गिरीप्रसाद बुढा
हिजोआज इन्टरनेट मानव जीवनको एउटा अभिन्न अङ्ग बनेको छ । यो खुशीको कुरा हो कि इन्टरनेट अब शहरबजारमा मात्रै होइन, गाउँगाउँमा पनि यसको विस्तार भइरहेको छ । इन्टरनेटको यति धेरै विस्तार भइरहेको भएता पनि समाजका बहुसङ्ख्यक जनता इन्टरनेटको पँहुचवाट निकै टाढा रहेका छन् । कैयौँ इन्टरनेट प्रयोगकर्ताहरू सुलभ र गुणस्तरीय इन्टरनेट सेवाको खोजीमा भौतारिँदै दिन बिताइरहेको अवस्था छ । यसरी इन्टरनेट सेवाको खोजीमा भौतारिँदै दिन बिताइरहनेमध्ये म पनि एक हुँ ।
म जिल्लाका अरू स्थानभन्दा सम्पन्न भनिएको स्थानमा बसोबास गर्ने बासिन्दा हुँ अर्थात मेरो घर नगरपालिका र त्यसमा पनि जिल्ला सदरमुकामभित्र रहेको छ । यथार्थमा म गाउँको पुख्र्याैली सम्पत्ति बेचेर शहरमा बसाइँ सरेको मान्छे हुँ । यसरी गाउँबाट शहर सर्नुपर्दाको मेरो कथा बेग्लै छ । यस्तो सुविधासम्पन्न शहरको बासिन्दा भएर पनि इन्टरनेटको सुविधाबाट बञ्चित भएर पीडा खप्नुपरेका हजारौँ मानिसको प्रतिनिधि पीडा मेरो आफ्नै प्रत्यक्ष अनुभव मार्फत् अभिव्यक्त गर्न गइरहेको छु ।
मेरो सात जनाको परिवार छ । दुई छोरी र एक छोरा स्कुल पढ्ने गर्दछन् । आमा बुढी हुनुहुन्छ । ९२ वर्षका वृद्ध मामा पनि हाम्रै संरक्षकत्वमा बाँचिरहनुभएको छ । केटाकेटीका आमाले एउटा सानो किराना पसल चलाउँदै आएकी छिन् । मैले बिए पास गरेको सर्टिफिकेट दराजमा थन्काएर राखेको छु अथवा म औपचारिक रूपमा बिए पास गरेको मान्छे भएता पनि जागिर खाने वा पैसा कमाउने कुनै पनि काममा लागिनँ । जीवनमा कम्युनिस्टको राजनीति समातेर कार्यकर्ता बनी पसिना बगाइरहेको छु । आफ्नो योग्यता र क्षमताले धानेअनुसार कला र साहित्यको सेवामा पनि रहर गरिरहेको छु । यस्तो काममा अगाडि बढ्नेका लागि इन्टरनेटको आवश्यकता झन् धेरै पर्दाे रहेछ । मेरा लागि यसको आवश्यकता दिन–प्रतिदिन झन् झन् बढ्दै गइरहेको छ । तर पनि म इन्टरनेटको सुविधाबाट वञ्चित छु ।
हिजोआज कोरोना भाइरसको महामारीबाट बच्न देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । लकडाउनको कारण हाम्रो घरको सपरिवारलाई घरमा नै बसिरहनुपरेको छ । यो लकडाउनको समयलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा मैले सुरुमा नै सोचेको थिएँ । पुस्तक अध्ययन गर्ने र साहित्य सिर्जना गर्नेजस्ता कामबाहेक बजारको बसाइँमा मबाट अरू उपाय केही निस्केन । शायद गाउँको बसाइँ भए मेरा थुप्रै काम हुन सक्थे । यसरी घरमा अरू कामको कुनै मेलोमेसो नभएपछि घरका केटाकेटी लुडो खेलेर र टेलिभिजन हेरेर दिन बिताउने उपाय निकाल्न थाले । यो बेलामा घरमा इन्टरनेटको सुविधा भएको भए केटाकेटीले इन्टरनेटबाट ज्ञानविज्ञानका कुरा सिक्न सक्थे होला । यो समयमा त झन् इन्टरनेटबाटै विद्यार्थीलाई पढाउने, लेखाउने कार्य सुरु गर्न थालिएकाले छोराछोरीले घरमा इन्टरनेट राख्ने कुरा अगाडि सार्न थाले । उसो त इन्टरनेटको सेवा म आफैलाई पनि कम्ती आवश्यकता थिएन ।
लकडाउनको कारण सिर्जित परिस्थितिको कारण यो समयमा मलाई पटक पटक आफू आबद्ध विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने भिडियो कन्फेरेन्समा जोडिइरहनुपरेको छ । आफ्ना साहित्य सिर्जना अरूतिर सेयर गर्न र अरूतिरका साहित्य सिर्जना आफूले प्राप्त गर्न, यसैगरी कैयौँ कुरा सिक्न/सिकाउनलाई पनि दैनिक रूपमा मलाई इन्टरनेटको आवश्यकता परिरहन्छ । आजसम्म यो आवश्यकता पूर्ति गर्न मैले अरू नै मानिसको घरमा शरण लिनुपरेको छ । बजारमा एकजना चिनेका आफन्तीले आफ्नो घरमा इन्टरनेट जोडेका छन् । प्रायः म त्यही घरमा गएर इन्टरनेटको सुविधा लिने गर्दछु । इन्टरनेट प्रयोगका लागि बारम्बार आफन्तीकहाँ गइरहनु पनि आफैलाई अप्ठ्यारो महशुस हुने गर्दछ । कैयौँ चोटी त आफन्तीको घरमा गएर पनि त्यत्तिकै फर्कनुपर्ने अवस्था सिर्जना हुने गर्दछ । कहिले नेटले राम्ररी काम नगर्ने, कहिले बिजुलीबत्ति जाने, कहिले घरबेटी नभेटिनेजस्ता तमाम समस्या मैले भोग्ने गरिरहेको छु ।
घरमै इन्टरनेट भएमा यस्ता समस्या पनि भोग्नुनपर्ने र छोराछोरीका चाहना पनि पूरा हुने भएकाले घरमै इन्टरनेट जोड्ने इच्छा जाग्यो ममा । मैले मेरो यो इच्छा घरमा सुनाएँ । मैले घरमा इन्टरनेट जोड्ने कुरा निकालेपछि घरका केटाकेटी सबैभन्दा खुशी भए । यो खुशीलाई साकार रूप दिन सर्वप्रथम म जिल्लामा रहेको दूरसञ्चारको कार्यालयमा पुगेर त्यहाँका हाकिमसँग घरमा इन्टरनेट राख्ने विषयमा कुरा राखेँ । अहिले यो भेगतिर इन्टरनेट राख्नलाई दूरसञ्चारको कार्यालयबाट सम्भव नभएको जवाफ पाएपछि म निराश भएर घर फर्किएँ । बजारमा केही मानिसले सुबेसु, वल्र्डलिङ्कजस्ता इन्टरनेटको व्यापार गर्दा रहेछन् । दूरसञ्चार कार्यालयबाट निराश भएर फर्किनुपरेता पनि इन्टरनेट जोड्ने अरू सम्भावना भएकाले मैले ती सम्भावनाको खोजी गरेँ । धेरैतिर कुरा बुझ्ने प्रयास गरेँ ।
यसरी कुरा बुझ्दा कतिपयले आफ्नो इन्टरनेट खालि सङ्घसंस्था र कार्यालयमा मात्र जोड्ने कार्यक्रम राखेका रहेछन् भने कुनैले व्यक्तिगत घरमा पनि जोड्ने रहेछन् । यसरी व्यक्तिगत घरमा पनि इन्टरनेट जडान गर्नेसँग मैले कुरा बुझ्न थालेँ । कुरा बुझ्दा थाहा भयो, यस्ता इन्टरनेट घरमा जोड्दा सुरुमा २१/२२ हजार लाग्ने र पछि मासिक रूपमा न्यूनतम एक हजारदेखि १८/१९ सय जति महशुल तिर्नुपर्ने हुँदो रहेछ ।
मेरो पारिवारिक अवस्था मैले माथि नै उल्लेख गरिसकेको छु । यस्तो आर्थिक अवस्थामा गुज्रिरहेको घरपरिवारले यति महङ्गो इन्टरनेट सेवा उपभोग गर्न कसरी सम्भव हुन सक्छ ? केटाकेटीका आमाले चलाएको एउटा सानो किराना पसलबाट सात जनाको पेटमा साँझबिहान दानापानी भर्न अर्थात् दैनिक गुजारा तार्नलाई कठिन हुन्छ । अनि, केटाकेटीको सामान्य शिक्षाका लागि पारिवारिक अवस्था ऋणमा डुब्दै गइरहेको यस्तो कठिन परिवेशमा घरमा इन्टरनेट जोड्ने इच्छामा तुषारापात लाग्नु स्वाभाविक छ । पैसा भएपछि जे पनि हुने तर पैसा नभए केही पनि नहुने पुँजीवादको यो निर्मम चरित्रको अगाडि कैयौँ चोटि मैले रुँदै आफ्ना इच्छा मार्न विवश हुँदै आएको छु । केही दिनको प्रयासपछि घरमा इन्टरनेट जोड्ने इच्छा पनि मैले यसरी नै मार्न विवश भए । घरमा इन्टरनेट जोड्ने कुरा सुनेर उज्याला भएका केटाकेटीको अनुहार घरमा इन्टरनेट नजोडिने भएपछि क्षणभरमै अँध्यारा देखिए । घरमा इन्टरनेट जोड्ने मेरा इच्छा सँगसँगै छोराछोरीका निश्चल इच्छामा समेत तुषारापात हुँदाको अवस्थाले झन् मलाई नरमाइलो अनुभूति दिलायो ।
कति सत्य हो थाहा छैन, सबैतिर इन्टरनेटको पँहुच पु-याउनलाई सरकारले ठाउँठाउँमा अप्टिकल फाइबर भन्ने चिज बिछ्याउँदै छ रे ! त्यो चिज हाम्रोतिर पनि बिछ्याउने योजना लिएको छ रे ! त्यो बिछ्यायो भने इन्टरनेट सेवा गुणस्तरीय र सर्वसुलभ हुन्छ रे ! मेरा केटाकेटीहरूले पनि यो हल्ला कतैबाट सुनेका रहेछन् । त्यसैले केटाकेटीले पनि हाम्रो घरको विवशतालाई बुझेर होला, उनीहरूले मलाई सम्झाए– “भैगो, घरमा अहिल्यै नेट नजोडौँ । हामीसँग घरमा पैसा पनि छैन । फेरि मासिक रूपमा यस्तो महङ्गो महशुल तिर्न हामीलाई गाह्रो पनि पर्ला । कोरोना महामारीबाट मुक्त भएपछि पक्कै सरकारले अप्टिकल फाइबर विस्तार गरिहाल्ला । त्यसैबेला जोडौँला घरमा नेट । यसरी घरमा इन्टरनेट जोड्नका लागि परिवारमा यही सल्लाह भयो ।
वास्तवमा मेरो परिवारको यो समस्य न्यून आयस्रोत भएको अर्थात् बेरोजगार परिवार सबैको साझा समस्या हो भन्ने लाग्दछ । आज गरिबीमा बाँचिरहेका हजारौँलाखौँ गरिब तथा बेरोजगार मानिसका घरपरिवार यो भन्दा पनि दर्दनाक र कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । उनीहरूको घरमा पैसा आउने ठाउँ एउटा छैन तर पैसा जाने ठाउँ अनेकौँ छन् । मेरै उदाहरण हेर्नुस त ! मेरो घरको पैसा आउने ठाउँ भनेको केटाकेटीको आमाले चलाइरहेको सानो किराना पसल मात्रै छ तर पैसा जाने ठाउँ हेरौँ त कति धेरै छन् ? खानेपानी कार्यालय, विद्युत कार्यालय, नगरपालिका, कर कार्यालय, केटाकेटीका स्कुल, ट्युसन सेन्टर, बैङ्कका किस्ता, अस्पताल, ग्याँस, दालचामल, तरकारी, फोनमा। शायद अनगिन्ती ठाउँ छन्, पैसा जाने । मेरो यो उदाहरण बहुसङ्ख्यक गरिब नेपालीको एउटा प्रतिनिधि उदाहरण हो । अधिकांश नेपालीको हालत यस्तै छ । देशमा केही मुट्ठीभर मानिस मात्रै होलान्, जसले आफ्ना आवश्यकताभन्दा बढी अतिरिक्त पैसा स्वदेश तथा विदेशका बैङ्कमा थुपारेर राखेका । तर हामीलाई यस्तो अतिरिक्त पैसाको कुनै लालचा छैन । हामीकहाँ आउने पैसा र हामीबाट जाने पैसा बराबर भए पुग्छ ।
हाम्रो देशको समाजवादउन्मुख संविधानले शासकलाई यो बाटोमा हिँड्नलाई मार्गदर्शन गरोस् । पैसा नभएको कारण कोही मान्छे इन्टरनेटको सुविधाबाट बञ्चित हुन नपरोस । पैसा नभएकै कारण कसैले ज्यान गुमाउन नपरोस् । पैसा नभएकै कारण कोही विद्यार्थी उसले चाहेको शिक्षाबाट वञ्चित हुन नपरोस् । पैसा नभएकै कारण कसैलाई मर्नुपर्ने अवस्था नहोस् । पैसा भए जे पनि हुने तर पैसा नभए केही पनि नहुने घिनलाग्दो युगको अन्त होस् । यस्तो गर्न यो संविधानबाट सम्भव छ कि छैन ? यो सरकारबाट सम्भव छ कि छैन ? सबैले गहिराइबाट नै यसको उत्तर खोज्नु आवश्यक छ ।