डा. चूडाप्रसाद ढकाल ##
हिजोआज सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक मञ्चसम्म ‘ग्रेटर नेपाल’ को विषयले उल्लेखनीय रूपमा चर्चा पाउन थालेको छ । यसले केवल एक ऐतिहासिक प्रसङ्गलाई मात्र होइन, राष्ट्रिय स्मृति र वर्तमान चेतनाको गहिरो तहलाई समेत छुन पुगेको छ । नेपालले आफ्नो अस्तित्व र पहिचानलाई जोगाउन कठिन परिस्थितिमा पनि देखाएको दृढता हाम्रो गौरवशाली इतिहासको परिचायक हो । यही इतिहासको एक महत्त्वपूर्ण अध्याय थियो : एङ्लो–नेपाल युद्ध, जसले हाम्रो साहस, आत्मसम्मान र राष्ट्रप्रतिको समर्पणलाई स्पष्ट उजागर गर्यो ।
सन् १८१४ देखि १८१६ सम्म चलेको युद्धमा नेपाली सेनाले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि असाधारण बहादुरी प्रदर्शन गर्यो । नालापानीको युद्ध यसको सबैभन्दा जीवन्त उदाहरण हो । कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपाली सेनाले सीमित स्रोत र आपूर्ति अभावका बिच पनि आफ्नो किल्ला छाडेन । पानी र खाद्यान्न नपाए पनि दृढ आत्मबलका साथ लड्ने उनीहरूको सङ्कल्पले ब्रिटिस सेनालाई समेत अचम्ममा पार्यो । यसबाट स्पष्ट हुन्छ कि नेपाली वीरता केवल हतियारको मात्र होइन, आत्मबल र रणनीतिक कुशलताको पनि परिणाम थियो ।
अर्को प्रेरणादायी प्रसङ्ग भक्ति थापाको शौर्य हो । ८० वर्षको उमेरमा समेत देशप्रतिको निष्ठाका खातिर उनले देउथल धाराको युद्ध (सन् १८१५, देहरादुन) मा रणभूमिमा प्राण अर्पण गरे । घोडामा चढेर आफ्ना सैनिकलाई नेतृत्व गर्ने क्रममा ब्रिटिस तोपको आक्रमणले उनले वीरगति प्राप्त गरे । यस कार्यले राष्ट्रप्रेमले उमेरको सीमा नमान्ने कुरा प्रमाणित गर्यो । त्यस्तै मकवानपुरको लडाइँमा नेपाली सेनाले ब्रिटिस फौजलाई पराजित गर्नु नेपाली आत्मविश्वास र सामरिक क्षमताको अर्को दृष्टान्त हो ।
यी घटना केवल सैन्य उपलब्धि मात्र नभई हाम्रो राष्ट्रिय आत्मसम्मानको आधारस्तम्भ बनेका छन् तर युद्धमा देखिएको यो वीरताको कथा प्रेरणादायी भए पनि परिणाम भने हाम्रो पक्षमा आएन । सन् १८१६ को सुगौली सन्धिले नेपाललाई ठुलो भूभाग गुमाउन बाध्य बनायो । करिब २,४९,१७० वर्गकिलोमिटरमा फैलिएको भूभाग घटेर १,४७,१८१ वर्ग किलोमिटरमा सीमित भयो । यसरी करिब एकतिहाइभन्दा बढी भूमि (पश्चिमतर्फ गढवाल, कुमाऊँ र सतलजसम्म, पूर्वतर्फ दार्जिलिङ र सिक्किमसम्म) हाम्रो नक्साबाट हरायो । यसले केवल भौगोलिक सिमाना मात्र छोट्याएन, राष्ट्रिय मानसमा पनि गहिरो आघात पुर्यायो । यही घाउबाट ‘ग्रेटर नेपाल’ को अवधारणाले जन्म लियो, जसले गुमेको भूमि फिर्ता गर्ने आकाङ्क्षा बोकेको छ ।
ग्रेटर नेपालको विचारले केवल भूगोलको विषय मात्र होइन, नेपाली पहिचान र गौरवलाई पनि प्रतिबिम्बित गर्छ । यसलाई व्यवस्थित रूपमा अघि बढाउने क्रममा फणिन्द्र नेपालले सन् २००२ मा ‘बृहत् नेपाल राष्ट्रवादी मोर्चा’ स्थापना गरे । संस्थाले ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्ने, अन्तर्राष्ट्रिय समुदायलाई पत्र लेख्ने र विभिन्न कार्यक्रम आयोजना गर्ने काम गर्यो । भारतमा रहेका नेपालीभाषी समुदाय, विशेष गरी दार्जिलिङ, सिक्किम र उत्तराखण्डका समूहले पनि यस अवधारणालाई समर्थन जनाउँदै आएका छन् । उनीहरूका लागि यो मुद्दा भूभागभन्दा पनि सांस्कृतिक पहिचान र आत्मसम्मानसँग जोडिएको छ तर भावनात्मक चाहनाले मात्र ठोस परिणाम ल्याउन सक्दैन ।
आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीतिक परिपक्वता, कानुनी सन्धि र प्रभावकारी नियन्त्रणमा आधारित हुन्छन् । प्राय: विगतका सन्धि र सीमा व्यवस्था अन्तर्राष्ट्रिय कानुनमा स्थिर मानिन्छन्, जसलाई बदल्न अत्यन्त कठिन हुन्छ । त्यसैले ग्रेटर नेपालसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रिय अदालत वा राजनीतिक संवादमा लैजाँदा अत्यन्त सतर्कता आवश्यक हुन्छ । भावनात्मक निर्णयले राष्ट्रलाई अनावश्यक जोखिममा पार्न सक्ने खतरा रहन्छ ।
यस विषयलाई आआफ्ना हितअनुसार प्रयोग गर्ने प्रवृत्ति पनि देखिएका छन् । केही राजनीतिक दलले यसलाई भारतसँगको सम्बन्धमा दुरी बढाउन उपयोग गरेको आरोप लाग्ने गरेको छ । कतिपय विदेशी शक्तिले समेत यस मुद्दालाई भारत–नेपाल सम्बन्धमा तनाव सिर्जना गर्ने उपकरणको रूपमा प्रयोग गरेको भनाइ पाइन्छ । विदेशस्थित केही समूहले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्नेदेखि युवालाई भावनात्मक रूपमा प्रयोग गर्नेसम्मका गतिविधि गरेको आरोप उठेको छ । त्यसैले ‘ग्रेटर नेपाल’ सम्बन्धी बहसमा भावनात्मक पक्षलाई सम्मान गर्ने तर राजनीतिक वा भूराजनीतिक दुरुपयोगबाट जोगिने कला अपरिहार्य छ ।
यस संवेदनशील परिवेशमा एक जिम्मेवार र सन्तुलित नागरिकको रूपमा हाम्रो ध्यान केवल भावनात्मक नारामा सीमित हुनुहुँदैन । हामीले इतिहासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ । हाम्रो वास्तविक शक्ति हाम्रो भौगोलिक आकारमा भन्दा पनि हाम्रो आन्तरिक एकता, आर्थिक विकास र राजनीतिक स्थिरतामा निहित छ । जब हामी शिक्षित, आत्मनिर्भर र आर्थिक रूपमा शक्तिशाली हुन्छौँ, तब मात्र हामीले सीमाविवादजस्ता संवेदनशील मुद्दालाई पनि विश्वसामु प्रभावकारी ढङ्गले उठाउन सक्छौँ । यस सन्दर्भमा स्विट्जरल्यान्डको सफलताको मोडल हाम्रो लागि अनुकरणीय उदाहरण बन्न सक्छ ।
स्विट्जरल्याण्ड एक सानो र भूपरिवेष्ठित मुलुक हो तर उसले आन्तरिक सुदृढीकरणका आधारमा विश्वकै स्थिर र सम्पन्न राष्ट्रको श्रेणीमा स्थान बनाएको छ । यसले अनुसन्धान र विकासमा आफ्नो सकल घरेलु उत्पादन (जी.डी.पी.) को करिब ३.४ प्रतिशत लगानी गर्छ, जसले उसको अर्थतन्त्रलाई अत्यधिक प्रतिस्पर्धी बनाएको छ । हाल स्विट्जरल्यान्डको प्रतिव्यक्ति आय ९२,००० अमेरिकी डलरभन्दा बढी छ, जुन विश्वकै उच्चस्तरमा पर्छ । त्यस्तै यसको सार्वजनिक ऋण जी.डी.पी. को ३८ प्रतिशत मात्र छ, जुन तुलनात्मक रूपमा निकै कम हो । यसका साथै राजनीतिक स्थिरता, खुला बजार प्रणाली, उच्चस्तरीय शिक्षा र प्रत्यक्ष प्रजातन्त्रको अभ्यासले उसको दीर्घकालीन विकासलाई मजबुत बनाएको छ । यी तथ्यले देखाउँछन् कि कुनै पनि राष्ट्रको वास्तविक शक्ति भूगोलमा मात्र होइन, आन्तरिक क्षमता र संस्थागत बलमा निहित हुन्छ ।
निष्कर्षत: ‘ग्रेटर नेपाल’ को भावना हाम्रो इतिहासको प्रतीक हो, जसले हामीलाई पुखाको बलिदानको स्मरण दिलाउँछ र राष्ट्रिय चेतनालाई जीवन्त राख्छ तर हाम्रो भविष्यको बाटो आधुनिक कूटनीति, आर्थिक विकास र आन्तरिक सुदृढीकरणमा आधारित छ । यस अर्थमा ‘ग्रेटर नेपाल’ अभियान भन्नाले मुलुकलाई केवल भौगोलिक आयामले मात्र होइन, आर्थिक, कूटनीतिक र नैतिक शक्तिमा आधारित राष्ट्रको रूपमा विश्वसामु प्रस्तुत गर्नु हो । नेपालको भौगोलिक आकारलाई चुनौती नबनाइकनै हामीले यति ठुलो प्रगति गर्न सक्छौँ कि विश्वसामु हाम्रो पहिचान, बहादुरी र स्वाभिमानका साथै प्रगतिशील राष्ट्रको रूपमा स्थापित होस् । यही नै हाम्रो वास्तविक ‘ग्रेटर नेपाल’ हो, जुन वर्तमान र भविष्यका कर्मबाट निर्माण हुनेछ । त्यसैले इतिहासको सम्मान गर्दै एक शान्त, समृद्ध र सबल नेपालको निर्माणका लागि एकजुट हुनु आजको अपरिहार्यता हो ।
२०८२ भदौ १२ गते