काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरूमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
पहिलो बहस अधिवक्ता प्रेमराज सिलवालले सुरु गरेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन् ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको हो ।
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा मुद्दामा बहसकर्तालाई ५र५ मिनेट समय दिइएको छ । संवैधानिक इजलासमा बहसकर्तालाई समय व्यवस्थापन गर्नका लागि समय तय गरिएको हो ।
प्रतिनिधिसभा विघटन विरुद्ध युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, अधिवक्ता प्रकाश भुजेल, अधिवक्ता बिपिन ढकालले रिट दिएका छन् ।