महेश रिजाल, भालुबाङ (दाङ) ।
दार्चुला जिल्ला महाकाली नगरपालिका–१ निवासी ५४ वर्षीय जयधनसिंह बडाल दाङको राप्ती गाउँपालिका–१ पुल्चोकस्थित न्यू थापा होटल एन्ड लजमा मृत अवस्थामा भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार २०८२ भदौ २ गते साँझ उनको शव सो होटलमा फेला परेको हो ।
होटल सञ्चालका अनुसार निज व्यक्ति भदौ १ गते साँझ ५ बजेतिर सरुमारानी गाउँपालिका–१ प्युठान ठेगाना बताउने अन्दाजी ४० वर्षीय एक महिलालाई आफ्नी श्रीमती हुन् भनेर होटलको कोठा बुक गरेका थिए । उनीहरू भदौ २ गते बिहान ८ बजेसम्म एउटै कोठामा बसेका थिए ।
सोही दिन साँझ निज महिला एक्कासि होटल सञ्चालककहाँ आई बडाललाई सञ्चो भएन, डाक्टर बोलाइदिनुस् भनेपछि होटल सञ्चालकले पुल्चोकस्थित ॐ मेडिकललाई खबर गरेका थिए ।
ॐ मेडिकलका सञ्चालकले तुरुन्त प्रहरीमा खबर गर्नुहोस् भनेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी भालुबाङका प्रहरी घटनास्थलमा पुगेर भालुबाङ अस्पताल पुऱ्याए पनि चिकित्सकले निजको मृत्यु भएको घोषणा गरेका थिए ।
मृतक बडाल काठमाडौँ, बुटवल, दाङको राप्ती गाउँपालिका–४ मौरिघाटलगायतका स्थानमा डेराभाडा लिई विभिन्न उपभोग्य सामान सप्लाई गर्ने गरेको होटल सञ्चालकले जानकारी गराए ।
अहिले मृतक बडालको शव पोस्टमार्टमका लागि लमही अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ भने महिलालाई इलाका प्रहरी कार्यालय भालुबाङले नियन्त्रणमा लिएको छ ।