काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र गहिरो गुटबन्दी र आन्तरिक लोकतन्त्रको कमजोर अभ्यासप्रति गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक विचार राख्दै थापाले पार्टी नेतृत्वलाई लक्षित नगरे पनि स्पष्ट रूपमा अध्यक्ष र महासचिवको नाममा भइरहेको गुटगत खेलप्रति आक्रोश व्यक्त गरेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनबाट सिकेका महत्वपूर्ण मूल्य र नेपालको कम्युनिस्ट आन्दोलनले विकास गरेको “आन्तरिक लोकतन्त्र” को अभ्यास अहिले व्यवहारमा कमजोर भएको थापाको ठम्याइ छ। उनले लेखेका छन्, ‘पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरूको गोप्य सल्लाह र त्यसलाई बैठकमार्फत औपचारिकता दिने परिपाटी गलत हो ।’
उनको जोड छ— पार्टी केन्द्रीय कमिटीको सार्वभौम निर्णयले चल्नुपर्छ, न कि व्यक्तिको प्रभावबाट। थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य नगरेसम्म एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने सपना अधुरो हुने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ॅएमालेलाई निर्णायक शक्ति बनाउने हो भने गुटबन्दी तत्काल अन्त्य गरिनुपर्छ ।’