तारा सोमरे ##
शब्द मानव समाजमा सबैभन्दा सम्मानित हुन्छ। मजदुरीको कठोर यात्रामा भिरपखेराहरू पार गर्दा पनि आमाले सधैं आफ्नो शरीरभन्दा बढी ख्याल कोखको राख्छिन्— त्यो कोख, जसमा हामी नौ महिना हुर्किएका हुन्छौं।
प्रकृतिको नियम अनुसार नौ महिना कोखमा राखी, असह्य प्रसव पीडा सहेर जन्म दिने नारी नै “आमा” हुन्। त्यही क्षणदेखि नारी र सन्तानबीच जन्मिने नाता पृथ्वीको सबैभन्दा पवित्र सम्बन्ध हो— आमा र सन्तानको सम्बन्ध।
आमा केवल जन्मदिने होइन, त्यागको मूर्त स्वरूप हुन्। जब उनी मजदुरीमा थाक्छिन्, ढल्छिन्, तब पनि सन्तानको मुख हेरेर मुस्कुराउँछिन्। उनी आधापेट खाएर पनि छोराछोरीलाई पेटभर खान खुवाउँछिन्। आर्थिक कठिनाइको आभास हुन नदिई उनी सन्तानलाई शिक्षा दिन्छिन्, फिस तिर्छिन्, र आफ्ना साना–साना खुशीहरू बिर्सेर उनीहरूका सपनामा रमाउँछिन्।
त्यही नि:स्वार्थ ममता र त्यागकै कारण आमा मानव सम्बन्धहरूको शिखरमा उभिएकी हुन्छिन्।
तर, हाम्रो देशको यथार्थ भिन्न छ।
हजारौं आमाहरूले असह्य पीडा सहेर सन्तान हुर्काए पनि, तिनै सन्तान अहिले आमाको वृद्ध जीवनमा साथ दिन सक्दैनन्। यो सन्तानको असहयोग होइन । यो देशको असक्षम नेतृत्व र आर्थिक बाध्यताको परिणाम हो ।
रोजगारी र सम्मानित जीवनको खोजीमा लाखौं युवा परदेशिएका छन् —छिमेकी मुलुकदेखि लिएर खाडी र युरोपका देशसम्म।
विशेषगरी दशैं–तिहार जस्ता चाडपर्वमा, आमाहरूको मन एकाएक भारी हुन्छ।
घरको आँगनमा बस्दै—
“यसपालि त मेरा छोराछोरी आउँलान् कि ?” भन्ने आशाले बाटो हेर्छिन्।
तर जब विदेशमा रहेका सन्तानले “आउन सकिँदैन आमा” भन्छन्, त्यतिखेर ती आँखाबाट बग्ने आँसु केवल आँसु हुँदैन—त्यो त सिङ्गो राष्ट्रको मौन करुणा हो।
आजको तिहारमा बहिनीहरूले भाइका लागि टिका र मिष्ठान्न तयार गर्दै गर्दा, कतिपय आमाहरूले दैलोबाट नहेरी सक्दैनन्।
“तिमी आयौ भने म धेरै खुशी हुने थिएँ…”
भन्ने मनोभाव भित्रभित्रै उम्लिरहेको हुन्छ।
तर बाध्यता यस्तो छ—
मायाँले बोलाउँछ, तर रोजगारीको आदेशले रोकिन दिन्दैन।
“आमा, हजुरको सेवा नगरेको होइन, तर मालिकको निर्देशन मान्नु मेरो बाध्यता हो,”
भन्ने सन्तानको आवाज पनि उतिकै पीडादायी हुन्छ।
जनवादी गायक जीवन शर्माको गीत झैं—
“यसपालि त यस्तै भो आमा,
अर्को साल आउनेछु दशैंमा…”
यी शब्दहरू केवल गीतका पंक्तिहरू होइनन्,
देशबाहिर पसिनाको थोपा बेचिरहेका सन्तान र
घरमा प्रतीक्षामा बसिरहेकी आमाको साझा कथा हुन्।
अन्ततः, आमा कहिल्यै कमजोर हुनुहुन्न।
उनी जन्म दिन्छिन्, हुर्काउँछिन्, पढाउँछिन्, अनि छोराछोरीलाई बिदेश पठाउँछिन्।
यो उनको इच्छा होइन—
यो देशको गैरजिम्मेवार शासन र बेरोजगारीको पीडा हो।
त्यसैले—
जब दशैंको टीका घाममा चम्किन्छ र तिहारका दियोहरू टल्किन्छन्,
त्यो उज्यालोभित्र कतै न कतै आमाको आँसु पनि चम्किरहेको हुन्छ।
त्यो आँसु—मायाको, प्रतीक्षाको, र अपार सहनशीलताको प्रतीक हो।
“चाडपर्वमा बग्ने आमाको आँसु” केवल एक आमाको कथा होइन —
यो सिङ्गो नेपाली समाजको भावनात्मक प्रतिबिम्ब हो,
जहाँ मायाले बोलाउँछ, तर बाध्यताले रोकिदिन्छ ।