भरतपुर । चितवनमा भ्रष्टाचारको विरुद्धमा ऱ्यालीसहित सभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा चितवन जिल्ला समितिको आयोजनामा २०८२ साउन २७ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सभापूर्व केन्द्रीय बसपार्कबाट जुलुस सुरु भएको थियो । मालपोतचोक, जिल्ला प्रहरी कार्यालय हुँदै सो जुलुस चौबिसकोठीसम्म पुगी सभामा परिणत भएको थियो ।
सभामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा र नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले मन्तव्य राख्दै देशमा अहिले भ्रष्टाचार गम्भीर रोगको रूपमा रहेको ठोकुवा गर्नुभयो ।
सरकारले भ्रष्टाचारलाई रोक्न नसकेको आरोप लगाउँदै उहाँले यसका विरुद्ध राष्ट्रिय जनमोर्चाले अहिले साङ्केतिक रूपमा विरोध कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
दुवै जना वक्ताले भ्रष्टाचारको विरुद्ध जनचेतना उठाउनुपर्ने आवश्यकतामा जोड दिँदै आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरता दिइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
राजमो चितवनका जिल्ला अध्यक्ष अमर क्षेत्रीको अध्यक्षता तथा विष्णु पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राजमो नेता मोहराज चालिसेले राख्नुभएको थियो ।