श्यामलाल पोखरेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू २०७२ सालमा सहकारीमन्त्री हुँदा भ्रष्टाचार गर्न नदिएकै कारण प्रधानमन्त्री केपी शर्माओलीसँग सम्बन्ध बिग्रिएको दाबी गर्नुभएको छ ।
भ्रष्टाचारको विरुद्धमा २०८२ साउन ३० गते शुक्रबार राजमो रुपन्देहीले आयोजना गरेको भ्रष्टाचार विरुद्धको सभालाई सम्बोधन गर्दै उहाँले सो खुलासा गर्नुभएको हो ।
‘भ्रष्टाचार अपराध हो, अपराधीले अहिले पनि भ्रष्टाचार गर्न छोडेका छैनन्’ केसीले भन्नुभयो– ‘भ्रष्टाचार गर्न नदिएकै कारण प्रधानमन्त्री ओलीसँग हाम्रो सम्बन्ध बिग्रिएको हो ।’
आफू उपप्रधान तथा सहकारीमन्त्री हुँदा मन्त्रालयमा हुने भ्रष्टाचार रोकेको र विभिन्न खालका चलखेलमा सहमति नजनाएका कारण केपी ओलीसँग सम्बन्ध चिसिएको उहाँको भनाइ थियो ।
आफू उपप्रधानमन्त्री हुँदा सहकारीका ठग र प्रधानमन्त्रीसँग कठिन लडाइँ लड्नुपरेको वृत्तान्त अध्यक्ष केसीले सभामा सुनाउनुभयो ।
सभामा मन्तव्य राख्दै अध्यक्ष केसीले यहाँ धेरैले भ्रष्टाचार गरेकाले जनता उठ्न ढिला भइसकेको जिकिरसमेत गर्नुभयो ।
उहाँले सत्ता र शक्तिमा बस्नेहरूले भ्रष्टाचार गरेको उदाहरण दिँदै सांसद बन्दा पार्टी र नेताहरूलाई खुवाएको घुसको पैसा फिर्ता गर्नका लागि ठुला दलका सांसदहरू मरिहत्ते गरेर मन्त्री हुने र मन्त्री भएपछि ठुलो आकारमा घुस खाने गरेको बताउनुभयो ।
ठुलो दल बताउनेहरूले निष्ठाको राजनीनि नगरेको बरु राजनीतिलाई उद्योग बनाएर भ्रष्टाचार गर्ने गरेको आरोप लगाउँदै अध्यक्ष केसीले भन्नुभयो– ‘हाम्रो पार्टी राष्ट्रिय जनमोर्चामा घुस खानेहरू नेता र सदस्य बन्न पाउँदैनन् ।’
सत्ता र सरकारकै आडमा भ्रष्टाचार मौलाएको बताउँदै भ्रष्टाचार उन्मूलन गर्न जनता सचेत हुनुपर्ने अध्यक्ष केसीको ठहर थियो ।
मन्तव्यको क्रममा उहाँले सङ्घीयता भित्रिएसँगै देशमा भ्रष्टाचार बढेकाले प्रदेश चलाउने पैसाले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने भएकाले सङ्घीयता खारेज गर्नुको अर्को विकल्प नभएको उहाँको विचार थियो ।
राजमो केन्द्रीय सल्लाहकार तथा आगामी कात्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बद्रे आलमले नीतिगत भ्रष्टाचारले देश डुबेको बताउँदै सत्ता चलाउनेहरू नै भ्रष्टाचारमा संलग्न रहेको पुष्टि भएकाले जनताको बलमा भ्रष्टाचार विरुद्व आन्दोलनमा उत्रनुपर्ने धारणा राख्नुभयो ।

उहाँले जनताले निर्वाचनमा मत दिएर जिताएकै सांसद, मन्त्रीबाट भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै चुनावमा भोट दिँदा त्यो पार्टीको नीति, कार्यक्रम हेरेर मात्रै दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चा भ्रष्टाचार नगर्ने पार्टी भएकाले आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई भोट दिनुहोला ।’
त्यस्तै, नेकपा (मसाल) रुपन्देही प्रवक्ता लालचन्द पन्तले सरकारकै संरक्षणमा भ्रष्टाचार बढेको र सरकारले भ्रष्टाचारीलाई संरक्षण दिएको आरोप लगाउनुभयो ।
तलदेखि माथिसम्म राजनीतिक संरक्षणमा भ्रष्टाचार बढेको र सरकार मौन रहेको दाबी उहाँले गर्नुभयो ।

राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको अध्यक्षता तथा सचिव कृष्णप्रसाद पोखरेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
