काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै संघर्षरत नेकपा (मसाल) सहितका १० राजनीतिक दलले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । घोषित कार्यक्रम अन्तर्गत असार २ गते माइतीघर मण्डलामा वृहत् विरोध प्रदर्शन हुनेछ ।
एमसीसी खारेजीको मागसहित यसअघि १० राजनीतिक दल तथा संगठनहरुले विभिन्न चरणमा संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् । यसै सन्दर्भमा राष्ट्रिय जनमोर्चाले जेठ २६ गते देशब्यापी प्रदर्शन गरेको थियो ।
यस्तै, १० दलीय मोर्चाको एक घटक देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनको तयारी गरेको सो दलले जनाएको छ ।
यही जेठ २८ गते बसेको दश दलको नेतृत्वको बैठकले ‘संघर्षलाई घनिभूत रुपमा अघि बढाउनका लागि ‘एमसीसी सम्झौता खारेज हुनु पर्दछ’ भन्ने एक सूत्रीय मागमा केन्द्रित हुने’ निर्णय गरेको छ ।

