काठमाडौं । विद्या भण्डारीलाई समर्थन गरेको कारण देखाई नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालबाट २ जना नेतालाई कारवाही भएको बताइएको छ ।
Advertisement
तर युवा संघले भने उनीहरूलाई कुनै नेता वा गुटमा लागेको कारण नभई अनुशासन र ठगीको उजुरीका आधारमा निलम्बन गरिएको जनाएको छ । युवा संघले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई निलम्बन गरेको हो । दुबै जनाले आफूहरूले विद्या भण्डारीपक्षलाई समर्थन गरेका कारण कारवाही भएको दावी गरेका छन् ।
राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले भने दुबै जनालाई राजनीतिक विषयमा कारवाही नभएको प्रष्ट पारेका छन् । खरेललाई अनुशासनहीन र अराजक गतिविधि गरेको कारण पटकपटक सचेत गराउँदा पनि नमानेपछि कारवाही भएको बताए । पौडेलले अनुशासन र आर्थिक विषयमा भएको कारवाहीलाई विषयान्तर गर्न खोजिएको दावी गरे ।