हेम बिजी ##
Advertisement
खरानी खरानी भयो आज
जलेर देश
चितामा जलेको लासजस्तै
देशभक्त आत्मा आज
खरानीभित्र खोजिरहेका छन् देश
जल्यो संसद् भवन
जल्यो राष्ट्रपति भवन
आँखाअगाडि
कालो धुवाँ फाल्दै वायुमण्डलमा
जल्यो सिंहदरबार र सर्वोच्च अदालत
अनि अनगिन्ती विध्वंससँगै
युगौँयुगको
नेपाली इतिहास पनि जल्यो
यो कस्तो सिद्धान्त बोक्यौ
कस्तो विचार बोक्यौ
देश खरानी बनाएर परिवर्तन अँगाल्ने
यो कस्तो विद्रोह बोक्यौ
भन अब
यो निर्दोष देश
कति पल्ट खरानी बनाउछौ
कहिले जनक्रान्तिको नाममा
कहिले जेनजी आन्दोलनको नाममा
हामी भन्छौँ
ए सत्ता उन्मादका शासक !
निर्दोष युवाका सडकमा लास नपार
हामी भन्छौँ
ए आक्रोशित आन्दोलनकारी
देश जलाएर खरानीमा नास नपार
हामी चाहान्छौँ
खरानीभित्र देश नपरोस्
परिवर्तनभित्र देश खरानी नपरोस्