शंकरप्रसाद पोख्रेल, बुटवल, रुपन्देही ।
रुपन्देहीको बुटवलमा आयोजित जिल्ला स्तरीय जनवर्गीय सङ्गठनहरूको संयुक्त भेलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले “देश र जनताको पक्षमा राष्ट्रिय जनमोर्चा मात्र अडिग रहेको बताउनुभएको छ ।
२०८२ भदौ २१ गते शनिबारका दिन संयुक्त भेलामा प्रमुख अतिथि रहनुभएका केसीले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष केसीले दलहरूको चरित्र र जनताप्रति उनीहरूको उत्तरदायित्वबारे प्रश्न उठाउँदै अन्य दलहरू सत्ता र स्वार्थमा सीमित रहेको उहाँको भनाई थियो ।
“देशलाई संकटबाट पार लगाउने शक्ति राष्ट्रिय जनमोर्चा मात्र हो । त्यसैले जनवर्गीय सङ्गठनहरू सशक्त भएर लाग्न जरुरी छ ।”
केसीले अगाडि भन्नुभयो, राष्ट्रिय सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारका सवालमा पार्टी दृढ रहेको उल्लेख गर्दै आन्दोलनमार्फत मात्र राजनीतिक परिवर्तन सम्भव हुने बताउनुभयो ।
वामपन्थी नेता सुरेश थापाले पनि आफ्ना विचार राख्दै राष्ट्रिय जनमोर्चाले अघि सारेका एजेण्डा नै जनताको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालका रहेको र त्यसमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी संयुक्त भेलाको उद्देश्य र एजेण्डाबारे कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले पार्टी र सङ्गठनबीचको सहकार्य नै जनआन्दोलनलाई सशक्त बनाउन अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा वामपन्थी नेता सुरेश थापा, रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बद्रे आलम, बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द्र पन्त, किसान नेता चन्द्रबहादुर केसीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रिय जनमोर्चा नेतृत्वमा चल्ने आन्दोलन नै देश र जनताको हितको पक्षधर आन्दोलन भएको निष्कर्ष निकाल्दै सबै तह, वर्ग र क्षेत्रका जनवर्गीय सङ्गठनहरूलाई एकीकृत अभियानमा सक्रियतापूर्वक जुट्न आह्वानसमेत गरेका थिए।
भेलाको सञ्चाल इन्दिरा ज्ञवाली, अध्यक्षता जिल्ला अध्यक्ष टानबहादुर केसी र स्वागत राष्ट्रिय जनमोर्चा प्रदेश कोषाध्यक्ष गणेश गौतमले गर्नुभएको थियो ।