केशवनाथ योगी
बादेबादे जायते तत्व बोध (वादविवादले नयाँ तत्वको जन्म गराउँछ वा ज्ञान दिन्छ ।) विचारहरु बिच हुने संघर्षले नयाँपन, नयाँ सिर्जना र सही निष्कर्षमा पुर्याउन, अगाडि बढ्न र योजना सफल पार्न सहयोग मिल्छ । व्यक्तिका विचार अल्पमत होस् वा बहुमत आ–आफ्नो ठाउँमा र नजरमा सही हुन पनि सक्छ तर सही छ वा गलत परिस्थिति र समयले प्रमाणित गर्दै जान्छ । समय र परिस्थितिको मूल्यांकन अनुसार मत बदलिन पनि सक्छ । तर विचारलाई सम्मान गर्नु सबै पार्टी सदस्यको कर्तव्य हुन्छ र हुनु पदर्छ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) को ८ औं महाधिवेशन भन्दा पूर्व पार्टीले जनवादी केन्द्रियताको सबैभन्दा उच्चतम विधि अपनाएर तल्लो तहसम्म दुईवटा फरक फरक प्रस्तावहरुमा व्यापक र घनिभुत छलफल चलायो । दुईवटै प्रस्तावमा आआफ्नो प्रकारले राष्ट्रिय, अन्तर्राष्ट्रिय, राजनीतिक, सामाजिक र संगठनात्मक सवालमा बिश्लेषण गरिएको थियो । महाधिवेशनमा पार्टीलाई बलियो र अनुशासित बनाउन विभिन्न प्रस्तावहरु पेश भएका थिए ।
केही साथीहरुले फरक मत (तत्कालिन अवस्थामा अल्पमत) राख्दै नेपालको वामपन्थी राजनीतिक संघर्ष र विचारको ईतिहासमा अब्बल पार्टी, संगठनात्मक र संरचनात्मक हिसावले किन पछाडि पर्यो ? भन्ने प्रश्न गरेका थिए । पार्टीको अनुशासन अझ बलियो र कसिलो बनाउनु पर्ने धारणा राखेका थिए । प्रश्न गम्भीर र विचारणीय थियो । प्रश्न सही छ भन्नेमा पार्टी भित्रका कयौँ ईमान्दार कार्यकर्ताहरु सहमत भए । र अल्पमत पक्षको कित्तामा उभिएर छलफलमा भाग समेत लिए । एउटा चरणमा पुगेर महाधिवेशन सम्पन्न भयो । पार्टीले व्यापक जनवादी केन्द्रियताको अभ्यास पश्चात दुईतिहाइ मतबाट सबै बिषयमा महत्वपूर्ण निर्णय लियो ।
महाधिवेशन पछि अल्पमत पक्षधर कतिपय व्यक्तिको उद्देश्य र योजनामा परिवर्तन हुन थाल्यो । प्रस्तुत विचार भन्दा व्यवहारमा फरक देखिन थालेको छ । जो बास्तविक कुण्ठा वा बदनियत मन भित्र लुकेर बसेको थियो त्यो केही समयपछि खुला रुपमा प्रदर्शन हुन थाल्यो । उनीहरुका गतिविधि हेर्दा फरक मतको आड लागेर पार्टीलाई ध्वस्त बनाउने योजनाका साथ चलखेल गरेको संकेत देखियो ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहास र अभ्यासमा पार्टी भित्र दुश्मन शक्तिको छद्मरुपमा घुसपैठ भएका उदाहरणहरु हाम्रा अघि छन् । घुसपैठियाहरुले पार्टीका इमान्दार नेता कार्यकर्ताहरुलाई सही राजनीतिबाट टाढा राखेर आफ्नो स्वार्थ अनुरुप ढाल्न भावनात्मक शैली र व्यक्तिगत लाभहानीका विषयमा प्रशिक्षित गर्दै लान्छन् । यस्ता तत्वहरु जब राजनीतिक रुपले पराजित हुन्छन् त्यसपछि व्यक्तिगत चरित्र हत्याको वातावरण तयार पार्न कम्मर कसेर लाग्छन । क्रान्ति र अनुशासनको विगुल बजाउनेहरु अराजकताको पराकास्ठामा रुपान्तरण हुने गर्दछन् ।
नेकपा (मसाल) को महाधिवेशनमा पार्टी किन कमजोर भयो र अनुशासन कमजोर बन्यो भनेर प्रश्न गर्ने कतिपय व्यक्तिहरु नै यतिबेला अनुशासन विहीनता र अराजकतालाई आफ्नो पहिचान बनाइसकेका छन् । पार्टीविरुद्ध ट्रोल सेनाका नायकका रुपमा रुपान्तरण भएका छन् । उनीहरुले आफ्नो उदण्ड र अराजनीतिक कार्य शैलीलाई निर्लज्ज तरिकाबाट विभिन्न मिडिया र सामाजिक सञ्जालमा प्रदर्शन गरिरहेका छन् । पार्टी भित्र रहेका केही तत्वहरुले छद्मरुपमा र पार्टीबाट निष्काशित केहीले खुलारुपमा पार्टीविरुद्ध प्रहार गरिरहेका छन् । सबैलाई अवगत नै छ कायरहरु लुकेर, छुपेर, छलकपटपुर्ण तरिका अपनाउने गर्छन् । उनीहरुले पार्टीविरुद्ध त्यही प्रक्रिया अपनाइरहेका छन् । आफूलाई कम्युनिष्ट सिद्धान्तमा समर्पित भन्ने व्यक्तिहरु अनुशासनको मुकुन्डो पहिरिएर राजनीतिक बेइमानी गर्न लालाहित देखिएका छन् ।
यसरी पार्टी विरुद्ध जाइलाग्नेहरु पार्टीले अन्याय गरेको भन्दै रुवाबासी गर्न पनि पछि पर्दैनन् । छद्मभेषमा पार्टीका सूचना र जानकारीहरु दुश्मन शक्तिको हातमा समेत पार्ने गरी गोपनीयता भंग गर्ने व्यक्तिहरुलाई घुसपैठिया र जासुस नभनेर के भन्ने ? इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भन्ने ?
केही व्यक्तिहरु राष्ट्रिय जागरण अभियानको नाममा एउटा क्लब खोलेर आफूलाई के सावित गर्न खोजिरहेका छन् ? के त्यो राजनीतिक दल वा समूह हो ? यदि हो भने निर्वाचन आयोगमा दर्ता गरेर गतिविधि अगाडि बढाउनु पर्छ । कथित राष्ट्रिय जागरण अभियानको २०७७ असार ७ गते जारी गरिएको वक्तव्यको बुँदा न १ मा ‘एमसीसीका बिरुद्ध तथा राष्ट्रियताका पक्षमा नेकपा (मसाल) नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (माले) राष्ट्रिय जनमोर्चा लगायत १० दलीय मोर्चासँग एकलरुपमा वा मिलेर आन्दोलन अगाडि बढाउने’ भनिएको छ ।
के यी सबै राजनीतिक बिषय वस्तु होईनन् ? उक्त क्लवले आफूलाई राजनीतिक समूहको रुपमा बुझेर मिलेर वा एकल आन्दोलन गर्ने रे अनि अरु पार्टीले अबैधानिक क्लवसँग मिलेर आन्दोलन अगाडि बढाउने रे हास्यास्पद कुरा । पार्टीबाट निष्कासित अनुशासनहीन समूहसँग कुनै पनि प्रकारको समन्वय पार्टीका लागि लज्जास्पद विषय हुनेछ ।
पार्टीका कैयौं इमान्दार नेता कार्यकर्ताहरु जो पार्टी र क्रान्तिका लागी जीवन समर्पित गर्न तयार थिए, जसले कयौँ चुनौतीको सामना गरेर यहाँसम्म आईपुगे, उनीहरु कसरी पार्टी विरुद्धकै हतियार बनेर प्रयोग भइरहेका छन् ? जुन डुङ्गामा यात्रा गरिरहेका थिए, त्यही डुङ्गामा प्वाल पार्न किन तयार भएका छन् ? अनि कतिपय पार्टी सदस्यहरुलाई दिगभ्रमित पार्ने प्रयास किन गरिरहेका छन् ? उनीहरुको नियत र व्यवहारप्रति समयमै सबै इमान्दार पार्टी सदस्यहरुको ध्यानाकर्षण हुन जरुरी छ ।