विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी उप-महानगरपालिकाको नगर अधिवेशनका विषयको विवाद अदालत पुगेको छ । रास्वपा इटहरीको अधिवेशन यही साउन १० गते लाई तोकिएको थियो । अधिवेशनलाई लिएर इटहरी सभापति बिष्णु बस्नेत अदालत गएका थिए ।
उनलाई असार ८ गते रास्वपाको अनुशासन आयोअगले पदबाट निलम्बन गरेको थियो ।पदबाट निलम्बनमा परेको बेला अधिवेशन हुने भएपछि बस्नेतले उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका थिए ।
उनको रिट परेपछि अदालतले रास्वपाको इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन सम्बन्धी कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सो रिटको बुधबार सुनुवाई गर्दै न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले सो आदेश दिएको हो ।
यस्तै बस्नेतको निवेदनमा माग गरेको अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुवै पषको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै दुवै पक्षलाई छलफलको लागि साउन १२ गते पेशी तोक्न आदेश पनि दिएको छ ।