प्यूठान । १९ औँ शताब्दीमा राणाहरूको मुख्य आम्दानीको स्रोतहरूमध्ये बाग्लुङमा रहेका २२ खानेमध्ये पूजाको तामाखानी पनि एक रहेको थियो । झण्डै सय वर्षसम्म पूजाको जारगाउँमा आग्री, रोका तथा विकहरूले तामाखानी उत्खनन् गरेको इतिहास रहेको छ । त्यतिबेला अहिले जस्तो टर्चलाइट वा प्रकाशको व्यवस्था थिएन। निगालो बालेर कानमा घुसारेर नै खानीमा मजदुरहरूले काम गरेका थिए ।
निकै कठिनाइपूर्वक उत्खनन् गरिएको तामाको धाउ परम्परागत आफर लगाएर जारगाउँकै कोटगाउँ, कदमचाल जस्ता ठाउँहरू र पूजा बीचगाउँमा रहेको टोमटाहरूको सामूहिक आरनमा प्रशोधन गर्ने गरिन्थ्यो । वार्षिक रूपमा राणा शासनको लागि २५ धार्नी तामाको तिरो (तत्कालीन भाषामा “भेजा”) तोकिएको बताइन्छ । कतिपय बुढापाकाहरूलेप्रति घर सात धार्नी तामाको तिरो थियो भन्नुहुन्छ । निर्धारित तामो बोकेर स्थानियहरू बाग्लुङ अड्डामा बुझाउन जानुपर्थ्यो ।
सो तमाखानीमा ३०० मिटर परसम्म पुगेका शाखा प्रशाखा सुरुङहरू पन्ध्रवटा जति रहेका छन् । हामी खानी भित्र गयौं भने तामा उत्खनन् गरेका घोर अन्धकार सुरुङहरू देख्न सक्छौं । यतिबेला खानी उत्खनन् गर्नु भनेको ज्यानको बाजी थाप्नु सरह नै थियो । तर राणा शासनको अगाडि को बोल्ने ? तामाखानी भित्र सुरुङ भत्केर विसं १९७० मा एकैचोटि २२ जना मजदुरहरुले ज्यान गुमाएका थिए । खानी उत्खनन् गर्ने ती मजदुरहरूको सब अझै पनि खानी भित्रै अड्किएको कुरा स्थानीय ठाडेमेलाका लालबहादुर सुनार बताउनु हुन्छ । यो घटनाको कारण राणाहरू खानी नै बन्द गर्न बाध्य भएका थिए ।
हाम्रा पुर्खाहरूको त्यो बाध्यताको इतिहास सम्झँदा हामीलाई चिन्ता लागेर आउँछ । जारगाउँको तामाखानी सञ्चालनको लागि कोट बनाएर राज्यको प्रतिनिधि खटाइएको थियो । जसलाई स्थानीयहरू खानीको राजा भन्दथे । हाल पनि जारगाउँमा कोटगाउँ भन्ने स्थान रहेको छ । जहाँ खानीको राजा बसेको बताइन्छ ।
पूजाको तामाखानी पुग्नको लागि मोटर बाटोको पनि व्यवस्था छ । खानी भन्दा एक किमी तल पल्लो बाग्लीबाङसम्म मोटरबाट पुगेको छ । खानीमा एकैपटक ज्यान गुमाएका २२ मजदुरको स्मृतिमा तामाखानी नजिक स्मारक निर्माण गरेमा त्यसले हाम्रो इतिहासको रक्षा र पर्यटनमा मद्दत पुर्याउनेछ । परम्परागत प्रविधिमा पुर्खाहरूबाट तामाखानी चलेको थियो । आजको विकसित प्रविधि र पुँजी प्रयोग गरेर राज्यले खानी सञ्चालन गर्ने कुरामा ध्यान दिँदा राम्रो हुने थियो ।