काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका वाम घटकमाझ कात्तिक २० गते सोमबार एकता घोषणा तयारी छ ।
कात्तिक १४ गते शुक्रबार एसको केन्द्रीय समिति बैठकले माओवादीसहितका दलसँग एकता गर्ने औपचारिक निर्णय गरेसँगै आउँदो सोमबार काठमाडौँमा एकता घोषणा हुने बताइएको हो ।
माओवादी केन्द्रले यसअघि नै पार्टीएकताका लागि निर्णय गर्दै महाधिवेशन घोषणा गरेर समाजवादीको औपचारिक निर्णय कुरेर बसेको थियो । माओवादीले आफ्ना सङ्गठनलाई एकताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
तीन दिनसम्म चलेको समाजवादीको बैठकले एकताको निर्णयसँगै एकताका गर्ने दिन तय भएको हो । बैठकले एकता गर्ने निर्णय गर्दै थप काम गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ । माओवादीका एक नेताका अनुसार एकता घोषणासभा गर्ने स्थल भने टुङ्गो लाग्न बाँकी छ ।
एकीकृत भएर बन्ने पार्टीको नाम नेकपा (समाजवादी) राख्ने निर्णय भएको छ । चुनाव चिह्नबारे अझै अन्तिम निर्णय भइनसके पनि तारा राख्ने सम्भावना बलिलो रहेको समाजवादीका एक नेताले जानकारी दिएका छनन् ।
यता, माओवादी र समाजवादीसँगै विप्लव नेतृत्वको नेकपाबाट शुक्रबार चिरन पुनको नेतृत्वको समूह, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी सहितका वाम घटक पनि एकतामा सामेल हुने भएका छन् ।
शनिबार पुन समूहले विप्लवपक्षीय एक सय ४५ मध्ये ७५ सदस्यीय केन्द्रीय समिति गठन भएको घोषणा गरेका छन् ।
फागुन २१ गतेका लागि दल दर्ता गर्न निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको म्याद दिएकाले त्यसअघि नै एकीकृत पार्टी बनाउन दल लागिपरेको बताइन्छ ।
एसको ठुलो हिस्सा माओवादीसहितका दलसँग एकताका लागि तयार भए पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्या भुसालसहितका नेताहरू भने एकतामा नजाने भएका छन् । नेताहरू घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुलीलगायतका नेता एकताको विपक्षमा उभिएका छन् । उनीहरूले सुकेधारामा बेग्लै भेला गरेका छन् ।