इन्द्रकान्त शर्मा ##
विमल पोखरेल पोइल भाग्दै गर्दा लत्रेको लुङ्गीजस्तै हुन । मसालबाट धेरै साथीहरू पोइल गए । गए गैजाउन् । पोइ मन नपरेपछि पोइल जान पाइयो तर यिनले जति लुङ्गी घिसार्दै गए, त्यति लुङ्गी घिसार्दै बाग्लुङका न लीला थापा जानुभयो, न त दिनानाथ नै ? जो जो गए, मसालभन्दा बढी उत्साहित भएर गए । बढ्ता उत्साह लिएर गए । तर यिनले निराशाको भकारी र लत्रेको लुङ्गी ।
दिनानाथ सेना चाहिएर गए । आँटसहित गए । यद्यपि यिनका सेना जेनजी आन्दोलनमा बहादुरीका साथ हतियार फ्याँकेर जिउ जोगाउन, मात्र जिउ जोगाउन, संविधान, संसद्, राष्ट्र, स्वाधीनता वा आफ्नो सर्वोच्च नेता केही पनि होइन, केवल आफ्नो जिउ जोगाउन बहादुरीका साथ भागे । त्यसभन्दा अगाडि पनि यिनीहरूका सेनालाई प्रतिक्रियावादी सेनामा मिसाए । दुनियाँले देख्यो दुबै कुरा ।
मसालको कारखानाबाट भर्खरै अर्जापिएर निस्केका ३५ हजार कार्यकर्ता लीला रानाले लिएर गए । त्यो पनि सुनियो । सबैले केही न लिएर गएपछि गएको ठाउँमा ठुलो बिलो रोजे । जान त यिनी पनि मेसो मिलाएर जाने नै हुन्, जुरेभाउ रोज्ने तयारी नै हो तर अहिलेलाई यिनले आफ्नो लत्रेको लुङ्गी घिसार्दै हिँडेका छ्न ।
लत्रेको लुङ्गीमा मसालका कार्यकर्ता अल्झिदैनन् । धुलो, सिन्का, छेस्का आदि कस्मलो अल्झिन्छन् । यिनले आफ्नो लत्रेको लुङ्गीमा मल्चिङ वा पातपतिङ्गर पनि सोहोर्दैनन् । कस्मलो र मल्चिङमा अन्तर पाइन्छ । मल्चिङ बोटबिरुवालाई काम लाग्छ । मल्चिङले बोटविरुवा सप्रिन्छन् । कस्मलो काम लाग्ने भनेको गोठमा भैँसीलाई सोत्तर ओछ्याउन मात्रै हो । अब यिनी जुनसुकै पार्टीमा गए पनि कस्मलो मात्रै हुन । आफैले निर्माण गरेको भनिएको कथित जनयुग पार्टी पनि कस्मलो नै हो ।
“हामी चौथो धारको राजनीतिक शक्ति हौँ” को उनको आफ्नो पोस्टमा तेस्रो शक्ति वामपन्थी शक्तिको बारेमा विश्लेषण गर्दै लेख्छन्– “यो धारको नेतृत्व एमालेले गर्छ । माओवादी, मसाल, नेमकिपा, मालेलगायत पार्टी यसमा पर्छन् । यिनीहरूका केही फरक चरित्र छन् । यिनीहरू सर्वहारा अधिनायकवादको नाममा नयाँ सामन्त हुन चाहन्छन् र जनताको स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेर खुनी अधिनायकवाद लाद्न चाहन्छन् ।”
चौधौँ प्याराग्राफको दोस्रो वाक्यमा उनी भन्छन्– “कथित सर्वहारा अधिनायकवाद, जनवादी केन्द्रीयताजस्ता विषयमा मलाई जानकारी नभएको हुनाले थप भन्नु उचित हुँदैन ।”
एकछिन अगाडि भयङ्कर थाहा भएको कुरो एकैछिन पछाडि जानकारी नहुने यिनलाई के रोग लागेको होला यस्तो ? पोइल भाग्दा लत्रेको लुङ्गी उचाल्दै दौडिँडै गर्दा झैँ उत्तिखेरै उचालिने, उत्तिखेरै लत्रिने ! होइन के रोग होला नि यस्तो ? बाबुरामलाई आएको लुतोभन्दा यिनलाई फरक खालको लुतो होइन होला क्यारे ? यिनलाई उठी सुख पनि नहुने, बसी सुख पनि नहुने । के भयो यस्तो ? यिनी आफै पनि डुब्ने भए, अरूलाई पनि डुबाउने भए क्यारे । “हम तो डुबेंगे सनम तुमको भी लेकर डुबेंगे” भनेझैँ लुङ्गीमा अल्झिने कस्मलोलाई गहुँतमा डुबाएरै छाड्ने भए कि ?
हुन त उनले भनेझैँ यो उनको निकै सङ्क्षिप्त अवधारणा हो । उनले भनेझैँ विस्तृत रूपमा उनका धारणा सार्वजनिक गर्दा प्राकृतिक रूपमा लुतो कन्याउन खोइलो नै चाहिने दर्शन आउन पनि सक्छ किनकि उनको राजनीति झोल न चौटाको राजनीति रहेको छ । गेडा नलाग्ने खोइला मात्रै ठुलो हुने मकैको घोगा ।
माथि नै उल्लेख भइसक्यो, उनी पोइल भाग्दा लत्रेको लुङ्गी हुन् र हुन्– “ननकङ्ग्रेस, ननकम्युनिस्ट, ननपपुलिस्ट” अर्थात् यस, पोटाटो ।