन योजनाबद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । त्यसको लागि नेपालका विभिन्न राजनीतिक, सामाजिक, प्रशासनिक वा सुरक्षा निकायमा घुसपैठ गर्नुका साथै कैयौँपल्ट प्रत्यक्ष रूपले पनि नेपालमा हस्तक्षेप वा अतिक्रमण गर्दै आएको छ । कालापानीमा भारतको अतिक्रमण त्यसको एउटा ज्वलन्त उदाहरण हो । जेनजी आन्दोलन पनि त्यस प्रकारको घुसपैठबाट मुक्त रहेको छ भन्न सकिन्न । अमेरिकी र भारतीय साम्राज्यवाद बाहेक नेपालका राजावादी, “स्वतन्त्र पार्टी” र कतिपय अवस्थामा माओवादीले समेत त्यो आन्दोलनलाई उपयोग गर्न खोजेको देखिन्छ । त्यसरी यो कुरा दाबीपूर्वक भन्न सकिन्छ कि जेनजीले त्यो आन्दोलनलाई आफ्नो आन्दोलन बताए पनि त्यो उनीहरूको घेराबाट धेरै बाहिर निस्केको थियो र त्यसरी त्यो उनीहरूको आन्दोलन रहन गएको थिएन । उनीहरूको आफ्नो कुनै सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन, अनुशासन वा नेतृत्व नभएको हुनाले त्यसलाई कैयौँ गलत तत्त्वले उपयोग गरेका थिए वा उपयोग गर्न सफल भएका थिए ।

    अहिले पनि उनीहरूका बिचमा कैयौँ गुट र उपगुट भएको देखिन्छ र उनीहरूका बिचमा तीव्र मतभेद पनि भएको देखिन्छ । जेनजी आन्दोलनका दौरानमा राष्ट्रिय जनमोर्चाका बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतका कार्यालयमा तोडफोड गरिएको छ वा आगोसमेत लगाउने काम गरिएको छ । त्यसले जेनजी आन्दोलनसित सम्बन्धित एउटा गम्भीर प्रकारको राजनीतिक प्रश्नलाई अगाडि ल्याउँछ । उनीहरूले मुख्य रूपले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका कारणले नै त्यो आन्दोलन सुरु गरेको भनेका थिए र त्यो कुरा सत्य पनि थियो तर ती दुवै कारणले राष्ट्रिय जनमोर्चामाथि आक्रमण गर्नुपर्ने कुनै आधार थिएन । राष्ट्रिय जनमोर्चाका कुनै सांसदले गत तीन दशकको बिचमा कुनै पनि आर्थिक अनियमितता वा भ्रष्टाचार गरेका छैनन् र राष्ट्रिय जनमोर्चाबाट लेखा समितिका सभापति वा उपप्रधानमन्त्री समेत भएको बेलामा पनि भ्रष्टाचार गरेको एउटा पनि उदाहरण छैन । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको पनि राजमोले तुरुन्तै विरोध गरेको थियो अनि राष्ट्रिय जनमोर्चाका कार्यालयमाथि आक्रमण गर्नुका पछाडि कुनै नीतिगत आधार छैन । त्यही पनि त्यसका चार/चारओटा कार्यालयमा तोडफोड गरियो । निश्चिय नै जेनजी आन्दोलनको त्यस प्रकारको नीति थिएन । त्यो अवस्थामा राजमोका कार्यालयमाथि आक्रमण गरेको कुराबाट त्यो आन्दोलन उनीहरूको हातबाट निस्केर गलत तत्त्वको हातमा गएको कुरामा कुनै शङ्का रहन्न ।

    ४. भदौ २३ गतेको जेनजीको आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धसित मात्रै सम्बन्धित थियो । उनीहरूका अरू कुनै माग थिएनन् । जेनजीभन्दा बारिहका जेनजी समूहमा नै नपर्ने २८ वर्षभन्दा माथि उमेर भएका कतिपय व्यक्तिले फेसबुकको माध्यमद्वारा अन्य कतिपय माग पनि उनीहरूका बिचमा लैजाने प्रयत्न गरेका थिए तर त्यस प्रकारका माग जेनजी समूहभन्दा बाहिरबाट आएको हुनाले तिनीहरूलाई जेनजीका माग भन्न सकिन्न । पछि उनीहरूले त्यसरी बाहिरबाट आएका कैयाँै माग पनि थप्दै गए† जस्तै कि संसद् विघटन, प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, संविधान खारेजी, अन्तरिम संविधान निर्माण, मन्त्रिमण्डलमा जेनजीको प्रतिनिधित्व आदि तर ती प्रश्नमा पनि उनीहरूका बिचमा विवाद हुने गरेको छ । त्यसबाट ती माग उनीहरूका थिएनन् भन्ने कुरा प्रष्ट छ । उनीहरूले पछि जुन माग उठाउने गरेका छन्, विभिन्न राजनीति पार्टीले पहिलेदेखि नै ती माग उठाउँदै आएका थिए । त्यसैले उनीहरूले विभिन्न राजनीतिक पार्टीको प्रभावमा त्यस प्रकारका माग उठाउन थालेको नै देखिन्छ । वास्तवमा विभिन्न राजनीतिक शक्तिले उनीहरूको माध्यमद्वारा आफ्ना विवादास्पद माग घुसाउँदै गएका छन् र त्यसरी जेनजी आन्दोलन विभिन्न देशी वा विदेशी शक्तिको प्रभावमा पर्दै गएको कुरा प्रष्ट छ । अहिले कैयौँ राजनीतिक सङ्गठनले आफ्ना आफ्ना बेग्लाबेग्लै जेनजी गु्रप पनि सङ्गठित गर्न थालेको कुरा थाहा भएको छ । त्यसरी यो भन्न सकिन्छ : २३ गतेको जेनजी आन्दोलनको कतै कुनै अस्तित्व छैन । त्यसलाई आधार बनाएर विभिन्न राजनीतिक सङ्गठन वा गु्रपले आफ्ना राजनीतिक लाइनलाई अगाडि बढाउने प्रयत्न गर्न थालेका छन् । त्यो कुराको गम्भीरता यो कुराबाट पनि थाहा हुन्छ कि अहिले कतिपय जेनजीले, जो २३ गतेको आन्दोलनमा घाइते भएका थिए, सबै जेनजीका बिचमा एकता कायम गर्नका लागि धर्ना बस्न वा प्रयत्न गर्न थालेका छन् । वास्तवमा जेनजी आन्दोलन कुनै सिद्धान्त, नीति वा कार्यक्रमका आधारमा कहिल्यै पनि सङ्गठित थिएन र अब त्यो खुला प्रकारले नै कैयौँ राजनीतिक शक्तिका बिचमा विभाजित भइसकेको छ । त्यो अवस्थामा त्यसलाई एकीकृत गर्ने प्रयत्न सफल हुने कुनै सम्भावना देखिन्न ।

    ५. नेपालको राजनीतिमा उमेरको प्रश्न अहिले धेरे नै विवादास्पद बन्न गएको छ । कुनै निश्चित उमेर पुगेपछि राजनीति वा नेतृत्वबाट हट्नुपर्दछ र युवा पुस्ताले नै नेतृत्व गर्नुपर्दछ भन्ने विचार जोडदार प्रकारले उठिरहेको छ । त्यस सन्दर्भमा खास गरेर जेनजी पुस्ताका युवक, जसको अर्थ हुन्छ २८ वर्षमुनिका युवक नै, राजनीतिक नेतृत्वमा आउनुपर्छ भन्ने कुरा पनि उठ्ने गरेको पाइन्छ । त्यो सिद्धान्तहीन, अनावश्यक र संसारमा कतै पनि देखा नपरेको तर्क हो । यो कुरा सत्य हो कि शारीरिक क्षमताका दृष्टिकोणले युवामा बढी क्षमता हुन्छ र वृद्धावस्थामा शारीरिक क्षमता कम भएपछि राजनीति मात्र होइन, जीवनका सबै क्षेत्रबाट मानिस पछाडि हट्दै जान्छन् र हट्नु पनि पर्दछ तर उमेर नै सबै कुराको कसौटी होइन । राजनीति मात्र होइन, जीवनको कुनै पनि क्षेत्रमा काम गर्नको लागि त्यससम्बन्धी ज्ञान, अनुभव वा परिपक्वताको आवश्यकता पर्दछ । युवा भएको कारणले नै सबै कामको लागि योग्य हुने भए युवाको पङ्क्तिबाट नै ठुलो सङ्ख्यामा सामाजिक अपराधी, भ्रष्ट कर्मचारी हुने थिएनन् । राजनीतिमा वा सरकारमा पुगेर पनि गलत नीति अपनाउने वा भ्रष्टाचार गर्ने सबै व्यक्ति वृद्ध छैनन् । अहिले विभिन्न राजनीतिक पार्टीका जुन वृद्ध नेताले पार्टीको नेतृत्वमा वा सरकारमा गएर गलत नीति अपनाउने वा भ्रष्टाचार गर्ने गरेको पाइन्छ । उनीहरूमध्ये पनि सबैजसोले युवा अवस्थामा नै राजनीति वा पार्टीमा प्रवेश गरेका थिए । उनीहरू पनि पछि गएर बिग्रन सक्छन् भने अहिले युवा भएका व्यक्तिले पछिसम्म लगातार सही नीति अपनाउन सक्छन् भन्ने के ग्यारेन्टी छ ? त्यसरी मुख्य प्रश्न कसको कति उमेर छ भन्ने होइन, उसमा विचार, दृष्टिकोण वा देश वा जनताप्रतिको सेवाको भावनामा कति इमान्दारी वा निरन्तरता छ भन्ने हो । संसारका कुनै पनि देशमा वृद्ध भएको कारणले नै पार्टी वा सरकारको नेतृत्वबाट हटाउने प्रचलन कतै छैन । त्यसरी नेपालमा त्यस प्रकारको जुन विचार आइरहेको छ, त्यस प्रकारको विचार सैद्धान्तिक वा व्यावहारिक दृष्टिकोणले सही नभएको वा संसारमा कतै प्रचलनमा नभएको गलत विचार भएको कुरा प्रष्ट छ ।

    ६. अहिले देशको राजनीतिमा नेतृत्वको हस्तान्तरणमा वा पुस्तान्तरणको प्रश्न धेरै उठ्ने गरेको छ । त्यस प्रकारको सोचाइलाई पूरैै सही भन्न सकिन्न । कुनै पार्टीमा खालि वृद्ध भएपछि मात्र नेतृत्वको हस्तान्तरण हुनुपर्दछ भन्ने हुँदैन । हामीले विभिन्न राजनीतिक पार्टीमा, संसारका अन्य देश वा नेपालमा पनि सही दृष्टिकोण, राजनीतिक लाइन अपनाउन नसकेमा वा अनुशासन पालन गर्न नसकेमा कैयौँ युवक व्यक्तिलाई पनि नेतृत्वबाट हटाइएका थुप्रै उदाहरण छन् । अर्कातिर, संसारका विभिन्न राजनीतिक पार्टी वा कम्युनिस्टमा पनि धेरै नै वृद्ध अवस्थामा पुगेपछि पनि राजनीतिक पार्टी वा सरकारको नेतृत्वमा रहेका पनि थुप्रै उदाहरण पाइन्छन् । त्यसकारण वृद्धावस्थामा पुगेको हुनाले नेतृत्वबाट हट्नुपर्छ वा युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने नियम कतै पनि पाइदैन । त्यही प्रकारले पुस्तान्तरणको प्रश्न पनि अनावश्यक तर्क हो । कुनै व्यक्ति वृद्ध वा अशक्त भएपछि ऊ स्वत: नै नेतृत्व वा कुनै प्रकारको गतिविधिका लागि असमर्थ हुन्छ र ऊ स्वभावत: नेतृत्वबाट हट्नुपर्दछ तर त्यो अवस्थामा पनि त्यस प्रकारको नेतृत्व हस्तान्तरण युवा पुस्तामा नै हुनुपर्दछ भन्ने कुनै नियम छैन । एउटा वृद्ध व्यक्ति नेतृत्वबाट हटेपछि त्यसको ठाउँमा अर्को वृद्ध व्यक्ति पनि नेतृत्वमा आउन सक्दछ वा अर्को कम उमेरको युवक पनि नेतृत्वमा आउन सक्दछ । त्यसरी एउटा पुस्ताबाट अर्को पुस्तामा नै नेतृत्वको हस्तान्तरण भन्ने कुनै नियम छैन । कैयौँ देशमा कतिपय नयाँ पुस्ताबाट नेतृत्वमा आएका व्यक्तिले पनि कुनै राजनीतिक पार्टी, सरकार वा देशलाई गलत दिशामा लगेका पनि थुप्रै उदाहरण पाइन्छन् । त्यसकारण प्रश्न पुस्तान्तरणको होइन तर नेतृत्वको हस्तान्तरण हो र आवश्यकताअनुसार त्यो विभिन्न पार्टीमा भई पनि रहन्छ । कुनै देशमा वा पार्टीमा कुनै नेतृत्व लामो वा छोटो अवधिका लागिरहन्छ, त्यसका लागि कुनै निर्धारित नियम छैन । त्यो कुरा विभिन्न पार्टीको अवस्था वा आवश्यकताअनुसार टुङ्गिने कुरा हो ।

    ७. अहिले विभिन्न राजनीतिक पार्टी वा सरकारको नेतृत्व गरिरहेका धेरैजसो वृद्ध नेताले युवाअवस्थामा नै विभिन्न पार्टीमा प्रवेश गरेका थिए । त्यो बेला देशमा निरङ्कुश वा पञ्चायती व्यवस्था थियो । त्यो अवस्थामा उनीहरू तुरुन्त नै सांसद वा मन्त्री बन्ने पनि कुनै सम्भावना थिएन । उनीहरूले कडा दमन, जेलनेल वा मृत्युको समेत सामना गर्नुपर्दथ्यो र उनीहरूमध्ये धेरैले त्यस प्रकारको अवस्थाको सामना पनि गर्दै आउनुपरेको थियो तर अहिले जुन जेनजी आन्दोलनमा उत्रेका छन्, उनीहरूमध्ये धेरैले तुरुन्तै सांसद, मन्त्री वा प्रधानमन्त्री बन्ने कुरालाई नै अगाडि सारेको पाइन्छ । त्यसका लागि उनीहरूका विचमा धेरै विवाद हुने, कुटपिट हुने वा एकअर्काका विरुद्ध नाराबाजीसमेत गर्ने गरेको पाइन्छ । लामो त्याग र बलिदानको इतिहासबाट आएका कैयौँ नेता पनि पछि भ्रष्ट हुन सक्दछन् वा बिग्रन सक्दछन् भने सुरुमा नै सरकारी पद वा प्रतिष्ठाको लागि आपसको विवाद वा सङ्घर्षमा उत्रने युवाले भविष्यमा कहाँसम्म देश र जनताको इमानदारीपूर्वक र निरन्तर सेवा गर्न सक्लान् ? त्यो पनि विचारणीय प्रश्न हुन जान्छ । अहिलेका जेनजीको मुख्य समस्या के हो भने उनीहरूको त्यस प्रकारको वैचारिक वा राजनीतिक परिपक्वताको कुनै पनि पृष्ठभूमि छैन । उनीहरूमा अहिलेदेखि नै पद वा नेतृत्वका लागि हुन थालेको विवाद वा एकअर्काका विरुद्धको नाराबाजी समेतबाट उनीहरूको धरातल अत्यन्त कमजोर भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यो अवस्थामा उनीहरूले पुराना नेताले भन्दा देशलाई सही नेतृत्व दिन सक्नेछन् भन्ने विश्वास गर्नका लागि उनीहरू लामो अनुभव, कैयौँ प्रकारका परीक्षा वा कसौटीमा उत्रनु आवश्यक हुनेछ । त्यस प्रकारको परीक्षा वा कसौटीमा गएर नखारिईकन उनीहरूमाथि पूरैै विश्वास गर्नु देशको लागि घातक पनि हुन सक्दछ । अहिले नै उनीहरूलाई विभिन्न राजनीतिक पार्टी वा देशभित्रका साम्राज्यवादी शक्तिले पनि उपयोग गर्न थालेका कैयौँ उदाहरण बाहिर आउन थालेका छन् । त्यसबाट यो कुरामा कुनै शङ्का रहन्न कि लामो अनुभव र परीक्षाबाट नखारिईकन कसैलाई पनि राजनीति वा देशको नेतृत्वका लागि उपयुक्त ठान्नु अवश्य पनि सही हुने छैन । विभिन्न साम्राज्यवादी वा प्रतिक्रियावादी शक्तिले जनतालाई प्रभावित गर्नका लागि विभिन्न देश वा कालमा धर्म, सम्प्रदाय, जाति, क्षेत्र र अहिले उमेर समूह आदिलाई अगाडि ल्याउने गरेका छन् र त्यही क्रममा उनीहरूले नेपालको राजनीतिलाई उमेर वा पुस्तान्तरणको प्रश्नलाई पनि अगाडि ल्याउने गरेका छन् । हामीले त्यसका पछाडिको साम्राज्यवादी वा प्रतिक्रियावादी चाललाई ठिकसित बुझ्नुपर्ने आवश्यकता छ ।

    ८. भदौ २३ र २४ गतेको आन्दोलनमा युवा पुस्ता ठुलो सङ्ख्यामा आन्दोलनमा देखा परेको भए पनि वास्तविकता यो हो कि अहिले युवामा राजनीतिप्रति धेरै नै वितृष्णा पाइन्छ । उनीहरूमा विदेशमा पलायन गरेर व्यक्तिगत क्यारियर बनाउने प्रवृत्ति नै बढी पाइन्छ । अहिले भदौ २३ र २४ को आन्दोलनमा जुन युवा अगाडि आए, उनीहरूमा पनि केही न केही विदेशी शक्तिको प्रभाव परेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यो आम रूपमा थाहा भएको कुरा हो कि अमेरिकी राजदूताबासले नेपाली युवालाई विभिन्न प्रकारका प्रलोभन दिएर ठुलो सङ्ख्यामा सङ्गठित गर्ने प्रयत्न गर्दै आएको छ र अहिलेको नेपालको जेनजी आन्दोलनमा पनि उनीहरूको सक्रिय भूमिका रहेको छ । त्यसबाट सही सैद्धान्तिक र राजनीतिक दृष्टिकोणको अभावमा नेपालका युवाको भूमिका कति गलत र खतरनाक हुन सक्दछ ? त्यो कुरामा कुनै शङ्का रहन्न । अहिलेको जेनजी आन्दोलनको मूल्याङ्कन गर्दा त्यो पक्षको पनि पूरैै उपेक्षा गर्न सकिन्न ।

    ९. भदौ २३ गते युवाको शान्तिपूर्ण आन्दोलनमा भएको बर्बर दमन वा नरसंहारलाई पनि हामीले गम्भीर रूपमा लिनुपर्दछ । त्यो दिन कलिला विद्यार्थीलाई समेत जसरी छाती र टाउकोमा गोली हानेर ठुलो सङ्ख्यामा हत्या गरियो, त्यो नेपालको इतिहासको नै अत्यन्त गम्भीर र आपत्तिजनक कारबाही हो । त्यसको लागि ओली सरकार जिम्मेवार भएको कुरालाई कुनै पनि अवस्थामा अस्वीकार गर्न सकिन्न । अहिले उनले त्यस प्रकारको बर्बर दमनको लागि कुनै आदेश नदिएको, त्यसमा प्रयोग गरिएका गोली पनि पुलिसका नभएका वा घुसपैठियाद्वारा नै त्यस प्रकारको कारबाही भएको भन्ने दाबी गरिरहेका छन् । संसारका कैयौँ देशमा घुसपैठियाद्वारा त्यस प्रकारका कारबाही गरेका पनि कैयौँ उदाहरण पाइन्छन् । नेपालमा पनि ओलीले भनेजस्तो घुसपैठियाद्वारा त्यस प्रकारको कुनै कारबाही गरिएको थियो वा थिएन ? त्यसबारे गम्भीर प्रकारको छानबिन गरेर सत्यमा पुग्ने प्रयत्न गर्नु आवश्यक छ । यदि ओलीसित त्यस प्रकारको कुनै प्रमाण छ भने उनले ती तथ्य अगाडि ल्याउनुपर्दछ । जे होस्, भदौ २३ गतेको त्यो दमनको कारबाही अत्यन्त गम्भीर कुरा हो र त्यसबाट भदौ २४ गतेको उग्र कारबाही पनि प्रभावित भएको कुरा अस्वीकार गर्न सकिन्न । ओलीले २३ गतेको बर्बर हत्याकाण्डमा उनको सरकारको कुनै भूमिका नरहेको भनेर दाबी गरे पनि आवश्यक प्रमाणद्वारा पुष्टि नहुँदासम्म उनको त्यो दाबीमाथि विश्वास गर्न सकिन्न । उनको अधिनायकवादी र स्वेच्छाचारी प्रकारको कार्यप्रणाली आम रूपमा थाहा भएको कुरा हो । आफ्नै सङ्गठनभित्र वा राजकीय कार्यप्रणालीमा पनि उनको त्यस प्रकारको अधिनायकवादी कार्यप्रणाली बारम्बार देखा पर्दै आएको छ । गत कालमा पनि उनले सत्य र तथ्यको बारम्बार तोडफोड गर्दै आएका छन् । त्यो अवस्थामा उनले भदौ २३ गतेको दमन र हत्याकाण्डमा घुसपैठियाको भूमिका रहेको दाबी गरे पनि त्यसमाथि विश्वास गर्न मुस्किल पर्दछ । त्यो अवस्थामा जेनजीले २३ गतेको दमनकारी कारबाहीका लागि जिम्मेवार व्यक्तिमाथि छानबिन र कारबाहीको जुन माग गरिरहेका छन्, त्यसलाई गलत भन्न सकिन्न । त्यसको लागि सरकारले एउटा जाँचबुझ आयोग पनि बनाएको छ तर त्यसले त्यो कार्य कहाँसम्म निष्पक्षतापूर्वक गर्न सक्नेछ ? त्यो कुरा निश्चित रूपले भन्न सकिन्न । पहिले पनि विभिन्न आयोगले दिएका विभिन्न प्रतिवेदनमाथि कारबाही नगरिएका थुपै्र उदाहरण छन् । त्यो अवस्थामा अहिलेको जाँचबुझ आयोगको भूमिका वा त्यसले दिएको प्रतिवेदनबारे पनि छानबिन हुने कुरामाथि शङ्का गर्नका लागि ठाउँ छ ।

    १०. भदौ २४ गतेको ध्वंसात्मक कार्यबाट देशलाई धेरै नै क्षति पुगेको छ । त्यो क्षति पूरा गर्न करिब १,३०० विकासका कार्यक्रम स्थगित गर्नुपरेको छ । त्यो दिनको कारबाहीबाट क्षतिग्रस्त भएका सरकारी वा सार्वजनिक सम्पत्तिको पुनर्संरचनाका लागि खरबौँ रुपैया लाग्नेछ र त्यसको लागि दशकौँको समय लाग्नेछ । त्यो दिनको कारबाहीबाट हजारौँको सङ्ख्यामा कैदी जेलबाट भागेका थिए वा भगाइएका थिए । त्यो पनि सामान्य कुरा होइन । स्पष्ट छ कि कुनै स्वत:स्फूर्त भिडद्वारा होइन, कुनै गहिरो षड्यन्त्र वा योजनाअन्तर्गत नै उनीहरूलाई भगाइएको थियो । त्यो दिन करिब ५ सय प्रहरीचौकी पनि ध्वस्त गरिएका छन् । ठुलो सङ्ख्यामा कैदी भाग्ने वा प्रहरी चौकी ध्वस्त हुने समेत कुराबाट त्यो दिन सुरक्षाको व्यवस्था अत्यन्त कमजोर भएको कुरा नै बुझिन्छ । सर्वोच्च अदालतसहित विभिन्न अदालतका कागज पनि योजनाबद्ध प्रकारले जलाइएका छन् । खास गरेर कुनै अपराधजन्य मुद्दासँग सम्बन्धित मिसिललाई नै योजनाबद्ध प्रकारले जलाउने काम गरिएको छ । त्यसबाट पनि भदौ २४ गतेको ध्वंसात्मक कारबाही खास योजनाअन्तर्गत नै गरिएको थियो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । त्यो दिन सेना वा प्रहरीले पनि सुरक्षाको लागि पर्याप्त व्यवस्था गर्न नसकेको देखिन्छ । त्यो दिन सेनाले थोरै मात्र निगरानी गरेको भए पनि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत आदि निकाय बचाउन सकिन्थ्यो । भदौ २४ गतेपछि त्यसबारे सेनाले ध्यान दिएपछि कुनै ध्वंसात्मक कार्य भएका थिएनन् । त्यही कुरा २४ गते हुन सकेको भए देशभरि भएका धेरै क्षतिलाई रोक्न सकिने कुरा स्पष्ट छ । भदौ २४ गते सेनाले सुरक्षाप्रति ध्यान नदिनुको कारण के थियो ? त्यसबारे पनि ध्यान दिनुपर्ने आवश्यकता छ । त्यही प्रकारले प्रहरीले पनि त्यो दिन पर्याप्त ध्यान दिन सकेको थिएन र स्वयम् उनीहरूका नै देशभरमा करिब ५०० चौकी ध्वस्त गरिएका थिए । जेलबाट पनि देशभरि हजारौँको सङ्ख्यामा कैदी उम्केका थिए । त्यसबाट पनि सुरक्षा व्यवस्था अति नै कमजोर भएको कुरा प्रष्ट हुन्छ । राजधानीमा त्यस प्रकारको ठुलो क्षति हुनुका साथै देशभरि नै सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको देखिन्छ । यो अत्यन्त गम्भीर स्थिति हो । त्यसबारे छानबिनको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    ११. त्यस प्रकारको ध्वंसात्मक कार्यका लागि को जिम्मेवार थियो र त्यसका पछाडिको उद्देश्य के थियो ? त्यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ । यो स्पष्ट छ कि जेनजीद्वारा त्यस प्रकारका ध्वंसात्मक कार्य भएका थिएनन् । केही घण्टाका बिचमा त्यस प्रकारका कार्य गर्नु उनीहरूका लागि सम्भावना नै थिएन र स्वत:स्फूर्त रूपमा अगाडि आएका आन्दोलनकारीद्वारा ती कार्य पूरा गर्नु पनि सम्भव थिएन । एउटा लामो योजना तथा तोडफोडको लागि विज्ञ व्यक्तिद्वारा नै त्यस प्रकारका कार्य गर्नु सम्भव थियो र त्यो गरिएको पनि थियो । प्रथमत: नेपालको प्रमुख प्रशासनिक केन्द्रमा गरिएका त्यस प्रकारको आगजनीबाट कैयौँ अन्तर्राष्ट्रिय महत्त्वका दस्तावेज वा सन्धि नष्ट भएका छन् । त्यस प्रकारको कारबाहीबाट नेपालको अन्य देशसितको सम्बन्ध कमजोर वा नेपाल असफल राष्ट्रमा परिणत हुने सम्भावना पनि बढेर गएको छ । नेपालका लुटपाट वा तोडफोडसित सम्बन्धित असामाजिक तत्त्वलाई पनि त्यस प्रकारको क्षतिबाट कुनै फाइदा हुने कुरा थिएन र त्यसकारण त्यो कार्य उनीहरूद्वारा नगरिएको कुरा पनि स्पष्ट छ । त्यो अवस्थामा यो कुराको अनुमान गर्न सकिन्छ कि कतिपय विदेशी तत्त्व नै त्यस प्रकारको ध्वंसात्मक कार्यमा संलग्न भएको कुरा अनुमान गर्न सकिन्छ । सर्वोच्च अदालतसहित देशका कतिपय अदालतका कागजपत्र वा मुद्दामामिलासम्बन्धी विषय नष्ट गर्ने कार्यमा ती मुद्दामामिलासित सम्बन्धित अपराधिक तत्त्व वा ती मुद्दासित सिधै जोडिएका राजनीतिक तत्त्व पनि संलग्न भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । कतिपय राजनीतिक तत्त्व पारस्परिक विरोधका कारणले पनि विरोधी राजनीतिक पार्टीका कार्यालयको तोडफोड गर्ने काममा अग्रसर भएको देखिन्छ र भएको कुरा प्रत्यक्ष रूपले नै देखिएको छ । त्योबाहेक असामाजिक तत्त्व पनि देशव्यापी रूपमा सक्रिय भएको पाइन्छ । कतिपय स्थानमा उनीहरूको लुटपाटको दौरानमा आगलागीमा परेर मृत्यु भएको कुरा पनि सञ्चारमाध्यमले बाहिर ल्याएका छन् । त्यसरी अब यो प्रश्न उठ्छ : त्यसबाट यो कुराको अनुमान गर्न सकिन्छ कि त्यो दिनको त्यस प्रकारको ध्वंसात्मक कार्य लामो योजनाको नै परिणाम थियो । त्यसको लागि को जिम्मेवार थियो ? छानबिन गरेर त्यो कुरा प्रकाशमा ल्याउनुपर्दछ र सम्बन्धित जिम्मेवार व्यक्तिलाई कारवाहीको घेरामा ल्याउनु आवश्यक छ । यदि त्यस प्रकारका कार्य विदेशी तत्त्वसित सम्बन्धित भए सम्बन्धित च्यानलद्वारा सरकारले त्यसबारे कारवाहीलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । त्यस सन्दर्भमा यो कुरा पनि विचारणीय छ कि त्यो दिनको ध्वंसात्मक कार्यका लागि जिम्मेवार कैयौँ व्यक्तिलाई गृहमन्त्रालयले नै मुक्त गर्ने काम गरेको थियो । अहिलेको सरकार जेनजीको नै सरकार हो । त्यसकारण त्यो दिनको अपराधजन्य कार्यको लागि नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवार व्यक्तिको निर्देशनमा नै त्यो दिनका अपराधजन्य कारबाहीमा गिरफ्तार भएका व्यक्तिलाई छाड्ने काम गरिएको कुरा बुझ्न गाह्रो पर्दैन । सरकारमा त्यस प्रकारका तत्त्वको नेतृत्वदायी भूमिका गम्भीर विचारणीय विषय हो र त्यसबाट देशमा आगामी दिनमा कैयौँ गम्भीर परिणाम पनि हुन सक्दछन् । त्यसकारण त्यसबारे सम्पूर्ण देश र जनताको ध्यान जानुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा पछिल्ला दिनमा प्रहरी केही सक्रिय हुन थालेको पनि देखिएको छ । गृहमन्त्रीको २४ गतेको अपराधजन्य कार्यप्रतिको धोकाप्रति देशव्यापी रूपमा भएको चर्को विरोधका कारणले नै प्रहरीमा त्यस प्रकारको सक्रियता बढेको कुराको अनुमान गर्न सकिन्छ । गृहमन्त्रीको त्यस प्रकारको निर्देशनप्रति देशमा गम्भीर प्रकारको असन्तोष वा विरोध पैदा भयो, सायद त्यही कारणले गृहमन्त्री पहिलेको आफ्नो अडानमा कायम रहन सकेनन् र अहिले प्रहरी प्रशासनद्वारा भदौ २४ गतेको अपराधजन्य कारवाहीका लागि जिम्मेवार व्यक्तिलाई गिरफ्तार गर्ने वा उनीहरूका विरुद्ध मुद्दा चलाउने काम भइरहेको छ तर हामीले यो कुरामा जोड दिन्छौँ कि कसैका विरुद्ध राजनीतिक प्रतिशोध वा बदलाको भावनाले काम नगरियोस् र निष्पक्ष र न्यायपूर्ण तरिकाले छानबिन वा कारवाही गरियोस् ।

    १२. जेनजी आन्दोलन वा त्यसपछि सरकारको गठनको क्रममा पनि दलीय प्रणालीमाथि नै बढी प्रहार गर्ने प्रयत्न गरेको पाइन्छ । त्यो आन्दोलनपछि जेनजीको सुझावमा बनेको सरकारको निर्दलीय प्रकृतिबाट पनि त्यो कुराको अनुमान गर्न सकिन्छ । समाजका अन्य सबै क्षेत्रमा जस्तै दलीय प्रणालीमा पनि कैयौँ कमजोरी भएको कुरालाई अस्वीकार गर्न सकिन्न । शिक्षा, स्वास्थ्य, प्रशासन, समाज सेवा, परिवार, पत्रकारिता र यहाँसम्म कि विभिन्न धार्मिक संस्थामा पनि कैयौँ गलत प्रकारका कारबाही हुने गरेका थुप्रै उदाहरण पाइन्छन् तर त्यो कारणले ती सबैलाई निषेध वा उन्मूलन गर्ने कुरा सोच्नु सही हुने छैन । त्यही कुरा राजनीति वा पार्टीबारे पनि सत्य हो । विभिन्न प्रकारका गलत सिद्धान्त र राजनीतिक धारणा वा त्यहाँ हुने गलत नीति वा भ्रष्ट कारबाहीका कारणले राजनीतिक पार्टीले पनि कैयौँ गलत नीति अपनाएका वा जनविरोधी कार्यक्रम गरेका थुप्रै उदाहरण पाइन्छन् । कतिपय देशमा राजनीतिक पार्टीबाट नै तानाशाही वा फासिष्ट शासन प्रणाली अगाडि आउने गरेका उदाहरण पनि पाइन्छन् तर त्यसको अर्को महत्त्वपूर्ण पक्ष के हो भने समाजको विकासमा वा समाजमा विद्यमान सबै गलत प्रकारका व्यवस्था समाप्त गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण वा निर्णायक भूमिका राजनीति वा पार्टीको नै रहने गरेको छ । सबै निरङ्कुश शासन र फासिष्ट प्रणालीले राजनीतिक पार्टीको अस्तित्वलाई समाप्त गर्न सधैँ प्रयत्न गर्दै आएका छन् । त्यसरी दलीय प्रश्न सम्पूर्ण संसारको र विश्वको इतिहासको नै एउटा अत्यन्त गम्भीर विवादको विषय बन्दै आएको छ । विभिन्न देशमा विभिन्न प्रसङ्गमा त्यो विवाद नयाँ नयाँ रूपमा अगाडि आउने गरेको छ र त्यही प्रकारको पृष्ठभूमिमा अहिले नेपालमा पनि जेन्जी आन्दोलनपछि दलीय प्रणालीअन्तर्गत देखा पर्ने सबै गलत विचार नीति वा कार्यको हामीले विरोध गर्नुपर्दछ तर यसबारे पनि हामी स्पष्ट हुनुपर्दछ कि दलीय प्रणालीको अभावमा संसारको कुनै देशमा र नेपालमा पनि समाजको विकास सही रूपमा अगाडि बढ्न सक्दैन । त्यसैले सही सिद्धान्त, नीति र कार्यक्रमको आधारमा त्यसलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुनुपर्दछ । समाजका अन्य सबै क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा पनि बलियो र अनुशासित सङ्गठनको आवश्यकता पर्दछ । त्यसको अभावमा राजनीतिक आन्दोलन अराजक बन्दछ र त्यसबाट कैयौँ प्रकारका क्षति पुग्ने नै बढी सम्भावना हुन्छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्धको आन्दोलन सही हुँदाहुँदै पनि उनीहरूको आन्दोलनले जसरी अराजक र दिशाहीन रूप लिन पुग्यो र त्यसलाई कैयाँै देशी वा विदेशी गलत तत्त्वले उपयोग गर्न पुगे, त्यसबाट पनि कुनै सिद्धान्त, नीति, कार्यक्रम, अनुशासन वा सङ्गठनको आधारमा नै कुनै राजनीतिक आन्दोलन सङ्गठित हुनु आवश्यक भएको कुरा प्रष्ट छ । राजनीतिक आन्दोलनलाई सङ्गठित गर्ने कार्य राजनीतिक पार्टीको माध्यमद्वारा नै हुन सक्दछ ।

    १३. नेपालको अहिलेको राजनीतिको एउटा अत्यन्तै गम्भीर समस्या लोकप्रियतावाद हो । लोकप्रियतावाद भनेको विद्यमान सत्ताका गलत नीति वा कार्यका कारणले जनतामा पैदा हुने असन्तोष वा निराशाको भावना हो । त्यो मुख्य रूपले नकारात्मक प्रकारको सोचाइ हो र त्यसको कुनै सकारात्मक उद्देश्य वा कार्यक्रम हुँदैन । जनताको त्यस प्रकारको लोकप्रियतावादी सोचाइबाट प्रतिक्रियावादीले आफ्ना निहीत स्वार्थ पूरा गर्ने गर्दछन् । नेपालको अहिलेको राजनीतिमा त्यस प्रकारको लोकप्रियतावादी सोचाइ गम्भीर समस्या बनेको छ र अहिलेको जेन जी आन्दोलनका पछाडि पनि त्यस प्रकारको लोकप्रियतावादी सोचाइले धेरै नै काम गरेको छ । सत्तापक्षका गलत नीति र कार्यबाट जनता वा नयाँ पुस्तामा पनि धेरै नै असन्तोष र निराशाको भावना देखा पर्‍यो र त्यसबाट विभिन्न देशी वा विदेशी गलत तत्त्वले आफ्नो निहित स्वार्थ पूरा गर्ने प्रयत्न गरे । त्यसको समाधान खालि जनतामा उच्च प्रकारको चेतना ल्याएर नै हुन सक्दछ ।

    १४. विश्वभरको र नेपालको पनि राजनीतिक इतिहासले यो प्रमाणित गरिसकेको छ कि कुनै पनि देशको विकास, राजनीति वा प्रजातान्त्रिक प्रणालीका लागि पनि राजनीतिक दल अनिवार्य हुन्छन् । नेपालको राजनीतिमा पनि राजनीतिक दलको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । राणाको निरङ्कुश शासन, पञ्चायती तानाशाही शासन २०५९ सालमा कायम भएको निरङ्कुश शासन वा संविधानसभाको चुनाव वा राजतन्त्रको अन्त्य पनि राजनीतिक दलको भूमिकाका कारणले नै सम्भव भएको हो । त्यसकारण यो स्वाभाविक हो कि राजनीतिक दलको त्यस प्रकारको भूमिकाबाट जुन प्रतिक्रियावादी शक्तिलाई क्षति पुग्यो, उनीहरूले दलीय प्रणालीको विरोध गर्दै आएका छन् र अहिले पनि विरोध गरिरहेका छन् । उनीहरूको त्यस प्रकारको विरोधका पछाडि एउटै अभिप्राय रहेको छ, निर्दलीय व्यवस्थाको स्थापना वा स्पष्ट शब्दमा भन्ने हो भने राजतन्त्रको पुनस्र्थापना । निश्चयनै गतकालमा दलीय व्यवस्थामा धेरै नै दोष वा असङ्गति रहेका छन् । त्यसरी हेर्ने हो भने त राजतन्त्र वा निरङ्कुश शासनको इतिहासमा सयकडौँ गुना बढी दोष र असङ्गति रहने गरेका छन् । शाही शासनकालमा भएका कैयौँ काण्ड, राणाशासनमा भएका बर्बर दमन, पञ्चायती शासनमा भएका व्यापक बलात्कार हत्याकाण्ड वा राजपरिवारद्वारा ठुला पैमानामा भएका भ्रष्टाचार, तस्करी र महिलामाथिका बलात्कार र हत्याकाण्ड, गुण्डागर्दी आदि राजतन्त्र वा निरङ्कुश शासनअन्तर्गत देशको स्थिति कस्तो थियो ? त्यो कुरामा कुनै शङ्का रहन्न ।

    यसरी समग्र रूपमा तुलना गरेर हेर्ने हो भने देश वा राजनीतिको अग्रगामी विकासका लागि दलीय प्रणालीबाहेक अन्य कुनै विकल्प छैन तर त्यस सन्दर्भमा हाम्रो जोड सही दर्शन, सिद्धान्त वा राजनीतिक लाइनका आधारमा दलीय प्रणालीलाई अगाडि बढाउने हुनुपर्छ र त्यसका आधारमा जनतामा उच्च राजनीतिक चेतना उठाउने हाम्रो प्रयत्न हुनुपर्दछ । कैयौँ राजनीतिक सङ्गठन गलत प्रकारका वा जनविरोधी नीति, कार्यक्रमका आधारमा पनि बनेका हुन्छन् । समाजका अन्य सबै क्षेत्रमा जस्तै राजनीतिको क्षेत्रमा पाइने त्यस प्रकारका सबै गलत कुराको पनि विरोध गर्नुपर्दछ । अहिले नेपालका राजनीतिक दललाई दुई भागमा बाँडेर हेर्नुपर्छ । एकातिर प्रजातान्त्रिक वा वामपन्थी जुन रूपमा भए पनि अग्रगमनको दिशामा काम गर्दै आएका राजनीतिक दल, अर्कोतिर, प्रतिक्रियावादी राजनीतिक शक्ति तर अहिलेको समस्या के हो भने प्रथम पक्षमा भएका राजनीतिक दलको स्वयम् आफ्नै घोषित सिद्धान्त र नीति वा कार्यप्रणालीमा पनि धेरै नै पतन हुँदै आएको छ । त्यसले गर्दा सत्तामा गएपछि पनि उनीहरूले देश र जनताप्रति सही प्रकारले आफ्ना जिम्मेवारी पूरा गर्न सकेका छैनन् । त्यसैले प्रतिक्रियावादी राजनीतिक शक्तिलाई उनीहरूमाथि हमला गर्ने धेरै अवसर प्राप्त भएको छ । त्यसैले हामीले बारम्बार उनीहरूको त्यस प्रकारको चरित्र वा कार्यप्रणालीको विरोध गर्दै उनीहरूमा रूपान्तरणको आवश्यकतामा जोड दिँदै आएका छौँ । उनीहरूको त्यस प्रकारको कार्यप्रणालीका कारणले नै जनतामा व्यापक रूपमा असन्तोष र निराशा पैदा भयो र त्यसबाट लोकप्रियतावादी विचारलाई अगाडि आउने र त्यसका आधारमा प्रतिक्रियावादी शक्तिलाई शक्तिशाली बन्ने अवसर प्राप्त भयो । त्यसको परिणामस्वरूप नै प्रतिक्रियावादी शक्तिलाई दलीय प्रणाली नै गलत हो भन्ने प्रचार गर्न पनि अवसर प्राप्त भयो । त्यस प्रकारको पृष्ठभूमिमा नै जेनजी आन्दोलन पनि अगाडि आयो, जसको कुनै सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन वा नेतृत्व छैन तैपनि त्यसले देशमा कैयौँ परिवर्तन ल्यायो । निश्चय नै यी सबैको समाधान दलीय प्रणाली नै हो र हामीले अग्रगमनको पक्षमा भएका राजनीतिक दलमा रूपान्तरणका लागि जोड दिँदै प्रतिक्रियावादी वा निर्दलीय पक्षपाती शक्तिका विरुद्ध शसक्त सङ्घर्ष बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    —ख—

    १५. अन्तरिम सरकारले फागुन २१ गतेको लागि चुनावको घोषणा गरेको छ । प्रथमत: त्यो चुनाव हुने वा नहुने कुरा निश्चित छैन । एकातिर विभिन्न जेनजीका अगुवाले उनीहरूका मागअनुसार चुनाव नभएमा, जसमा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखको चुनावको कुरा मुख्य छ, चुनावमा भाग नलिने घोषणा गरेका छन् । त्योबकाहेक कतिपय राजनीतिक पक्षले विघटित संसद्को पुन:स्थापनामा नै जोड दिएका छन् । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि प्रथमत: अहिलेको अन्तरिम सरकार असंवैधानिक तरिकाले बनेको हो । त्यसका साथै त्यही असंवैधानिक तरिकाले बनेको सरकारको सिफारिसमा प्रतिनिधिसभासमेत विघटन गरिएको छ । यहाँ यो उल्लेखनीय छ कि पहिले जेनजीको आन्दोलनमा प्रतिनिधिसभा विघटनको कुनै माग राखिएको थिएन । जेनजी युवाभन्दा बाहिरका व्यक्तिको जोडले नै प्रतिनिधिसभा विघटन गरिएको हो । अब जेनजीमा अहिलेको अन्तरिम सरकार पनि उनीहरूको नभएको भनेर आवाज उठ्न थालेको छ । अब उनीहरूले अहिलेको संविधानलाई पूरैै खारेज गरेर नयाँ अन्तरिम संविधानको निर्माणको कुरा पनि उठाउन थालेका छन् । खास गरेर अहिलेका प्रधानमन्त्रीले जेनजीले वा कतिपय वामपन्थी नेताले पनि चुनाव सम्पन्न गर्नको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणालाई पनि अनिवार्य सर्तका रूपमा राखेका छन् भने अन्तरिम सरकारकी प्रधानमन्त्रीले वर्तमान संविधानका कारणले त्यस प्रकारको चुनाव हुन नसक्ने बताएकी छन् । उनको त्यस प्रकारको भिन्न मतको अवस्थामा जेनजी वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका मतका पक्षपातीले वर्तमान प्रधानमन्त्रीलाई हटाउने प्रयत्न पनि गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यस सन्दर्भमा विघटित संसद् पुनस्र्थापनाको मागबारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ । संसद्को विघटन असंवैधानिक तरिकाले भएको हुनाले त्यसको पुन:स्थापनाको मागलाई पूरैै गलत भन्न सकिन्न तैपनि यदि चुनाव हुन्छ भने त्यसलाई बहिष्कार गर्नु पनि सही हुने छैन । हामीले जहिले पनि वर्तमान संसदीय प्रणालीअन्तर्गत हुने कुनै पनि चुनावलाई कहिल्यै पनि सही समाधानको रूपमा लिएका हुँदैनौँ । त्यसको बहिस्कार गरेर आन्दोलनलाई सशक्त रूपले अगाडि बढाउन सक्ने अवस्था नभएकाले नै एउटा विकल्पको रूपमा चुनावको उपयोग गर्ने नीति अपनाएका हुन्छौँ । त्यसैले चुनाव भएको अवस्थामा जनतामा राजनीतिक प्रचार र भण्डाफोरका लागि त्यसलाई उपयोग गर्ने नै हाम्रो नीति हुनेछ वा हुनुपर्दछ ।

    १६. अहिले देश कुन दिशामा जान्छ ? निश्चित रूपले भन्न सकिने अवस्था छैन । जुन शक्तिले जेनजीको आन्दोलनको आडमा आफ्ना कैयौँ उद्देश्य पूरा गर्ने प्रयत्न गरे, उनीहरूले त्यो दिशामा अरू पनि आफ्नो उद्देश्य पूरा गर्ने प्रयत्न गरिरहनेछन् । अहिलेको अन्तरिम सरकारलाई दलाई लामाद्वारा तुरुन्त शुभकामना मात्र दिएको थिएन, त्यसका पछाडिको उद्देश्य वर्तमान सरकारलाई आफ्ना उद्देश्यका लागि अरू अगाडि बढाउने नै थियो र त्यो दिशामा उनीहरूले लगातार प्रयत्न गरिरहनेछन् । यदि वर्तमान अन्तरिम सरकारद्वारा आफ्नो उद्देश्य पूरा हुने नदेखेमा त्यसका ठाउँमा अर्को सरकार बनाएर भए पनि आफ्ना उद्देश्य पूरा गर्ने प्रयत्न गर्नेछन् । अहिले उनीहरूले प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी प्रमुखमा जुन जोड दिइरहेका छन्, त्यसका पछाडि पनि त्यही उद्देश्यले काम गरेको छ । पहिले सरकारमा भएका विभिन्न राजनीतिक शक्तिले सामान्यत: साम्राज्यवादपरस्त नीति नै अपनाएका थिए । उनीहरूले एमसिसीलाई पारित गरेको कुराबाट पनि त्यो कुरामा कुनै शङ्का रहन्न । आफूलाई वामपन्थी मात्र होइन, कम्युनिस्टको मूलधार बताउने तर अमेरिकी साम्राज्यवादको इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको एमसिसीलाई पनि समर्थन गर्ने, त्यो एउटा मात्र उदाहरणले पनि उनीहरूको साम्राज्यवादपरस्त नीतिलाई बताउँछ तैपनि त्यो बेलाका राजनीतिक शक्तिको त्यस प्रकारको साम्राज्यवादपरस्त नीति पनि अमेरिकी साम्राज्यवादको लागि पर्याप्त थिएन । उसलाई नेपालमा यस्तो सरकारको आवश्यकता थियो, जसले उसको निर्देशनअनुसार सिधै चीनका विरुद्ध र तिब्बतमा दलाई लामाको पक्षमा काम गरोस् । त्यसैले हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका थियौँ कि नेपालका विभिन्न राजनीतिक शक्तिले साम्राज्यावादपरस्त नीति अपनाए पनि अमेरिकाले उनीहरूलाई हटाएर पूरैै आफ्नो निर्देशनमा चल्ने सरकारको स्थापनाका लागि प्रयत्न गर्नेछ । व्यवहारले हाम्रो त्यो विश्लेषणलाई सही साबित गरेको छ ।

    १७. चुनाव प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि गर्ने कुरामा जेनजी पक्षले निकै जोड दिएको पाइन्छ । स्पष्ट छ कि त्यस प्रकारको चुनावको विचारका पछाडि देशमा तानाशाही व्यवस्था कायम गर्ने उद्देश्यले नै काम गरेको कुरा स्पष्ट छ । विदेशी साम्राज्यवादी शक्तिले पनि त्यही प्रकारको चुनावमा जोड दिइरहेका छन् किनभने त्यसरी कुनै व्यक्ति राष्ट्रप्रमुख भएमा उनीहरूले त्यसद्वारा अविछिन्न प्रकारले कुनै विनाअवरोध आफ्नो स्वार्थका पक्षमा काम गराइरहन सक्नेछन् । संसद्मा धेरै सांसदलाई विजयी बनाएर बहुमत गराएर प्रधानमन्त्री चुन्नुभन्दा एउटै व्यक्तिलाई राष्ट्रपति वा प्रधानमन्त्रीमा जिताउनु अपेक्षाकृत सजिलो हुन्छ । माओवादीले पनि सुरुदेखि नै प्रत्यक्ष रूपले निर्वाचित राष्ट्रपतिको चुनावमा जोड दिँदै आएका छन् । त्यसका पछाडि पनि उनीहरूको देशमा तानाशाही शासन कायम गर्ने उद्देश्यले काम गरेको कुरा प्रष्ट छ । उनीहरूले राष्ट्रपतिको शासन भए पनि विभिन्न तरिकाबाट त्यसमाथि नियन्त्रण कायम गर्न सकिन्छ भन्ने तर्क दिने गरेका छन् तर अमेरिकामा पनि त्यसरी राष्ट्रपतिको अधिनायकवादी शासनमाथि नियन्त्रण गर्नु सजिलो हुने गरेको छैन । त्यसैले त्यहाँ पनि प्रत्यक्ष रूपले निर्वाचित राष्ट्रपतीय शासनमा परिवर्तनका लागि आवाज उठ्न थालेको छ ।

    संसदीय प्रणाली पनि कुनै जनपक्षीय प्रणाली होइन । त्यही पनि तुलनात्मक रूपमा प्रत्यक्ष रूपले निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको तुलनामा त्यो बढी प्रजातान्त्रिक प्रणाली हो र त्यो व्यवस्थाअन्तर्गत अपेक्षाकृत सजिलैसित सरकारमाथि नियन्त्रण गर्न सकिन्छ र त्यसको तानाशाही कार्यप्रणालीमाथि बढी नियन्त्रण गर्न सकिन्छ । नेपालमा अहिलेको संविधानलाई खारेज गरेर पुनर्लेखन गर्ने र त्यसको ठाउँमा अन्तरिम संविधान बनाउने कुरा पनि पहिलेदेखि नै उठ्ने गरेको छ । एकातिर राजावादी र अर्कातिर भारतपरस्त तत्त्वले पहिलेदेखि नै त्यो कुरामा जोड दिँदै आएका छन् । त्यस प्रकारको सोचाइको पछाडि उनीहरूको संविधानमा भएका गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार वा बहुदलीय व्यवस्थालाई समाप्त गर्ने राजावादीको उद्देश्य तथा देशको राष्ट्रियता, अखण्डतामा आँच पुर्‍याउने भारतपरस्त तत्त्वको सोचाइले नै बढी काम गरेको छ । अहिले जेनजीले पनि तीनै विचारलाई बोकेर संविधानको खारेजी वा पुनर्लेखनको कुरा गरिरहेका छन् । कतिपय वामपन्थी पक्षले पनि वर्तमान संविधानलाई खारेज गर्ने कुरामा जोड दिन थालेको पाइन्छ । कतिपय पक्ष त अहिलेको अन्तरिम सरकारले प्रतिनिधिसभालाई खारेज गरेको कुरालाई पनि समर्थन गरेका छन् ।

    अहिलेको संविधान ६ दशकभन्दा बढी समयको नेपाली जनताको लामो र गौरवपूर्ण सङ्घर्ष तथा दुई दुईपटक संविधानसभा चुनाव गरेर नेपाली जनताको ठुलो प्रयत्नद्वारा बनाइएको संविधान हो । देशमा नयाँ जनवादी वा क्रान्तिकारी परिवर्तनको अवस्थामा विद्यमान संविधानलाई खारेज गर्नु नै पर्नेछ तर अहिले संविधानको खारेजी वा पुनर्लेखनको जुन कुरा भइरहेको छ, त्यसका पछाडिको उद्देश्य देशलाई प्रतिगमनतिर लैजाने वा देशको राष्ट्रियता र अखण्डतामा आँच पुर्‍याउने नै हो । कतिपय वामपन्थी पक्षले संविधानलाई खारेज गर्न जोड दिनुका पछाडि पनि राजावादीको जस्तै प्रतिगामी अभिप्रायले काम गरेको छ भन्ने हाम्रो सोचाइ छैन तैपनि प्रकारान्तरले त्यस प्रकारको सोचाइबाट प्रतिगमनलाई नै मदत पुग्ने कुरा स्पष्ट छ । त्यसकारण अहिलेको संविधानलाई खारेज गर्ने वा पुनर्लेखन गर्नेजस्ता कुनै पनि विचारलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ । कतिपय जेनजीले पनि वर्तमान संविधानलाई खारेज गर्ने वा पुनर्लेखन गर्ने कुरालाई आफ्नो आन्दोलनको माग बताएर त्यसमा जोड दिइरहेका छन् तर माथिको व्याख्याबाट यो कुरा प्रष्ट भइसकेको छ कि उनीहरूको आफ्नो बेग्लै नीति वा कार्यक्रम थिएन र उनीहरू कैयौँ बेग्लाबेग्लै समूहमा बाँडिएका छन् । त्यसैले उनीहरूले जेनजी आन्दोलनका माग भनेर जुन सोचाइलाई अगाडि ल्याउँछन्, ती पनि बेग्लाबेग्लै देशीविदेशी शक्तिका नीति नै हुन् । अहिले जेनजीको नाममा जुन समूहले सरकारसित बेग्लाबेग्लै माग पूरा गर्नका लागि दबाब दिने गरेका छन्, तिनीहरूमा पनि कुनै एकरूपताको अभावका कारणले मन्त्रिमण्डलमा उनीहरूको प्रतिनिधित्व पनि हुन सकेको छैन । कुनै एक पक्षका व्यक्तिलाई मन्त्रिमण्डलमा सामेल गर्न खोजेमा जेनजीको अर्को पक्षले नै उनीहरूका विरुद्ध नाराजुलुस गर्न थाल्दछन् । त्यसैले प्रधानमन्त्रीले समेत बाध्य भएर भन्नु परेको छ : जेनजी आन्दोलनको नेता को हो ? मैले चिन्न सकेकी छैन ।

    १८. अहिलेको जेनजी आन्दोलनको प्रत्यक्ष अनुभवबाट एउटा कुरा प्रष्ट भएको छ, जेनजी वा त्यो उमेर समूह देशमा कुनै प्रकारको आन्दोलनको नेतृत्व गर्न वा देशलाई राजनीतिक नेतृत्व दिन पनि सफल हुँदैन किनभने जेनजी समूह भनेको कुनै दर्शन, सिद्धान्त, राजनीतिक नीति र कार्यक्रम वा सङ्गठनात्मक पद्धतिमा सङ्गठित समूह होइन । त्यो एउटा उमेर समूह मात्र हो, जो विभिन्न विचार वा राजनीतिक धारामा पनि बाँडिएका हुन सक्दछन् । अहिलेको देशको अवस्थाको नै कुरा गर्ने हो भने जेनजी उमेरका युवा विभिन्न राजनीतिक पार्टीमा बाँडिएका छन् र जेनजी युवाले विभिन्न राजनीतिक पार्टीसितको संलग्नताअनुसार नै आफ्ना विचार प्रकट गर्ने गर्दछन् । त्यो कुरा अहिले जेनजीका बेग्ला बेग्लै समूहले अगाडि ल्याएको विचारबाट पनि प्रष्ट हुन्छ । उनीहरूको अर्को आधारभूत कमजोरी के हो भने उनीहरूमा सैद्धान्तिक स्पष्टता वा राजनीतिक परिपक्वता नभएको हुनाले उनीहरूलाई कुनै पनि राजनीतिक समूहले सजिलैसित उपयोग गर्न सक्दछ, जुन कुरा अहिलेको उनीहरूको थोरै दिनको आन्दोलनको अनुभवबाट पनि प्रष्ट भएको छ । त्यसकारण देशको कुनै आन्दोलनको सही नेतृत्व वा सही दिशानिर्देशनको लागि एउटा सही सिद्धान्त, राजनीति वा कार्यक्रममाथि आधारित राजनीतिक पार्टी नै चाहिन्छ यद्यपि यो कुरा बेग्लै हो कि कतिपय गलत राजनीतिक नेतृत्वले पनि जनतालाई कैयौँ प्रकारका भ्रम दिन सक्दछन् र त्यसबाट देशलाई धेरै नै नोक्सान पनि पुग्न सक्दछ तैैपनि देशको विकासको लागि परिपक्व राजनीतिक पार्टी वा नेतृत्वबाहेक अरू कुनै विकल्प छैन ।

    १९. अहिले देशमा भ्रष्टाचार गम्भीर समस्या बनेको छ र त्यसले गर्दा देशको विकासमा धेरै नै बाधा पुगेको छ । विभिन्न राजनीतिक पार्टी वा सङ्गठन पनि त्यस प्रकारको भ्रष्टाचारमा धेरै नै लिप्त भएको पाइन्छ तर त्यसको अर्को पक्ष यो हो कि त्यस प्रकारको भ्रष्टाचार गरे पनि उनीहरू ठुलो सङ्ख्यामा जनताको समर्थन प्राप्त गर्न वा चुनाव जित्न पनि सफल हुन्छन् । त्यो कुरा यहाँसम्म विकृत रूपमा पनि देखा पर्ने गरेको छ कि सहकारीको क्षेत्रमा अर्बौं रुपियाँ भ्रष्टाचार गर्ने तत्त्व पनि थोरै समयमा नै जनताको ठुलो समर्थन प्राप्त गर्ने वा चुनावमा महत्वपूर्ण सफलता प्राप्त गर्न सफल हुने गर्दछन् । त्यति मात्र होइन, उनीहरूका पक्षमा लाखौँ जनता हस्ताक्षर गर्न अगाडि आउँछन् । खालि सामान्य जनता मात्र होइन, कैयौँ माथिल्लो तहका नेताहरू जसमा कैयौँ शीर्षस्थ वामपन्थी नेता पनि आउँछन्, उनीहरूको पक्षमा हस्ताक्षर गर्न अगाडि आएको देखिन्छ । त्यसले नेपालको जनमत वा राजनीतिमा पनि गम्भीर प्रकारको विकृति भएको कुराको अनुमान गर्न सकिन्छ । जेनजीको आन्दोलनले भ्रष्टाचारको प्रश्नलाई गम्भीर रूपमा अगाडि ल्याएको थियो र त्यो सही पनि थियो । हाम्रो पार्टीले सधैँ भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै आएको छ र भ्रष्टाचारसित सम्बन्धित विषयमा निष्पक्षतापूर्वक कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ र अहिले पनि हामीले त्यस प्रकारको आवश्यकतामा जोड दिन्छौँ ।

    त्यस सन्दर्भमा दुईओटा कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता हुन्छ : प्रथम– देशमा भ्रष्टाचार उच्च राजनीतिक वृत्तका साथै प्रशासनयन्त्र वा न्यायपालिकामा पनि तलसम्म व्याप्त भएको छ । त्यसकारण भ्रष्टाचारलाई समाप्त गर्नका लागि राजनीतिक वृत्त, प्रशासनयन्त्र वा न्यायपालिकामा समेत भएको भ्रष्टाचारलाई समाप्त गर्न ठोस पहलकदमी गर्नुपर्ने आवश्यकता छ । अहिले २०४६ सालयता सार्वजनिक पदमा कार्यरत व्यक्तिको सम्पत्तिको नै जाँच गर्ने कुरा उठिरहेको छ । त्यसो गर्दा बढी बहुदलीय व्यवस्थामाथि नै हमला गर्ने र त्यसलाई गलत साबित गर्ने तथा त्योभन्दा पहिले कायम भएको पञ्चायती तानाशाही व्यवस्थालाई चोखो रहन दिने नै सम्भावना रहने छ । त्यसकारण हाम्रो पार्टीले २०१७ सालदेखि नै सत्तामा रहेका वा सार्वजनिक पदमा रहेका व्यक्तिको पनि सम्पत्ति छानबिन गर्ने कुरामा जोड दिएको छ, जसअन्तर्गत पूर्वराजा पनि आउनेछन् । उनीहरू सत्तामा हुँदा राष्ट्रिय सम्पत्तिको कति धेरै दुरूपयोग भयो ? त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने कुरामा हामीले जोड दिन्छौँ ।

    २०. अहिले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सामेल गर्ने कुरा जेनजीले चर्को रूपमा उठाउने गरेका छन् । त्यो विचारलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दछ । नेपालमा सर्वप्रथम हाम्रो पार्टीले नै त्यो विचार अगाडि ल्याएको थियो र सर्वोच्च अदालतले समेत सरकार र निर्वाचन आयोगलाई त्यसका लागि निर्देशन दिएको थियो तर अहिलेसम्म सर्वोच्च अदालतको त्यो निर्णयलाई कार्यान्वयन गर्न सरकारले कानुन बनाउने वा त्यसका लागि स्रोत र साधनको व्यवस्था गर्नेसमेत काम गरेको छैन । पहिले त्यसबारे सरकारले बनाएको नियममा पनि सार्क क्षेत्रबाहेक अन्य देशमा बसेका प्रवासी नेपालीलाई त्यस प्रकारको मतदानको व्यवस्था गर्ने कुरा गरेको थियो तर हाम्रो जोड यो कुरामा रहेको छ कि प्रवासी नेपाली ठुलो सङ्ख्यामा बस्ने सार्कका देश, मुख्यत: भारतमा बस्ने प्रवासी नेपालीलाई पनि त्यस प्रकारको मतदानको व्यवस्था गरिनुपर्छ ।

    २१. हामीले पहिलेदेखि नै प्रतिगमनका विरुद्धको सङघर्ष वा चुनावका बेलामा पनि विभिन्न राजनीतिक शक्तिसित तालमेलको नीति अपनाउँदै आएका थियौँ तर हाम्रो पार्टीको नवौँ महाधिवेशनले अपवादको रूपमा कुनै स्थानीय तहमा बाहेक अन्य पक्षसित चुनावका लागि कुनै तालमेल नगर्ने नीति निर्धारित गरेको छ । अहिले चुनाव भयो वा त्यसमा पार्टीले भाग लिने अवस्था आयो भने पनि हाम्रो नीति मुख्य रूपले कुनै पक्षसित चुनावी तालमेल नगर्ने र एक्लै चुनावमा जाने नै हुनेछ । चुनावमा हाम्रो मुख्य जोड जनतामा राजनीतिक प्रचार तथा अन्य पक्षको राजनीतिक भण्डाफोरमा नै हुनेछ । पहिले हामीले त्यही प्रकारको नीति अपनाएर चुनावमा भाग लिने गरेका थियौँ तर पछि अन्य पक्षले चुनावमा इमानदारी नदेखाउने वा अन्तरघात गर्ने गरेको हुनाले हाम्रो पार्टीको नवाँै महाधिवेशनले त्यो नीतिमा परिवर्तन गरेको थियो र अहिले पनि हाम्रो त्यो नीति कायम छ । त्यसरी एक्लै चुनाव लड्दा कैयौँ महत्त्वपूर्ण उपलब्धि हुनेछन्† जस्तै कि हामीले जनताका बिचमा व्यापक रूपले राजनीति प्रचार गर्न अन्य राजनीतिक शक्तिको भण्डाफोर गर्न, जनाधारको निर्माण गर्न, पार्टी र कार्यकर्ताको व्यापक परिचालन गर्न र त्यसरी सङ्गठनलाई शक्तिशाली बनाउन आदि ।

    एउटा अर्को दृष्टिकोणले पनि एक्लै चुनाव लड्दा हुने सुविधाजनक स्थितिप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । अन्य पक्षसित संयुक्त भएर चुनाव लड्दा हामीले धेरै नै आर्थिक भार बोक्नुपर्दछ र चुनावपछि हामीले धेरै नै ऋणको बोझ बोक्नुपर्दछ । एक्लै चुनाव लडेमा हामीले आफूले सक्नेजति नै चुनावमा खर्च गर्दछौँ र अनावश्यक ऋण बोक्नुपर्ने आवश्यकता हुँदैन । अन्य पक्षसँग संयुक्त भएर चुनाव लड्दा हामीले आफ्नो राजनीतिक भण्डाफोरलाई कतिपय प्रकारले सीमित राख्नुपर्ने आवश्यकता हुन्छ तर एक्लै चुनाव लड्दा हामीले राजनीतिक भण्डाफोरलाई पूरैै नै अगाडि बढाउन सक्दछौँ । अन्य पक्षसँग संयुक्त भएर चुनाव लड्दा हामीले सीमित रूपमा नै आफ्नो उम्मेदवार उठाउन पाउँदछौँ तर एक्लै चुनाव लड्दा हामीले देशव्यापी रूपमा नै चुनावलाई उपयोग गर्न सक्दछौँ । त्यसैले हामीले आगामी चुनावलाई एक्लै लड्नका लागि आफूलाई राजनीतिक, सङ्गठनात्मक र मानसिक रूपले अहिलेदेखि नै तयार पार्दै लैजानुपर्दछ ।

    २२. नेपालमा गत कालमा हुने चुनावको एउटा मुख्य समस्या के हो भने ती निष्पक्ष, स्वच्छ वा धाँधलीरहित तरिकाले हुने गर्दैनन् । चुनावमा करिब करिब खुला प्रकारले पैसाको प्रयोग गरिन्छ वा खुला रूपले गुण्डागर्दी पनि गर्ने गरिन्छ । त्यसैको परिणाम हो कि चुनावद्वारा स्वच्छ छवि भएका व्यक्तिभन्दा भ्रष्ट वा गतल तत्त्व नै बढी निर्वाचित हुने गर्दछन् । निर्वाचित भएपछि पनि उनीहरूले भ्रष्ट तरिकाद्वारा धेरै पैसा जम्मा गर्दछन् । त्यसरी चुनावमा त्यस प्रकारको खेलो दोहोरिरहन्छ । त्यसैको परिणामस्वरूप सरकार पनि त्यही प्रकारका तत्त्वको नै बन्दछ, देशमा भ्रष्टाचार र कुशासन बढ्दै जान्छ र देशको विकास हुन पाउदैन । त्यो अवस्थामा जेनजीले भ्रष्टाचारलाई आफ्नो एउटा मुख्य मुद्दा बनाएर अत्यन्त प्रशंसनीय कार्य गरेका छन् । त्यसैले देशको समग्र विकासको लागि चुनावलाई भ्रष्टाचारमुक्त गराउनु एउटा निर्णयात्मक र राष्ट्रिय महत्त्वको कुरा बन्न जान्छ तर अहिले स्वयम् जेनजीका कतिपय अगुवाले चुनावबारे जुन प्रकारको दृष्टिकोण अपनाउन थालेका छन्, त्यसबाट उनीहरूले चुनावलाई पुरानै प्रकारको दलदलमा लैजाने त खोजिरहेका छैनन् ? त्यो प्रश्न गर्ने ठाउँ छ । उनीहरूले पुराना नेतालाई भ्रष्टाचारको मुद्दा लगाएर जेलमा हालेर चुनावमा जानै नदिने प्रकारका विचार पनि प्रकट गरेको पाइन्छ । निश्चय नै कुनै नेता जति माथिल्लो तहको भए पनि उनीहरूले भ्रष्टाचार गरेका छन् भने उनीहरूबारे छानबिन वा कारबाही गर्ने कार्य अवश्य पनि गलत होइन तर चुनावमा उनीहरूलाई सामेल हुन नदिने उद्देश्यले उनीहरू विरुद्ध मुद्दा चलाउने र जेल हाल्ने कुराले उनीहरूको राजनीतिक प्रतिशोधात्मक सोचाइलाई नै बताउँछ । अर्को शब्दमा भ्रष्टाचारका विरुद्ध कारबाही गर्ने सोचाइका पछाडि चुनावमा पुराना नेतालाई प्रतिस्पर्धाबाट बाहिर गराउने र त्यसरी चुनावमा विजयको लागि आफ्नो मार्ग प्रशस्त गर्ने सोचाइले काम गरेको देखिन्छ । स्पष्ट छ कि त्यो अवस्थामा चुनाव स्वच्छ र निष्पक्ष प्रकारको हुने छैन र त्यसबाट वाञ्छित प्रकारको परिणाम आउने सम्भावना कमै हुनेछ । चुनावपछि पनि देश पुरानै प्रकारको वा त्यो भन्दा गम्भीर प्रकारको भ्रष्ट र दलदलमा फस्ने सम्भावना रहनेछ । जेनजी आन्दोलनमा नयाँ युवाको जति व्यापक र सशक्त प्रकारको भूमिका भएको भए पनि त्यसको सम्पूर्ण स्वरूपलाई हेर्दा अन्तत्वगत्वा त्यो आन्दोलन जेनजीको नभएर विभिन्न विदेशी साम्राज्यवादी शक्तिहरू खास गरेर अमेरिकी साम्राज्यवाद र देशभित्रका प्रतिक्रियावादी शक्तिको दीर्घकालीन योजनाअन्तर्गत भएको कुरा प्रष्ट भएको छ ।

    अन्तमा त्यो आन्दोलन जेनजीको रहन गएको थिएन र विभिन्न देशी वा विदेशी शक्तिले त्यसलाई ‘हाइज्याक’ गरेको कुरा पनि अब छर्लङ्ग भइसकेको छ । यो कुराको राम्रैसित अनुमान गर्न सकिन्छ कि उनीहरूले चुनावलाई पनि त्यसरी नै ‘हाइज्याक’ गर्नेछन् र अहिले उनीहरूले पुराना नेतालाई भ्रष्टाचारको मुद्दा लगाएर चुनाव लड्न नदिने जुन कुरा गरिरहेका छन्, त्यसले पनि उनीहरूले त्यही रणनीतिअन्तर्गत काम गरिरहेको कुरा बुझ्न गाह्रो पर्दैन । विभिन्न देशी वा विदेशी प्रतिक्रियावादी शक्तिले चुनावलाई आफ्ना साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थको पक्षमा काम गर्ने प्रकारको तथा स्वतन्त्र तिब्बत वा दलाई लामाको पक्षमा काम गर्ने प्रकारको सरकार निर्माण गर्नका लागि पनि चुनाव उपयोग गर्न खोजेको कुराको अनुमान गर्न सकिन्छ । यो कुराको पनि अनुमान गर्न गाह्रो पर्दैन कि त्यही उद्देश्य पूरा गर्न अपेक्षाकृत सजिलो हुने भएको हुनाले उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जोड दिइरहेका छन् । संसदीय प्रणालीबाट निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन हुँदा उनीहरूलाई आफ्ना साम्राज्यवादी नीति पूरा गराउन लामो बहस वा विवादको प्रकृयाबाट जानुपर्ने आवश्यकता हुन सक्दछ तर एउटै कार्यकारी प्रमुख भएमा त्यसद्वारा आफ्ना नीति कार्यान्वयन गर्न उनीहरूलाई अपेक्षाकृत रूपमा सजिलो हुनेछ । त्यसरी अहिले जेनजी वा अन्तरिम सरकारका मातहतमा हुने चुनावमा साम्राज्यवादी शक्तिको ठुलो षड्यन्त्र भएको र उनीहरूको त्यस प्रकारको षड्यन्त्र विरुद्ध कडा सङ्घर्ष गरेर पराजित नगरेमा देशमा साम्राज्यवादको प्रभुत्व कायम हुने र नेपाल युद्धको भूमिमा बदलिने गम्भीर खतरा पैदा हुन सक्दछ ।
    अहिले जेनजी आन्दोलनको दौरानमा ठुलो पैमानामा कैदी जेलबाट उम्केका छन् र प्रहरीका हतियार पनि धैरै नै लुटिएका छन् । संसारका विभिन्न देशमा कैदीलाई पनि गलत राजनीतिक उद्देश्यको पूर्तिका लागि उपयोग गर्ने गरिएका धेरै उदाहरण छन् । त्यो अवस्थामा यो शङ्का गर्ने ठाउँ छ, के जेनजी आन्दोलनको दौरानमा नेपालमा कैदीलाई पनि कुनै सुनियोजित योजनाअन्तर्गत नै जेलबाट उम्काइएको त हैन ? कुनै एक ठाउँमा कैदी जेलबाट उम्कन सके पनि देशभरिबाट उनीहरू त्यसरी उम्कन सक्नुका पछाडि कुनै सुनियोजित योजनाले नै काम गरेको त थिएन ? आगामी चुनावमा ती कैदी वा हतियारलाई प्रयोग गरेर चुनावलाई प्रभावित गर्ने प्रयत्न गरियो भने त्यसको परिणामस्वरूप देशमा अवाञ्छित प्रकारका तत्वले चुनावमा भारी सफलता प्राप्त गर्ने, देश फासिष्ट शासनतिर जाने र त्यसबाट देशमा दूरगामी नकारात्मक असर पर्ने नै बढी सम्भावना रहनेछ । त्यसकारण त्यो पक्षप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    २३. हाम्रो पार्टीले नेपालमा बढिरहेको अमेरिकी साम्राज्यवादी खतराका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएको छ र त्यो सङ्घर्षमा हाम्रो पार्टी सबैभन्दा अग्रिम पङ्तिमा रहेको छ । हामीले अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय रूपमा सन्देश दिन नै चितवनको उपचुनावमा भाग लिएका थियौँ र पछि अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानको पनि सञ्चालन गरेका थियौँ । अब व्यवहारले नै नेपालमा अमेरिकी साम्राज्यवादको खतरा बढ्दै गएको कुरा झन्पछि झन् प्रष्ट हुँदै गएको छ । त्यसैले त्यसका विरुद्धको भण्डाफोरलाई अरू बढाएर लैजानुपर्ने आवश्यकता भएको छ । नेपालका पुराना विभिन्न अमेरिकापरस्त राजनीतिक शक्तिमाथि पूरा विश्वास नभएर अमेरिकाले कथित स्वतन्त्र पार्टीलाई अगाडि ल्याएको थियो तर त्यसमाथि पनि पूरा विश्वास नभएर अब जेनजी आन्दोलनद्वारा त्यसले अरू अमेरिकापरस्त राजनीतिक शक्तिलाई अगाडि ल्याउने नीति अपनाएको छ र उनीहरूकै समर्थनमा अन्तरिम सरकारसमेतको गठन गरेको छ । अब चुनावद्वारा त्यसले पूरा अमेरिकाको पक्षमा काम गर्ने सरकार वा कार्यकारी प्रमुख ल्याउने रणनीतिअन्तर्गत काम गरिरहेको छ । त्यसकारण ती सबैका विरुद्ध व्यापक भण्डाफोर बढाएर लैजानुपर्ने आवश्यकता छ ।

    नेपालमा अन्य प्रजातान्त्रिक वा वामपन्थी शक्तिले पनि एक वा अर्को प्रकारले अमेरिकापरस्त नीति अपनाउने गरेका छन् । तिनीहरूका विरुद्ध पनि भण्डाफोर बढाएर लैजानुपर्ने आवश्यकता छ । साम्राज्यवादपरस्त तत्त्वका विरुद्ध भण्डाफोरको कार्यक्रम बढाएर लैजानुका साथै देशभित्रका अन्य विभिन्न राजनीतिक पार्टीका गलत नीति र कार्यक्रमका विरुद्ध पनि भण्डाफोर बढाएर लैजानुपर्ने आवश्यकता छ । देशभित्र ठुलो सङ्ख्यामा काम गरिरहेका एनजिओि र आइएनजिओले पनि साम्राज्यवादको पक्षमा भ्रम फैलाउने र जनमतलाई कुण्ठित गर्ने प्रकारका कार्य योजनाबद्ध प्रकारले गर्ने गरेका छन् । त्यसकारण तिनका विरुद्ध पनि जनचेतना उठाउनेतिर हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ । बारबारा फाउन्डेसनले पनि अमेरिकी साम्राज्यवादको पक्षमा योजनाबद्ध प्रकारले काम गरेको वा त्यसका लागि ठुलो पैमानमा पैसाको वितरण गरेको कुरा प्रकाशमा आएको छ । देशमा समाजसेवाको क्षेत्रमा काम गरिरहेका सङ्घसंस्थाको पनि अमेरिकी साम्राज्यवादसितको त्यस प्रकारको संलग्नताबाट जनतामा गहिरो असर पर्ने सम्भावना धेरै नै देखिन्छ । खालि बारबरा फाउन्डेसनको कुरा मात्र होइन, समाजसेवाको क्षेत्रमा काम गरेका अन्य कैयौँ संस्था वा व्यक्ति पनि अमेरिकी साम्राज्यवादको पक्षमा त्यसरी सङ्गठित रूपले काम गरिरहेको सम्भावनातिर हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । यसका साथै नेपालको जेनजी आन्दोलनमा मुख्य भूमिका अमेरिकाको हुनाको साथै भारतीय साम्राज्यवादले पनि आफ्ना निहित स्वार्थ पूरा गर्नका लागि त्यसमा घुसपैठ गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
    २४. आगामी दिनमा हाम्रो मुख्य नीति जनतामा राजनीतिक प्रचार गर्ने र राजनीतिक भण्डाफोर गर्ने नै हुनेछ । चुनाव भएमा वा नभएमा पनि हाम्रो मुख्य नीति त्यही हुनेछ† जस्तो कि हाम्रो पार्टीको नवौँ महाधिवेशनले निर्देशन दिएको छ, आगामी चुनावमा हाम्रो नीति कसैसित गठबन्धन नगरेर एक्लै चुनाव लड्ने नै हुनेछ । त्यो दौरानमा पनि हाम्रो मुख्य जोड राजनीतिक भण्डाफोर गर्दै जनताको राजनीतिक चेतना उठाउने तर्फ नै हुनेछ । अवश्य पनि यो हाम्रो नयाँ नीति होइन, पहिलेका चुनावमा हामीले त्यही प्रकारको नीति अपनाउने गरेका थियौँ र त्यसरी हामी जनताको व्यापक समर्थन प्राप्त गर्न वा चुनावमा अहिलेको भन्दा बढी सफलता प्राप्त गर्न पनि सफल भएका थियौँ । त्यसको अर्थ गत कालमा हामीले अपनाएका गठबन्धनका नीति गलत थिए भन्ने होइन । देशमा खास गरेर प्रतिगमनको खतरा बढेको अवस्थामा त्यसको सामना गर्नका लागि हामीले गठबन्धनको नीति अपनाउनु परेको थियो र आवश्यकताअनुसार आगामी दिनमा कुनै राजनीतिक अवस्थामा हामीले त्यस प्रकारको नीति अपनाउनुपर्ने सम्भावनालाई पूरैै अस्वीकार गर्न सकिन्न ।

    २५. अहिले चुनावको सिलसिलामा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखका साथै पूर्ण समानुपातिकको कुरा पनि व्यापक रूपले उठिरहेको छ । हामीले पहिलेदेखि नै मिश्रित प्रकारको अर्थात् प्रत्यक्ष र समानुपातिक दुवै प्रकारको चुनाव प्रणालीमा जोड दिँदै आएका छौँ र अहिले पनि दिन्छौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले देशलाई कसरी अधिनायकवादतिर लैजाने सम्भावना छ वा नेपालजस्तो देशमा कसरी त्यसको अत्यधिक सम्भावना छ, त्यसबारे पहिले नै चर्चा भइसकेको छ । पूर्ण समानुपातिक प्रणालीले पनि सबै सांसदलाई मनोनयन गर्ने कार्य एउटा पार्टी वा त्यसको नेतृत्वलाई नै दिन्छ । त्यसरी पूर्ण समानुपातिक प्रणालीको परिणाम निश्चित रूपले अधिनायकवाद नै हुनेछ । त्यसको विपरीत पूर्ण प्रत्यक्ष प्रणालीको विचारलाई पनि हामीले गलत मान्दछौँ किनभने त्यसले प्रत्यक्ष चुनावद्वारा निर्वाचित हुन नसकेका कमजोर जनसमूहको प्रतिनिधित्वको सम्भावनामा रोक लगाउनेछ । प्रत्यक्ष रूपले निर्वाचित हुन नसक्ने विभिन्न जनसमूहको संसद्मा प्रतिनिधित्वका लागि समानुपातिक प्रकारको निर्वाचन प्रणालीले मद्दत पुर्‍याउन सक्दछ ।

    २६. पहिले जेनजीमा दलीय प्रणालीको विरोध गर्ने प्रवृत्ति बढी पाइन्थ्यो तर अब उनीहरू स्वयम्मा नयाँ राजनीतिक पार्टी गठन गर्ने अभियान सुरु भएको छ । प्रथमत: उनीहरूले कुनै एउटा होइन, कैयौँ राजनीतिक पार्टी बनाउने पहल गर्न थालेका छन् । त्यसबाट जेनजी भनेको कुनै एउटा सङ्गठित समूह होइन भन्ने कुरा प्रष्ट भएको छ र अब उनीहरूले विभिन्न पार्टीमा सङ््गठित हुने प्रयत्न गर्दैछन् । त्यसरी पार्टी बनाउँदा पनि कुन सिद्धान्त, नीति वा कार्यक्रम अपनाउने वा कुन प्रकारको सङ्गठन प्रणालीका आधारमा सङ्गठन बनाउने त्यसबारे उनीहरू अलमलमा परेको पाइन्छ । त्योबाहेक जेनजी विभिन्न राजनीतिक धारामा बाँडिएको कुरा पनि स्पष्ट छ । त्यसकारण विभिन्न राजनीतिक पार्टीले आफ्नो लाइनअनुसार उनीहरूलाई सङ्गठित गर्न प्रयत्न गर्ने कुरा पनि प्रष्ट छ । कुनै राजनीतिक पार्टी एकाएक बन्न सक्दैन । त्यसका लागि दशकौँको अनुभव वा छलफल आवश्यकता पर्छ । त्यसको लागि खालि सैद्धान्तिक प्रकारको बहसद्वारा मात्र राजनीति वा सङ्गठनका कार्यक्रममा परिपक्वता वा स्पष्टता आउँदैन । त्यसका लागि लामो अनुभव वा परीक्षाका बिचबाट जानुपर्ने आवश्यकता हुन्छ । त्यो अवस्थामा उनीहरूले बेग्लाबेग्लै पार्टी बनाए पनि त्यो प्रारम्भिक प्रयोग मात्र हुनेछ । नेपालको राजनीतिमा कतिपय नयाँ राजनीतिक पार्टी बने पनि थोरै समयमा उनीहरूले महत्त्वपूर्ण सफलता प्राप्त गरेका कैयौँ उदाहरण हाम्राअगाडि छन् । त्यसरी कतिपय नयाँ राजनीतिक पार्टीले पनि चुनावमा केही उपलब्धि प्राप्त गर्ने सम्भावनालाई पूरैै अस्वीकार गर्न सकिन्न तर त्यस प्रकारको उपलब्धिले देश र जनतालाई सही दिशामा लैजान नसक्ने कुरा कतिपय राजनीतिक शक्ति, उदाहरणका लािग कथित “स्वतन्त्र पार्टी” को प्रयोग वा अनुभवबाट प्रमाणित भइसकेको छ ।

    २७. साम्राज्यवादी शक्ति वा देशभित्रका प्रतिगामी शक्तिले स्रोत वा साधन दिएर कतिपय नयाँ गठन गरिएका राजनीतिक पार्टीलाई चुनावमा बढी सफल पार्न सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । जेनजी आन्दोलनमा विभिन्न साम्राज्यवादी वा प्रतिगामी शक्तिले खेलेको भूमिकामाथि विचार गर्दा त्यो सम्भावना पनि धेरै छ । समग्र रूपमा के भन्न सकिन्छ भने कुनै स्पष्ट सिद्धान्त, नीति, कार्यक्रम वा पृष्ठभूमि नभएको कुनै राजनीतिक शक्तिद्वारा दीर्घकालीन रूपमा देश र जनताको हित नहुने कुरा प्रष्ट छ र हामीले जनतामा त्यस प्रकारको चेतना दिन सङ्गठित र योजनाबद्ध प्रकारले प्रयत्न गर्नुपर्दछ ।

    २८. जेनजी वा युवाशक्ति देशमा छलफलको एउटा प्रमुख विषय बनेको छ । एकातिर जेनजीले देशमा बढेको भ्रष्टाचार वा त्यो कारणले भएको देशको दुर्दशाप्रति व्यापक असन्तोष प्रकट गर्ने गरेका छन् । सामान्यत: के सोच्ने गरिन्थ्यो भने नयाँ पुस्ताको राजनीतिप्रति कुनै रुचि छैन तर जेनजीको आन्दोलनले त्यो भनाइलाई गलत साबित गरेको छ । जेनजी व्यापक रूपले आन्दोलनमा उत्रनु देशको लागि एउटा शुभ सङ्केत हो : अन्तमा देशको भविष्य नयाँ पुस्तामाथि नै निर्भर गर्दछ तर त्यसको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । नयाँ पुस्तामा उच्च प्रकारको चेतना, वैचारिक स्पष्टता र देशभक्तिको भावना हुनुपर्दछ । त्यसैले उनीहरू सचेत र परिपक्व हुन सके भने उनीहरूले देशलाई उज्ज्वल दिशामा लैजान सक्दछन् । त्यसकारण स्वयम् नयाँ पुस्ताले पनि आफूलाई त्यस रूपमा तयार पार्न ध्यान दिनुपर्दछ भने अर्कातिर पुरानो पिँढीले पनि उनीहरूलाई त्यस रूपमा तयार पार्न ध्यान दिनुपर्दछ अन्यथा नयाँ पुस्तामा भएको उर्जाको दुरूपयोग हुन सक्नेछ र गलत तत्त्वले उनीहरूलाई गलत दिशामा उपयोग गर्न सक्नेछन् । त्यसबाट नयाँ पुस्ता र सम्पूर्ण देशलाई नै गम्भीर क्षति पुग्न सक्दछ । त्यस्तो हुन नपाओस् भन्नका लागि नयाँ पुस्तामा उच्च प्रकारको चेतना, वैचारिक परिपक्वता र देशभक्तिको भावनाको विकासमा ध्यान दिनु निर्णयात्मक महत्त्वको कुरा हुन जान्छ ।

    २९. आम नेपाली जनता र जेनजीको पनि नेपालमा व्यापक भ्रष्टाचार र कुशासन भएको, सरकारमा पनि भ्रष्ट राजनीतिक दलको नै प्रभुत्व भएको र त्यही कारणले देशको विकास हुन नसकेको आम धारणा पाइन्छ । त्यसको समाधान खालि यही कुराबाट मात्र हुन सक्दछ कि भ्रष्ट राजनीतिक पार्टी वा नेतालाई दण्ड गरियोस् र देशमा निष्कलङ्क छवि भएका राजनीतिक पार्टी नै शक्तिशाली बनुन् । नेकपा (मसाल) ले सधैँ त्यस प्रकारको नीतिमा जोड दिँदै आएको छ र भ्रष्टाचार तथा कुशासनका विरुद्ध सम्झौताहीन र दृढतापूर्वक सङ्घर्ष गर्दै आएको छ । त्यसको नेतृत्वदायी भूमिकाका कारणले देशको राजनीतिमा राष्ट्रिय जनमोर्चाले पनि निष्कलङ्क र स्वच्छ भूमिकाको गौरवमय इतिहास रहेको छ । जस्तो कि माथि पनि उल्लेख गरियो, गत तीन दशकको बिचमा त्यसका नेताहरूले सांसद हुँदा कुनै आर्थिक अनियमितता वा भ्रष्टाचार गरेका छैनन् र लेखा समिति वा उपप्रधानमन्त्री जस्ता महत्त्वपूर्ण पदमा जाँदा पनि भ्रष्टाचार गरेको एउटा पनि उदाहरण छैन । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको पार्टी नै अहिले देशका लागि सही विकल्प हुन सक्छ तर यो नेपालको राजनीतिको विडम्बना हो कि जुन पार्टी वा नेताको त्यस प्रकारको निष्कलङ्क छवि छ, उनीहरूलाई नै चुनावमा नगन्य सफलता मिल्दछ र भ्रष्ट पार्टी वा नेताहरूले नै चुनावमा भारी सफलता प्राप्त गर्दछन् ।

    नेपालको राजनीतिमा यस्तो पनि प्रायश: पाइन्छ कि कुनै राजनीतिक पृष्ठभूमि वा इतिहास नभएका व्यक्तिले जनताका बिचमा अकस्मात् देखा परेर कृत्रिम र आकर्षक नारा दिएर, ठुलो पैमानामा पैसा खर्च गरेर वा सामाजिक सञ्जालद्वारा व्यापक प्रचार गरेर थोरै समयमा नै महत्त्वपूर्ण सफलता प्राप्त गर्दछन् तर अर्कातिर जुन जीवनभरि नै इमानदारीपूर्वक देश र जनताका लागि सङ्घर्ष र बलिदान गरेका वा इमानदारीपूर्वक जनताको नेताहरू चुनावमा पराजित हुनुपर्छ । त्यसका साथै सरकारका गलत नीति वा क्रियाकलापका कारणले जनतामा देखा परेको लोकप्रियतावादी, जो मूल रूपमा एउटा नकारात्मक प्रकारको सोचाइ हो, का कारणले पनि कैयौँ गलत तत्त्वले चुनावमा सफलता प्राप्त गर्ने गर्दछन् । आगामी चुनावमा पनि त्यस प्रकारको सम्भावना अत्यधिक रूपमा छ । जबसम्म देशमा एकातिर भ्रष्ट प्रकारको चुनाव प्रणालीमा परिवर्तन हुँदैन र अर्कोतिर, लोकप्रियतावादी जनमतमा सुधार भएर जनतामा उच्च प्रकारको राजनीतिक चेतना पैदा हुँदैन, जतिपल्ट चुनाव भए पनि गलत र अवाञ्छित तत्त्वले बारम्बार चुनावमा सफलता प्राप्त गर्ने, उनीहरू नै सरकारमा पुग्ने तथा देशको विकासमा गत्यावरोधको पुनरावृत्ति भइरहनेछ । जनताले देशमा भ्रष्टाचार बढेकोमा वा सन्तोषजनक प्रकारले विकास हुन नसकेकोमा राजनीतिक पार्टी वा सरकारप्रति विरोध वा असन्तोष प्रकट गर्दछन् । त्यो सही पनि हो तर त्योसित जोडिएको यो पक्ष पनि उल्लेखनीय छ कि संसद् वा सरकारमा त्यस प्रकारका भ्रष्ट तत्त्व स्वयम् जनताले उनीहरूलाई दिएको भोटको कारणले विजय हुन्छन् । त्यसका लागि अहिलेको भ्रष्ट कार्यक्रम र जनताको सेवाका आधारमा नै चुनावमा विजय प्राप्त गर्ने सुनिश्चित प्रणालीको विकासको आवश्यकता छ । त्यसो भएपछि नै भ्रष्ट राजनीतिक पार्टी वा उम्मेदवार संसद्मा विजयी बन्ने छैनन् र त्यस प्रकारका तत्त्व सरकारमा पुग्न पनि सक्ने छैनन् । त्यसैले अहिलेको भ्रष्ट निर्वाचनमा सुधार निर्णयात्मक महत्त्वको आवश्यकता हो । जनतामा उच्च प्रकारको चेतना नभईकन यो सम्भव छैन । त्यसैले हाम्रो पार्टीले भ्रष्ट राजनीतिक पार्टी वा सङ्गठनको भण्डाफोर र जनतामा उच्च प्रकारको राजनीतिक चेतनाको विकासमा विशेष जोड दिन्छ ।

    —ग—

    ३०. आज विश्वमा युद्ध र शान्तिको गम्भीर समस्या देखा परेको छ । त्यसको मुख्य कारण साम्राज्यवाद नै हो । साम्राज्यवादका कारणले नै विश्वका कैयौँ भागमा युद्ध चलिरहेका छन्, अन्यत्र पनि युद्धको विस्फोट हुने सम्भावना बढ्दै गएको छ र युद्धले विश्वयुद्धको रूप लिने खतरा पनि बढ्दै गएको छ । आजको युगमा विश्वयुद्धको अर्थ आणविक युद्ध हुने नै बढी सम्भावना रहन्छ । आणविक युद्धको अर्थ सम्पूर्ण मानवजातिको नै क्षति हो । त्यसकारण युद्धको विरोध गर्नु र शान्तिको रक्षा गर्नु अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता भएको छ । यो स्पष्ट छ कि युद्धको स्रोत साम्राज्यवाद नै भएको हुनाले विश्वशान्तिको लागि पनि सर्वप्रथम र मुख्य रूपले साम्राज्यवादका विरुद्ध नै सङ्घर्ष गर्नु अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता हो । साम्राज्यवादका विरुद्धको त्यो सङ्घर्ष विश्वभरका साम्राज्यवाद विरोधी र शान्तिप्रेमी जनताको ऐक्यबद्धताद्वारा नै सम्भव छ । त्यसकारण साम्राज्यवादका विरुद्ध र शान्तिको पक्षमा विश्वव्यापी एकता कायम गर्न अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

    ३१. अहिले गाँजाको अत्यन्त गम्भीर स्थिति सम्पूर्ण संसारका अगाडि आएको छ । गाँजाको समस्या प्यालेस्टाइनी जनताको मुख्य आन्दोलनसित जोडिएको छ । करिब साढे सात दशकपहिले प्यालेस्टाइनी जनतालाई अमेरिकाको मदतमा उनीहरूको मातृभूमिबाट जबरजस्ती धपाएर त्यहाँ यहुदीको इजरायल राज्यको स्थापना गरिएको थियो र प्यालेस्टाइन खाडीका विभिन्न देशमा शरणार्थी भएर बस्नका लागि बाध्य भएका थिए तर उनीहरूले आत्मसमर्पण गरेनन् र त्यो बेलादेखि नै आफ्नो मातृभूमिको मुक्तिका लागि मुक्ति आन्दोलन चलाइरहेका छन् । त्यो संसारको नै एउटा लामो र गौरवमय मुक्ति आन्दोलन हो । अहिले इजरायलले लगातार गाजापट्टीमा हमला गरिरहेको छ र ठुलो सङ्ख्यामा त्यहाँ मानिसको मृत्यु हुनु, लाखौँको सख्यामा मानिस त्यहाँबाट विस्थापित हुनु र ठुलो मात्रामा त्यहाँको भौतिक संरचना ध्वस्त हुनुका साथै त्यहाँका जनताले लगातार भोकमरीको स्थितिको सामना गर्नु परिरहेको छ । अमेरिकाले त्यहाँ शान्ति पुनस्र्थापनाको कुरा गर्दछ तर गाजामाथिको आक्रमण बन्द भएको छैन ।

    ३२. यहुदी जनता पनि संसारका नै अत्यन्त पीडित जनता हुन् । इजरायलमा जुन फासिष्ट सरकारको स्थापना भएको छ, त्यसद्वारा यहुदी जनता पनि धेरै नै पीडित हुनु परेको छ र उनीहरूले लगातार आफ्नो देशको फासिस्ट सरकारका विरुद्ध आन्दोलन गर्दै आएका छन् । प्यालेस्टाइनको स्वतन्त्र र सार्वभौम राष्ट्रको निर्माण एउटा गम्भीर आवश्यकता हो भने अर्काेतिर यहुदीको स्वतन्त्र र सार्वभौम राष्ट्र निर्माणलाई पनि हामीले स्वीकार गर्नुपर्दछ । त्यसका साथै यहुदी र प्यालेस्टाइनी जनताबिचको एकता र उनीहरू दुबैद्वारा इजरायलको फासिष्ट सरकार र अमेरिकी साम्राज्यवादको एकताबद्ध आन्दोलनद्वारा नै त्यो क्षेत्रमा चीर शान्ति कायम हुनेछ र त्यहाँको समस्या स्थायी रूपले समाधान हुनेछ । प्यालेस्टाइनी जनता र इजरायलबिचको सङ्घर्षका कारणले सम्पूर्ण मध्यएसियामा नै लामो समयदेखि अशान्तिको वातावरण तयार भएको छ र त्यसबाट विश्व शान्तिलाई पनि धेरै धक्का पुगिरहेको छ । त्यसैले त्यहाँको समस्या त्यहाँको क्षेत्रीय समस्या मात्र नभएर त्यो सम्पूर्ण मध्यएसिया र विश्व शान्तिको नै गम्भीर समस्या बन्न गएको छ ।

    ३३. युक्रेनको युद्ध पनि अहिले सम्पूर्ण विश्वको चासो वा चिन्ताको विषय बन्न गएको छ । अहिले त्यहाँको युद्ध रुसी साम्राज्यवाद र युक्रेनका बिचको युद्धजस्तो देखिन्छ तर वास्तवमा त्यो अमेरिकी साम्राज्यवाद र रुसी साम्राज्यवादका बिचको नै युद्ध हो । त्यो युद्धको मुख्य कारण भने अमेरिका र नाटो नै हुन् । अमेरिकाको नेतृत्वमा नाटोले रुसको सिमामा भएको युक्रेनलाई नाटोमा सामेल गर्न खोजेकाले नै त्यहाँ युद्धको स्थिति उत्पन्न भएको हो । त्यसरी त्यहाँको युद्धको लागि मुख्य रूपले अमेरिकी साम्राज्यवाद र नाटो नै जिम्मेवार छन् । त्यो युद्धको कारणले युक्रेनमा ठुलो धनजनको क्षति भएको छ र त्यहाँका लाखौँ जनता विस्थापित हुनुपरेको छ । त्यो युद्धका कारणले विश्वको अर्थतन्त्रमा पनि ठुलो हानि पैदा भएको छ । त्यो युद्ध विश्वयुद्धमा र आणविक युद्धमा परिनत हुने गम्भीर खतरा पनि उत्पन्न भएको छ ।

    ३४. ताइवानको प्रश्नमा चीन र अमेरिकाका बिचमा बढिरहेको तनाव वा विवाद पनि विस्फोटकको रूप लिने खतरा बढ्दै गइरहेको छ । त्यहाँ देखा परेको त्यो स्थितिका लागि पनि अमेरिकी साम्राज्यवाद नै जिम्मेवार छ । चीनमा नयाँ जनवादी क्रान्ति भएपछि च्याङ्काइसेक भागेर ताइवानमा गएको थियो र अमेरिकाको मदतमा नै त्यो टिकेको थियो । संसारका अत्यधिक धेरै देश एक चीन नीतिलाई समर्थन गर्दछन् । स्वयम् अमेरिकाले पनि एक चीनको नीतिलाई समर्थन गर्दछ तैपनि व्यावहारिक वा सैनिक दृष्टिकोणले त्यसले ताइवानलाई समर्थन गर्दछ र त्यही कारणले त्यहाँ तनावको स्थिति उत्पन्न भएको छ । त्यसैले ताइवानमा पैदा भएको तनावका लागि पनि अमेरिका नै जिम्मेवार छ ।

    ३५. तिब्बतको प्रश्न पनि अहिले विश्वको एउटा गम्भीर तनावको स्थिति बनेको छ । अमेरिकाले तिब्बतलाई चीनको अङ्ग मान्दछ तैपनि त्यसले त्यहाँ दलाई लामालाई पुन:स्थापित गर्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ । वास्तवमा अमेरिकाको इन्डोप्यासिफिक रणनीति चीनका विरुद्धको सैनिक घेराबन्दीको नीति हो । त्यसले गर्दा सम्पूर्ण हिन्दप्रसान्त क्षेत्रमा नै गम्भीर तनावको स्थिति उत्पन्न भएको छ र त्यसबाट नेपाल पनि धेरै नै प्रभावित हुन जान्छ ।

    ३६. तिब्बत नेपालको सिमामा पर्ने भएको हुनाले त्यो विवादले नेपाललाई पनि धेरै प्रभावित गर्दछ । ठुलो सङ्ख्यामा खम्पा तिब्बतबाट भागेर नेपालमा आएका थिए र भनिन्छ, अहिले पनि उनीहरू ठुलो सङ्ख्यामा नेपालमा बस्दछन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दौरानमा ‘स्वतन्त्र तिब्बत’ पक्षधर कतिपय व्यक्तिले त्यो आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको वा ‘टी.ओ.बी.’ को बिल्ला लगाएर कैयौँ व्यक्तिले त्यो आन्दोलनमा भाग लिएको वास्तविकताबाट तिब्बतको प्रश्न नेपालका लागि कति गम्भीर अर्थ राख्छ त्यो कुरामा कुनै शङ्का रहन्न । त्यो आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई दलाई लामाले दिएको शुभकामनाले पनि त्यो आन्दोलन वा त्यो आन्दोलनपछि बनेको सरकारलाई ‘स्वतन्त्र तिब्बत’ का पक्षमा उपयोग गर्ने अमेरिकाको गम्भीर षड्यन्त्रलाई बताउँछ । अहिले तिब्बतियनलाई पनि ठुलो सङ्ख्यामा नेपालको नागरिकता दिनको लागि चलखेल भइरहेको कुरा पनि प्रकाशमा आइरहेको छ । बाह्य रूपमा देखा परेका यी केही तथ्यबाहेक आन्तरिक रूपमा तिब्बतसित जोडर नेपालमा कति षड्यन्त्र भइरहेको छ र नेपालका कति राजनीतिक शक्ति वा अन्य पक्ष त्यसमा संलग्न भएका छन् ? त्यसप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यसरी तिब्बत वा दलाई लामासम्बन्धी अमेरिकाको रणनीतिका कारणले नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्ने गम्भीर देखिन्छ । त्यसप्रति सम्पूर्ण नेपाली जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।

    ३७. आज संसारका अन्य कैयौँ भाग अफ्रिका, ल्याटिन अमेरिका आदिमा पनि अमेरिका वा अन्य विभिन्न साम्राज्यवादी देशले एक वा अर्काे प्रकारले अशान्ति मच्चाउने वा युद्धलाई बढाउने कार्य गर्दै आएका छन् । त्यसरी यो कुरामा कुनै शङ्का रहन्न कि संसारमा जहाँ पनि युद्ध चलिरहेका छन् । त्यसका पछाडि मुख्य भूमिका एक वा अर्काे साम्राज्यवादी देशको नै रहने गरेको छ ।

    ३८. अमेरिकी साम्राज्यवादले भेनेजुयलामाथि पनि आक्रमण गर्ने खतरा बढ्दै गइरहेको छ । भेनेजुएला संसारको नै पेट्रोलियम खनिज पदार्थका दृष्टिकोणले अत्यन्त सम्पन्न देश हो । अमेरिकाले त्यसमाथि कब्जा जमाउन चाहन्छ । त्यसकारण त्यहाँ त्यसले आफ्नो कठपुतली सरकार कायम गर्न चाहन्छ र अहिले त्यहाँको सरकारलाई अपदस्त गर्न चाहन्छ । त्यसैले त्यसले त्यहाँ नाकाबन्दी गर्ने, सैन्य दबाब दिने वा आक्रमणसमेत गर्ने नीति अपनाउदै आएको छ । अमेरिकामा ट्रम्प राष्ट्रपतिमा चुनिएपछि त्यसले पूरै फासिस्ट नीति अपनाउँदै गएको छ । स्वयम् अमेरिकाभित्र पनि त्यसले व्यापक दमनको नीति अपनाएको छ भने आप्रवासीलाई ठुलो सङ्ख्यामा त्यहाँबाट निस्कासित गर्ने कार्य गरिरहेको छ । उनीहरूलाई हात र खुट्टामा हत्कडी वा नेलहरू लगाएर अमानवीय प्रकारले त्यहाँबाट निस्कासित गर्ने काम भइरहेको छ । आर्थिक रूपले पनि त्यसले संसारभरमा नै आफ्नो प्रभुत्व कायम गर्ने नीति अपनाइरहेको छ । त्यसले क्यानडा, पनामा वा ग्रिनल्यान्डमा पनि आफ्नो प्रभुत्व कायम गर्ने घोषणा गरेको छ । इरानमा पनि त्यसले आक्रमण गरेको छ र बाम्बार त्यहाँ आक्रमण गर्ने धम्की दिने गरेको छ

    ३९. वास्तवमा अहिले ट्रम्प सत्तामा आएपछि मात्र होइन, पहिलेदेखि नै अमेरिकी साम्राज्यवादको नीति संसारभरि नै आफ्नो प्रभुत्व कायम गर्ने रहेको छ । त्यसका संसारका करिब ८० देशमा करिब पुगनपुग ८०० सैनिक अखाडा रहेका छन् । त्यसरी स्पष्ट छ, अमेरिकी साम्राज्यवाद स्वयम् अमेरिकी जनता र विश्वभरको नै एक नम्बरको दुस्मन शक्ति हो । त्यसकारण त्यसका विरुद्ध विश्वव्यापी रूपमा सङ्घर्ष गर्नु र त्यसका लागि अन्तर्राष्ट्रिय रूपमा एकता कायम गर्नु तथा त्यसका लागि बढीभन्दा बढी पहलकदमी गर्नु हाम्रो जिम्मेवारी हुन जान्छ ।

    ४०. अमेरिकी साम्राज्यवादले विश्वव्यापी रूपमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ । माओले भनेझैँ सबै साम्राज्यवादी वा प्रतिक्रियावादी शक्ति कागजी बाघ हुन् । त्यसकारण आज त्यो बाह्य रूपमा जति शक्तिशाली देखिए पनि त्यो पतनोन्मुख अवस्थामा छ । लेनिनले भनेझैँ साम्राज्यवाद पुँजीवादको मरणशील अवस्था नै हो । अहिले त्यसभित्रको सङ्कट लगातार बढ्दै गइरहेको छ । साम्राज्यवादी शक्तिका बिचका अन्तरविरोध पनि बढ्दै गइरहेका छन् । एकातिर अमेरिकी साम्राज्यवाद र रुस, चीन समेतसितको त्यसको अन्तरविरोध बढ्दै गएको छ । भारत स्वयम् अमेरिका पक्षधर शक्ति हो तर अहिले अमेरिका र भारतका बिचको अन्तरविरोध पनि लगातार तीव्र हुँदै गएको छ । अर्कातिर स्वयम् अमेरिकन पक्षधर शक्तिको बिचमा पनि अन्तरविरोध बढेर गएको छ† जस्तै कि अमेरिका र नाटोका बिचमा क्यानडा र अस्ट्रेलियाजस्ता देशसित पनि अमेरिकाको अन्तरविरोध बढ्दै गइरहेको छ । त्योबाहेक मध्यएसिया, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र अफ्रिकाका देशसित त्यसको अन्तरविरोध बढ्दै गइरहेको छ । कतिपय नयाँ उदीयमान साम्राज्यवादी शक्तिको उदयको कारणले पनि साम्राज्यवादी शक्तिका बिचको अन्तरविरोध बढ्दै गएको छ । त्यसरी समग्र रूपमा के भन्न सकिन्छ भने आज बाह्य र प्रकट रूपमा अमेरिकी साम्राज्यवाद जति शक्तिशालीजस्तो देखिए पनि आन्तरिक रूपमा त्यो झन््पछि झन् कमजोर हुँदै गइरहेको छ ।

    ४१. साम्राज्यवादसँग सम्बन्धित त्यसको एउटा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । साम्राज्यवादी शक्तिले विश्वव्यापी रूपमा नै एनजिओ र आइएनजिओको सञ्जाल बनाएका छन् । त्यसले एकातिर साम्राज्यवादको पक्षमा जनतामा भ्रम फैलाउने र अर्कातिर विभिन्न देशका क्रान्तिकारी वा प्रगतिशील शक्तिलाई कब्जा पार्ने काम पनि योजनाबद्ध प्रकारले गर्ने गर्दछन् । अमेरिकी साम्राज्यवादले कैयौँ देशमा आफ्ना बेग्लै राजनीतिक पार्टी बनाएर त्यहाँ उनीहरूलाई सत्तारूढ बनाउने र तिनीहरूको माध्यमद्वारा त्यहाँ आफ्नो साम्राज्यवादी प्रभाव कायम गर्ने प्रयत्न पनि विश्वव्यापी रूपमा नै गर्दै आएका छन् । त्यसरी आज खालि प्रत्यक्ष रूपले साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नु मात्र पर्याप्त छैन र उनीहरूले विभिन्न रूपमा संसारभरि फैलाएका जाल, सञ्जाल वा भ्रमको पनि भण्डाफोर गर्नेतिर हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ । साम्राज्यवादको अर्काे ठुलो शक्ति पैसा हो । उनीहरूले संसारभरि ठुलो मात्रामा पैसाको वितरण गरेर त्यहाँका जनताका विभिन्न तह राजनीतिक नेतृत्व बुद्धिजीवी आदिलाई पनि भ्रष्ट गर्ने प्रयत्न गर्दछन् वा आफ्ना एजेन्टलाई जिताउने प्रयत्न गर्दछन् । त्यसकारण तिनीहरूका विरूद्ध सङ्गठित र योजनाबद्ध प्रकारले वैचारिक सङ्घर्ष चलाउनु पनि आजको राजनीतिक आवश्यकता बन्न गएको छ ।

    बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.