तमघासबजार । गुल्मीको सत्यवती गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको आयोजनामा शोकसभा सम्पन्न भएको छ ।
नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरका पिता केशरबहादुर कुँवरको निधन भएपछि उहाँको स्मृतिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो सत्यवतीका अध्यक्ष कमल पुलामीको अध्यक्षता तथा ओम सिँजापतिको सञ्चालनमा २०८२ असोज ८ गते बुधबार सत्यवतीको चेहमीमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रामेश्वर खत्री, जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया राना, क्रान्तिकारी कम्युनिस्ट पार्टी गुल्मीका टीका राना, नेकपा (माओवादी केन्द्र) गुल्मीका बसन्त त्रामु, लक्ष्मीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद पाण्डे, सृष्टि आमा समूहकी कृष्णकुमारी त्रामु, सत्यवती–२ का वडाअध्यक्ष खड्कवीर थापा र सत्यवती गाउँकार्यपालिकाकी सदस्य टोपली रानाले शोकमन्तव्य राख्नुभएको थियो ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्यसमेत रहनुभएका ओमेन्द्रका पिता केशरबहादुरको ७६ वर्षको उमेरमा गत असोज २ गते निधन भएको थियो । उहाँ राजमोको साधारण सदस्यसमेत हुनुहुन्थ्यो ।
उहाँको परिवारमा पत्नी, दुई छोरा, दुई बुहारी, चार नाती र एक नातिनी रहेका छन् ।
