काठमाडौँ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले लिपुलेक अतिक्रमणको विरुद्धमा भदौको अन्तिम हप्ता प्रधानमन्त्रीलाई ज्ञापनपत्र तथा असोज ९ गते दार्चुलाको सरमुकाम खलङ्गामा विरोधसभा सम्पन्न गर्ने भएको छ ।
केन्द्रीय सदस्य तथा सुप अध्यक्ष नन्दराज भट्टका अनुसार आज २०८२ भदौ २२ गते आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश अध्यक्ष भट्टको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार भारत र चीनले लिपुलेकलाई द्विदेशीय व्यापारिक नाका बनाउने सहमतिको विरुद्ध भदौ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन बुझाइनेछ ।
भदौ २६ गते कञ्चनपुर र डोटी तथा असोज ५ गते डडेलधुराका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइने सो ज्ञापनपत्र नेपाल सरकारको नाममा सम्बोधन गरिनेछ ।
त्यस्तै विज्ञप्तिमा असोज ९ गते दार्चुला जिल्लाको सदरमुकाम खलङ्गामा महासचिव मनोज भट्टको विशेष उपस्थितिमा सर्वपक्षीय अन्तरक्रिया, विरोधसभा र पत्रकार सम्मेलन गरिने जानकारी दिइएको छ ।
एवम् प्रकारले लिपुलेक अतिक्रमणका विरुद्ध संयुक्त कार्यक्रमका लागि संवाद र समन्वय गर्न अध्यक्ष नन्दराज भट्ट र प्रदेश उपाध्यक्ष हरिकृष्ण पाण्डेलाई जिम्मा दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।