विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दा बढी मारमा मजदुरहरु परेका छन् । कोरोना संक्रमणले संसार भरिका उधोग, धन्दा लगभग बन्द अवस्थामा छन् । होटेल रेस्टुरेन्ट पनि बन्द नै छन् ।यसले ति स्थानमा कार्यरत मजदुरहरु बेरोजगार बनेका छन् । विदेशमाम गएर श्रम गरिरहेका लाखौं नेपाली युवाहरु पनि अहिले बेरोजगारीको सूचिमा छन् ।
नेपालबाट दैनिक १५००देखी २००० युवाहरु विदेश जाने गरेको तथ्यांक छ । विदेशस्थित युवाहरुले नै पठाएको रेमिट्यानसका भरमा नेपालको अर्थतन्त्र चल्ने गरेको छ । कोरोना महामारीका कारण नेपालमा रेमिट्यान्स भित्रन छोडेपछि नेपालको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको छ । हालै मात्रै अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीलाई तलब खुवाउन पनि अब ऋण लिनुपर्ने बाध्यता रहेको जानकारी दिएका थिए ।
विदेशमा नेपाली युवाहरुलाई सस्तो श्रम बेच्न बाध्य पार्ने नेपाली शासकहरु नै हुन् । कथित मेनपावर मार्फत युवाहरुलाई विदेशमा सस्ता श्रमिकका रुपमा पठाइन्छ । नेपाली युवाहरुले विदेश गएपछि अनेक दुःख कष्ट सहनुपर्छ । मेनपावरले यहाँबाट एउटा काम भनेर पठाउँछ तर उता जाँदा काम अरु नै हुन्छ । जेनतेन काम गरेपनि भनेजती पैसा पाइँदैन । तातो घाममा जटिल काम गर्दा कयौं युवाहरुको अकालमै ज्यान समेत जाने गरेको छ । दैनिक तीन देखि पाँच वटा लास त्रिभुवन एअरपोर्ट आएका उदाहरण हामी सवैको सामु छ ।
नेपाली मजदुरहरु विदेशमा अत्यन्तै असुरक्षित छन् । विशेष गरेर खाडी राष्ट्रहरुमा ज्यान कसरी जोगाउने भन्ने चिन्ता हुन्छ । तर त्यहाँ स्थित राजदूतावासले नेपाली कामदारहरुको सुरक्षामा कुनै कदम उठाएको देखिँदैन । सरकारले आफ्ना देशका नागरिक कहाँ कस्तो अवस्थामा छन् भनेर बुझ्न त खोज्दैन नै, हामी अलपत्र पर्यौं उद्धार गर्नुपर्यो भनेर गुहार माग्दा समेत सरकार सुन्दैन ।
विदेशमा विभिन्न संघ संस्थाहरु जस्तै अन्तर्राष्ट्रिय नेपाली एकता समाज आदीले संगठित अलपत्र युवाहरुको उद्धार गर्ने गरेता पनि असंगठित धेरैको उद्धार सम्भव हुँदैन । अहिलेको महामारीको समयमा त झन् विदेशस्थित नेपाली कामदारहरुले अत्यन्तै दुःख पाएका छन् । कयौं युवाहरुले हामी यहाँ अलपत्र पर्यौं भनेर नेपालमा रहेका आफन्त र सञ्चारमाध्यमलाई फोन गर्ने गर्छन् । कतिपय खान नपाएर मृत्यु भएका समाचारहरु आइरहेका छन् भने कतिपयले पीडा सहन नसकेर आत्महत्या समेत गर्ने गरेका छन् ।
विदेशमा कोरोना महामारीको अवस्थामा मात्र नभएर सामान्य अवस्थामा समेत नेपाली कामदारहरुले दुःख पाउने गरेका छन् । अहिलेको महामारीमा विदेश विशेष गरेर भारत, साउदी,कतार, मलेसिया, वहराइन, ओमन, कुवेत दुबई काम गर्न गएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु स्वदेशमा फर्किरहेका छन् । कोरोनापछि अहिले दुःख पाएर फर्किएका दाजुभाइहरुलाई नेपाल सरकारले नेपालमै रोजगारीको ब्यबस्थापन गरे त्यो युवाहरुको लागि मात्रै नभएर राष्ट्र आत्मनिर्भर बन्ने अवसर सावित हुने छ ।
नेपालको संबिधानमा समाजवाद उन्मुख भनेर लेखेता पनि अहिलेसम्म सरकारले त्यस्तो कुनै कार्यक्रम ल्याउन सकेको छैन । त्यो केबल शब्दमा मात्र सिमित छ । कृषि क्षेत्रमा नेपाल आत्मनिर्भरताको कुरा सरकारले गरिरहेको छ तर गाउँ गाउँमा खेतीयोग्य जमिन, खेतबारी बाँझै पल्टिएका छन् । विदेसबाट स्वदेश फर्किएको युवाशक्तिलाई सरकारले कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्छ । तबमात्र देश एकातिर कृषि क्षेत्रमा आत्मनिर्भर हुनेछ भने अर्कोतिर हाम्रो युवाशक्तिलाई नेपालमै रोजगारीको सिर्जना हुनेछ ।
त्यसको लागि सरकारले क्रान्तिकारी भूमिसुधार लागू गर्नुपर्ने आवश्यकता छ । हदभन्दा बढी जमिन हुनेहरुको जमिन खोसेर सरकारले नै जमिन नहुने किसाहरुलाई बाँडिदिनुपर्छ । आधुनिक कृषि उत्पादनमा जोड दिएर किसानहरूले उत्पादन गरेको सवै किसिमका खाद्य पदार्थ सरकारले नै उचित मूल्यमा खरिद गरिदिनुपर्छ । त्यसो गर्दा भारतबाट आउने खाद्यान्न बन्द हुनेछ । अनि देशको अर्थतन्त्रलाई समेत फाइदा पुग्नेछ । कृषिमा मात्र नभएर विभिन्न खाले सिपमुलक काममा युवाहरुलाई ब्यबस्थापन गर्न सके एकातिर युवाहरुको विदेश पलायनमा कमि आउनेछ भने अर्कोतिर देशमा काम गर्ने जनशक्तिको अभाव हुनेछैन ।

