प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले) को सक्रिय राजनीतिमा प्रवेशबारे टिप्पणी गर्दै भन्नुभएको छ– घाउ लागेको ठाउँमा हरियो माखा त बसिहाल्छ ।
युगदर्शन मिडियाले २०८२ असार ३० गते पूर्वराष्ट्रपति विद्यादेवी एमालेको सक्रिय राजनीतिमा प्रवेश गर्नुका पछाडि विदेशी चलखेलको सम्भावनाबारे जिज्ञासा राखेपछि उहाँले सो प्रतिक्रिया दिनुभएको हो ।
‘घाउ लागेको ठाउँमा हरियो माखा त बसिहाल्छ नि’ उहाँले भन्नुभयो– ‘हामीले नै ठाउँ दिएपछि विदेशीले चलखेल गरिहाल्छन् नि ।’
नेपालमा देश र जनताको पक्षमा भन्दा पनि विदेशी शक्तिकेन्द्रको पछाडि दगुर्ने प्रवृत्ति रहेको उहाँले भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीको विगत स्मरण गर्दै अध्यक्ष केसीले छोटै समयमा नेपालमा महिलाहरू उच्च पदमा पुग्दा आफूलाई खुसी लागेको बताउनुभयो ।
‘लोकतन्त्र ल्याएको छोटै समयमा नेपालमा दुईदुईपटक राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला र उपसभामुख महिला बन्नु हाम्रो लागि खुसीको कुरा हो । अमेरिकामा यतिका वर्षसम्म महिला राष्ट्रपति बन्न सकेका छैनन्’ उहाँले भन्नुभयो ।
त्यसका बाबजुद पूर्वराष्ट्रपति विद्याको भूमिका अर्का पूर्वराष्ट्रपति डा. रामवरण यादवजत्तिको सन्तुलित नभएको उहाँको ठहर थियो ।
‘यतिसम्म कि स्वयम् आफ्नै पार्टीका एकथरि सांसदहरू संसद् विघटनको बारेमा कुराकानीका लागि भेट्न खोज्दा विद्याजीले ओलीको इसारामा भेट दिनुभएन’ अध्यक्ष केसीले भन्नुभयो– ‘त्यति बेला विद्याजी ओलीको रबरस्ट्याम्प बन्नुभयो ।’
अहिले ओलीका विरुद्ध एमालेमा चरम असन्तुष्टि भएका बेला धमिलो पानीमा माछा टिप्ने प्रयास गरेको हुन सक्ने उहाँको अनुमान थियो ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई विद्यादेवी सक्रिय राजनीतिमा प्रवेश गरेको किन मन नपरेको होला भन्ने युगदर्शनको जिज्ञासामा सांसद केसीले भन्नुभयो– ‘उहाँलाई डर होला, भोलि डा. रामवरणले पनि भाग खोज्दै आउनुहोला कि भन्ने ।’
उहाँले अगाडि भन्नुभयो– ‘कतै विद्यादेवी वा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको बाटोमा डा. रामवरण पनि हिँड्ने हो कि भन्ने लागेको हुन सक्छ ।’
देशको राजनीतिक मामिलामा विदेशी चलखेल नयाँ नभएको भावना उहाँले व्यक्त गर्नुभयो ।
‘राजा ल्याउन राप्रपा बन्यो, मधेसमा जमिनदारका पार्टी खुलेको भारतको पक्षमा काम गर्नलाई नै हो’ उहाँले भन्नुभयो ।
विदेशीलाई भन्दा पनि हामीले हाम्रो देशका राजनीतिक पार्टी र नेताको नीति हेर्नुपर्ने उहाँको भनाइ थियो ।
विदेशी चलखेलको सन्दर्भमा उहाँले सिक्किमको भारतमा विलयको सन्दर्भ उठाउनुभयो ।
‘सिक्किममा आमालाई पोइलो लगाइदिएर जारी बुझ्ने काम भएको थियो’ उहाँले भन्नुभयो– ‘नेपालमा पनि कैयौँ लेन्डुप दोर्जेहरू छन् संसद्मा, मैले उनीहरूको आवाज सुनेको हुन्छु पटक पटक ।’
नेपाललाई भारतमा मिसाएर मुख्यमन्त्री बन्न खोज्नेहरूको यहाँ लाइन नै रहेको उहाँको भनाइ थियो ।
जनतामा चेतना नआउँदासम्म यस्ता राजनीतिक शक्तिहरू शक्तिशाली भइरहने उहाँको विश्लेषण थियो ।