शंकर प्रसाद पोख्रेल
बुटवल । आज बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यलयमा विभिन्न वामपन्थी दलहरूको बिच सम्पन्न बैठकले लिपुलेक–कालापानी हुँदै व्यापार नाका सञ्चालन गर्नका लागि भारत र चीन बिच भएको सम्झौताप्रति विरोध प्रकट गर्ने निश्चित गरेको छ । २०८२ भदौ ६ गते सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले सो सम्झौताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता माथि प्रत्यक्ष हस्तक्षेप गरेको ठहर गरेको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा, नेकपा (एकीकृत समाजवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मसाल) का जिल्ला स्तरका नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकले भारत र चीनको हस्तक्षेप बिरुद्ध संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको छ । साथै यही भदौ ८ गते भैरहवा सिडिओ कार्यालयमा विरोध प्रदर्शनसहित ज्ञापन–पत्र बुझाउने निर्णय गरेको बैठकमा सहभागी नेता चेतनाथ आचार्यले जानकारी दिनु भएको छ ।





